फिफा क्लब विश्वकपको उपाधिमा रियल म्याड्रिडको ह्याट्रिक

एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिडले फिफा क्लब विश्वकप फुटबलको उपाधिमा ह्याट्रिक गरेको छ ।  

दुबईस्थित जायद स्पोर्ट्स सिटी स्टेडियममा शनिवार राति सम्पन्न भएको फाइनल खेलमा सयुक्त अरब इमिरेट्स ‘युएई’को क्लब अल एन फुटबल क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि जितेको हो ।

खेलको १४ औँ मिनेटमा रियल म्याड्रिडका लागि लुका मोड्रिचले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । खेलको पहिलो हाफसम्म एक-शुन्य गोल अन्तरले अगाडि रहेको म्याड्रिडले दोस्रो हाफमा थप तीन गोल ग-यो । 

खेलको ६० औँ मिनेटमा मार्कोस लोरेन्टले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे । ७८ औँ मिनेटमा सर्जियो रामोसले गोल गरे । दवावपूर्ण खेल खेलिरहेको अल एनका लागि खेलको ८६ औँ मिनेटमा सुकासा शिओतानीले गोल गर्दै खेललाई ३-१ को स्थितीमा ल्याए ।

खेलको सकिनै लाग्दा अल एनका याहिया नाडेरले आत्मघाती गोल गरे ।  यसअघि रियल म्याड्रिडले सन् २०१६ र २०१७ मा यो प्रतियोगिताको उपाधि जितेको थियो ।

समग्रमा रियल फिफा विश्वकप फुटबलको उपाधि भने र्चौथो पटक जितेको हो । 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?