काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक गरिएको छ । सञ्चारकर्मी रामजी ज्ञवालीको निर्देशनमा बनेको फिल्ममा व्यस्त परिवारभित्र हुर्किरहेका बच्चाले बाबुआमाबाट पर्याप्त रेखदेख नपाउँदा उत्पन्न हुने मनोभावलाई देखाइएको छ ।
बाबुआमाले आफ्नी छोरीको जन्मदिन र विद्यालयको वार्षिकोत्सवमा समेत समय दिन नसकेपछि छोरीले आफैंले आफैंलाई जन्मदिनको शुभकामना दिएको दृश्यले धेरैको मन चसक्क पार्छ ।
अभिभावकहरू पेसा व्यवसायमा व्यस्त सहरिया परिवारको कथामार्फत फिल्मले उनीहरूलाई सोच्न बाध्य बनाएको ज्ञवालीको दाबी छ । फिल्मको कथा निर्देशक ज्ञवाली र आर्यन अधिकारीले लेखेका हुन् । फिल्ममा आमिर गौतमले बुबाको र अभिनेत्री सुरविना कार्कीले आमाको अभिनय गरेका छन् । द्रोस्टी शाह छोरीको भूमिकामा छन् ।
सफु बुढाथोकी, नारायण कँडेल, प्रान्जल पौडेल, सृष्टि भुसाललगायतका कलाकारको अभिनय पनि फिल्ममा देख्न सकिन्छ । पत्रकार जीवन भण्डारीले लेखेको फिल्मको ‘मिठी पापा’ गीत आरसी शाहको स्वरमा छन् । इन्जिनियर सञ्जितकुमार शाहको लगानी, विशाल निरौलाको म्युजिक तथा एरेन्ज रहेको सर्ट फिल्म राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्मका प्रमुख सहायक निर्देशक बाबुराम निरौला हुन् ।
भने युवराज घिमिरेले सहायक निर्देशकको जिम्मेवारी सम्हालेका थिए । फिल्मलाई नहकुल खड्काले सम्पादन र संकल्प भुजेलले खिचेका हुन् । ज्ञवालीले यसअघि हनिमुन, डार्क मुन, एक लभरलगायत सर्ट फिल्म र केही म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया