राजनीतिमा मात्र होइन खेलमा पनि आफ्नोलाई काखा र पराइलाई पाखा हुन्छ : मिलन सिजापति

बाल्यकालमा सुनेका कैयौं दन्तेकथाहरुमध्ये कमिला र फट्याङ्ग्राको कथा अझै पनि उत्तिकै सान्दर्भिक लाग्छ ।

एकातिर फट्याङ्ग्राले नाचगान गरेर, घुमेर आफ्नो समयखेर फालिरहेका बेला कमिला भने बेलैदेखि मिहिनेत गरेर हिउँदका निमित्त टुक्राटुक्रा खाना जोहो गरिरहेको हुन्छ । जसकारण उसलाई जाडो महिनामा खानाको कुनै समस्या हुँदैन । यता फट्याङ्ग्रा भने खाना र बस्ने ठाउँको अभावमा कमिलाकोमै शरण लिन पुग्छ ।

कथाले भनेअनुसार कमिलाले एकैपटकमा त्यति विघ्न खाना पक्कै पनि जम्मा पारेको होइन ।

हरेक दिन एउटै काममा लागेको देख्दा फट्याङ्ग्राले कमिलालाई गिज्यायो, जिस्कायो । तर, कमिलाले मिहिनेत गर्न छोडेन । अन्ततः समयमै गरेको मिहिनेतले उसलाई निकट भविष्यमा सफल बनायो । 

यही कथाको ‘कमिला’सँग ठ्याक्कै मेल खाने पात्र हुन् मिलन सिजापति, ४२, नेपालका प्रतिष्ठित बडीबिल्डर ।

मिलन यस वर्षको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताका विजेता हुन् । नेपालकै सबैभन्दा प्रतिष्ठित मानिने यस शारीरिक सुगठन प्रतियोगिताको ‘जीत’ मिलनले सानो दुखले आर्जेका भने होइनन् ।

उल्लेखित कथाको कमिला जस्तै गरी उनले विगत २५ वर्षदेखि निरन्तर आफ्नो मिहिनेत सञ्चित गर्दै आइरहेका थिए । तर, यतिका वर्ष उनको मिहिनेत कहीँ न कहीँ चुकिरहेको उनी आफैलाई अनुभूति भयो । बडीबिल्डिङमा लागेको २ दशक बढी भइसक्दा पनि आफूले कुनै उल्लेख्य सफलता हात पार्न नसक्दा उनी भित्रको ‘मिलन’ले उनलाई घच्घचायो । भन्यो, ‘अहिले नगरे कहिले?’ । 

नभन्दै उनले आफ्नो ‘डाइट’ देखि व्यायाम, जीवनशैली सबैलाई बदले । ‘खाना, वर्क आउट र निन्द्रा’ यी तीन चीजकै वरिपरि घुम्न थाल्यो उनको दिन । उनको मिहिनेत सुगठित शरीरमार्फत् बोल्न थाल्यो । मिलनलाई पनि आफ्नो ज्यान पहिले भन्दा निकैै ‘फर्म’ मा आएको अनुभूति भयो । यही आत्मविश्वास लिएर उनले पोखरामा आयोजित ‘मिस्टर बुल्स्म्यान’ भाग लिए । 

‘यसै वर्षको मिस्टर बुल्सम्यान प्रतियोगितामा म स्टेजमा चढ्नै लाग्या थिएँ अचानक एकजना मलाई देखेर अचम्मित हुनुभयो’, घटना स्मरण गर्दै उनले थपे, ‘भन्नुभयो, तिमीले यसपालि पनि भाग लिएको ? धत् ! जित्दैनौ । बेक्कारमा किन दुख गरेको ?’

थोपाथोपा गरी मिहिनेत सञ्चित गरिरहँदा थुप्रै व्यक्तिहरुले मिलनलाई उद्देश्यबाट विमुख गराउन खोजे जसरी कमिलालाई फट्याङ्ग्राले गिज्याएको थियो, जिस्काएको थियो । स्टेजमा चढ्न लाग्दा समेत आफ्नो आत्मविश्वासमा ब्रेक लगाउने थुप्रै ‘फट्याङ्ग्रा’हरु भेटेको उनले बताए । 

‘यसै वर्षको मिस्टर बुल्सम्यान प्रतियोगितामा म स्टेजमा चढ्नै लाग्या थिएँ अचानक एकजना मलाई देखेर अचम्मित हुनुभयो’, घटना स्मरण गर्दै उनले थपे, ‘भन्नुभयो, तिमीले यसपालि पनि भाग लिएको ? धत् ! जित्दैनौ । बेक्कारमा किन दुख गरेको ?’

दृढ संकल्पसहित जित हत्याउन उद्धत मिलनलाई त्यस व्यक्तिको नमीठो अभिव्यक्तिले रत्तिभर विचलित बनाएन बरु थप हौसला दियो । जवाफमा उनले भने, ‘हेरिराख्नु यसपालि मै जित्छु ।’ नभन्दै उनले उक्त प्रतियोगीता जिते । त्यसपछिको धर्मश्री प्रतियोगीतामा पनि उनैले बाजी मारे । 

यस क्षेत्रमा लागेको अढाइ दशकपछि मात्रै यति ठूलो सफलता त्यसमा पनि एउटै वर्षमा आफ्नो पोल्टामा परेको उनी बताउँछन् । भन्छन्, ‘यसपालि त मलाई जसरी पनि जित्नु नै थियो किनकि मैले आफ्नो आत्मसम्मानको लागि प्रतिस्पर्धा गरिरहेको थिएँ ।’ 

आफ्नोलाई काखा र पराइलाई पाखा

देशको राजनीतिमा मात्र नभएर खेल क्षेत्रमा समेत यो प्रवृत्ति हावी भएको मिलन बताउँछन् । भन्छन्, ‘यो मेरो व्यक्तिगत अनुभवले बताएको कुरा हो ।’

‘कस्तो अनुभव ?’ हामीले प्रश्न राख्यौं ।

‘राष्ट्रिय प्रतियोगिता जित्ने म अनि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने अरु ।’ उनले सटिक उत्तर दिए । 

महेश्वरको जीतसँग आफू एकदमै खुसी भएपनि आफ्नो अधिकार कहीँ न कहीँ खोसिएको अनुभव उनले गरेका छन् । त्यसैले यो गुनासो कुनै व्यक्तिसँग भन्दा पनि समग्र सिस्टमसँग हो ।

धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको विजेता भएर पनि आफूलाई जानकारी समेत नदिइ महेश्वर महर्जनलाई हालै थाइल्याण्डमा सम्पन्न भएको शारीरिक सुगठन प्रतियोगितामा लग्नुले यस्तो सोच्न बाध्य बनाएको उनले खुलाए ।

महेश्वरको जीतसँग आफू एकदमै खुसी भएपनि आफ्नो अधिकार कहीँ न कहीँ खोसिएको अनुभव उनले गरेका छन् । त्यसैले यो गुनासो कुनै व्यक्तिसँग भन्दा पनि समग्र सिस्टमसँग भएको मिलनले प्रष्ट्याए ।

‘महेश्वर जीले आफ्नो तौल समूहमा विजेता बन्नुभयो त्यसमा म एकदमै खुसी छु किनकि उहाँसँगै देशको नाम जोडिएको छ’, खेलाडीसँग भन्दा पनि सम्पूर्ण खेल प्रणालीसँग चाहिँ चित्त नबुझेको भन्दै उनी कड्किए, ‘तर, मलाई जानकारी समेत नदिइ छनोट प्रक्रियाविना अन्तर्राष्ट्रिय प्रतियोगितामा लग्नु चाहिँ सरासर गलत हो ।’

पशुपतिमा छिर्न समेत दिँदैनन्

छाती ४७, बाइसेप्स १९, लेग्स २६ इन्च । सामान्य मानिसभन्दा मिलनको शरीर ठूलै देखिन्छ । छाला पनि अत्याधिक गोरो भएकाले उनलाई नचिन्ने धेरैजसो मानिसले झट्ट देख्दा उनलाई विदेशी ठान्छन् । 

‘शरीर त मैले जीम गरेर बनाएको हो तर छाला जन्मजात यस्तै हो’, कारण खुलाउँदै उनले भने, ‘डाक्टरले भनेको मेरो छालामा मेलानिनको मात्रा कम छ रे !’

जे होस् अन्य मानिसभन्दा भिन्न देखिदा नयाँनयाँ अनुभव बटुल्न पाइने उनले बताए ।

बाटोमा हिँड्दै गर्दा नेपाली बुझ्दैन भनेर कोही त ठूलै आवाजमा उनको शरीरको चर्चा समेत गर्छन् । भन्छन्, ‘ओइ हेर् न यो खैरेको ज्यान कत्रो !’ कहिलेकाहीँ उनीहरुलाई आफू नेपाली भएको बताए पनि कहिले भने उनीहरुको कुरा सुनेर नबुझेझैं गर्दै आफ्नो प्रशंसाको आनन्द लिने मिलन सुनाउँछन् ।

तर आफूलाई नेपाली नै नमान्ने भएकाले धेरैचोटी मन्दिर, पार्क, सभासमारोहमा नागरिकता, लाइसेन्स देखाएर परिचय दिनुपर्दा मिलनलाई दिक्क लाग्छ । ‘परिवारसँग पशुपति जाँदा समेत विदेशी भनेर गेटमै रोक्यो’, उनले थपे, ‘परिवारले भन्दा पनि नपत्याएपछि लाइसेन्स देखाएर बल्ल छिर्न पाएँ ।’

बाटोमा हिँड्दै गर्दा नेपाली बुझ्दैन भनेर कोही त ठूलै आवाजमा उनको शरीरको चर्चा समेत गर्छन् । भन्छन्, ‘ओइ हेर् न यो खैरेको ज्यान कत्रो !’

यसरी बेलाबेला आफ्नो परिचयको स्पष्टिकरण दिइरहनुपर्ने भएकाले अब त श्रीमतीसमेत आफूसँग हिँड्न दिक्क मान्ने उनी सुनाउँछन् । जोडले हाँस्दै एउटा पार्टीमा भएको घटना सम्झिन्छन् ।

एकताका श्रीमतीसँग पार्टीमा जाँदा एक व्यक्तिले अन्तिमसम्म पनि उनी नेपाली हो भनेर पत्याएनन् । मिलनले नेपाली भाषा बोलेर सुनाए, आफ्नो लाइसेन्स समेत देखाए तर ती व्यक्तिले पार्टी सकिएपछि मिलनकी श्रीमतीसँग हात मिलाउँदै भने, ‘खुसी लाग्यो, तपाइले एउटा विदेशीलाई नेपाली हुँ भन्नेसम्म बनाउन सक्नुभएछ ।’ 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?