अस्पतालबाट निस्कने घातक फोहोर व्यवस्थापनमा लापरवाही, रसायनयुक्त पानी सिधै नदीमा

काठमाडौं । दुई महिना अघि फोहोर संकलनका लागि कमल केसी (नाम परिवर्तन) महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगे । हातमा पञ्जा, खुट्टामा गमबुट लगाएकै थिए । तर, फोहोर संकलनका क्रममा उनको हातमा कुनै वस्तुले घोच्यो । फोहोरको झोलाभित्र हेर्दा सिरिञ्ज, रगत लतपतिएका गज, कटनसमेत भेटियो । निर्मलीकरण नगरी फालिएको सिरिञ्जले घोचेपछि उनी आत्तिए । तुरुन्तै टिटानस खोप लगाए । तर, करिब एक साता काम गर्न सकेनन् । महाराजगञ्ज क्षेत्रमा फोहोर संकलन गर्ने जिम्मेवारी पाएको नेप्सेम्याक सेवा प्रा.लि.ले अस्पताललाई यसबारे सचेत गरायो । तर, अस्पतालले त्यस्तो हुन नपर्ने भन्दै उल्टै आफूलाई पानीमाथि ओभानो बनाउन खोजेको नेप्सेम्याकका एक कर्मचारीले लोकपथलाई बताए ।

झण्डै डेढ वर्ष अघि एक्सन वेष्ट प्रा.लि.ले वीर अस्पतालको फोहोर संकलन गथ्र्यो । वीरले पनि हानिकारक वस्तुहरु सामान्य फोहोरमा मिसावट गरेछ । ल्याण्डफिल्ड साइटमा त्यही अस्पतालजन्य हानिकारक फोहोर फेला पर्यो । त्यसपछि एक्सनले हानिकारक फोहोर संकलन गरेको भन्दै १० हजार रुपैयाँ जरिवाना तिर्नुपरेको प्रबन्ध निर्देशक देवेन्द्र खड्का बताउँछन् । जरिवाना तिरेसँगै एक्सनले वीरको फोहोर उठाउनै छोडिदियो । ‘फोहोरको पैसाभन्दा बढी जरिवाना तिर्न परेपछि किन फोहोर उठाउने भनेर छाडिदियौँ,’ लोकपथसँगको कुराकानीका क्रममा खड्काले भने । अहिले वीरको फोहोर संकलनको जिम्मेवारी हातेमालो क्लिनसिटीले पाएको छ । क्लिनसिटीले पनि गत असारमा अस्पतालजन्य हानिकारक फोहोर भेट्यो । त्यसपछि अस्पताल प्रशासनलाई जानकारी गराएको थियो । तत्पश्चात अस्पतालले फोहोर व्यवस्थापन सुधारेको क्लिनसिटीका एक कर्मचारीले लोकपथलाई जानकारी गराए ।

एक्सन जस्तै अस्पतालजन्य फोहोर संकलन गर्ने संस्था मेट्रो वेष्ट म्यानेजमेन्ट सर्भिसले पनि यस्तै झमेला ब्यहोर्यो । मेट्रोले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको फोहोर संकलन गर्दै आएको छ । यद्यपि, ग्राण्डीले पनि अस्पतालजन्य हानिकारक फोहोरलाई व्यवस्थापन नगरी सामान्य फोहोरमै मिसाइदिँदा काठमाडौं महानगरपालिका अन्तर्गतको वातावरण विभागले मेट्रोलाई ५० हजार रुपैयाँ जरिवाना तोक्यो । तर, मेट्रोले ग्राण्डीसँगको सम्झौतामा हानिकारक फोहोर मिसाएर जरिवाना तिर्नु परेको अवस्थामा त्यसको असूल अस्पताल पक्षले नै गर्नुपर्ने उल्लेख गरिएको थियो । सोही सम्झौताबमोजिम जरिवानाबापतको ५० हजार रुपैयाँ ग्राण्डीबाट असूल गरेको मेट्रोकी सञ्चालक शर्मिला पौडेलले लोकपथलाई जानकारी गराइन् ।

यता चावहिलस्थित ओम अस्तपालको फोहोर व्यवस्थापनमा उस्तै लापरवाही हुने गरेको स्थानीयहरु बताउँछन् । ओमको फोहोर काठमाडौं महानगरपालिकाले नै संकलन गर्छ । जसका लागि महानगरले अस्पतालमा कन्टेनरसमेत राखेको छ । तर, अस्पतालले कन्टेनरमा अस्पतालजन्य हानिकारक फोहोर र मानव अंगसमेत हाल्ने गरेको पाइएको छ । साथै, ओमले कतिपय हानिकारक फोहोरलाई धोबी खोलामा समेत फाल्ने गरेको स्रोतले बतायो ।

माथिका यी दृष्टान्तले अस्पतालहरु फोहोर व्यवस्थापनमा कति कमजोर छन् भन्ने प्रष्ट हुन्छ । अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि नियामक निकायले प्रभावकारी ढंगबाट अनुगमन नगर्दा अस्पतालहरुले फोहोर व्यवस्थापनमा झारा टार्ने गरेको पाइएको छ ।

फोहोरमैला व्यवस्थापनसम्बन्धि ऐन र निर्देशिकाले के भन्छ ?

फोहोरमैला व्यवस्थापन ऐन, २०६८ ले स्वास्थ्यजन्य फोहोरमैला भन्नाले अस्पताल, क्लिनिक, फार्मेसी, औषधि पसल, ब्लड बैंक, प्याथोलोजिकल प्रयोगशाला, स्वास्थ्य अनुसन्धान केन्द्रबाट उत्पादन तथा निष्काशन हुने हानिकारक फोहारलाई परिभाषित गरेको छ ।

साथै, यो ऐनले फोहोरमैला व्यवस्थापनको दायित्व स्थानीय निकायको हुने उल्लेख गरेको छ । तर, हानिकारक फोहोरमैला, स्वास्थ्य संस्थाजन्य फोहोरमैला, रासायनिक फोहोरमैला वा औद्योगिक फोहोरमैलाको प्रशोधन र व्यवस्थापन गर्ने दायित्व निर्धारित मापदण्डको अधिनमा त्यस्तो फोहोरमैला उत्पादन गर्ने व्यक्ति वा निकायको हुनेछ भनि ऐनको दफा ४ मा किटान गरिएको छ ।

त्यसैगरी कुनै उद्योग तथा स्वास्थ्य संस्थाले हानिकारक फोहोरमैला, स्वास्थ्य संस्थाजन्य फोहोरमैला, रासायनिक फोहोरमैला तथा औद्योगिक फोहोरमैला प्रशोधन गरी बाँकी रहेका फोहोरमैला तथा अन्य फोहोरमैलाको व्यवस्थापन गरिदिन स्थानीय निकायलाई अनुरोध गरेमा वा स्थानीय तहले निर्माण गरेको फोहोरमैला व्यवस्थापन स्थल प्रयोग गर्न माग गरेमा स्थानीय निकायले निर्धारण गरे बमोजिमको सेवा शुल्क लिई फोहोरमैलाको व्यवस्थापन गरिदिन वा फाहोरमैला व्यवस्थापन स्थल प्रयोग गर्न दिन सक्ने ऐनले व्यवस्था गरेको छ ।

यसैगरी, स्वास्थ्य सेवाजन्य फोहोरमैला व्यवस्थापन निर्देशिका २०१४ ले स्वास्थ्यजन्य फोहोरलाई जोखिमपूर्ण र जोखिमरहित फोहोरको रुपमा वर्गीकरण गरेको छ । जोखिमरहित फोहोरलाई कुहिने र नकुहिने फोहोरको रुपमा छुट्याइएको छ । त्यस्तै, जोखिमपूर्ण फोहोरलाई प्याथोलोजिकल फोहोर, संक्रमित फोहोर, धारिलो फोहोर, साइटोटोक्सिक फोहोर र अन्य हानिकारक फोहोर गरी ६ प्रकारमा वर्गीकरण गरेको छ ।

अस्पतालहरुको चरम लापरबाही !

पछिल्लो समय नेपालमा बढ्दो शहरीकरण र त्यसले निम्त्याएको प्रदूषणका कारण स्वास्थ्य संस्थाजन्य हानिकारक फोहोर बढ्दै गएको वातावरण विभागका वातावरण निरीक्षक राजेश्वर पौडेल बताउँछन् । अस्पतालजन्य फोहोर व्यवस्थापनका बारेमा विभागबाट पनि बेला–बेला भएका अनुगमनले अस्पतालहरुले हानिकारक फोहोरलाई वैज्ञानिक ढंगबाट व्यवस्थापन गर्न नसकेको पुष्टि हुन्छ ।

विभागले काठमाडौं उपत्यकामा अनुगमन गरेका ६ वटा अस्पतालको पछिल्लो अध्ययनले दुईवटा अस्पतालमा मात्र फोहोर संकलनका लागि व्यवस्थित स्थान रहेको पाइएको थियो । त्यस्तै, ६ वटा मध्ये ३ वटामा फोहोर निर्मलीकरणका लागि अटोकेलेभ मेसिन प्रयोग गरिएको, एउटा अस्पतालमा इन्सिनिरेटर प्रयोग गरिएको र २ वटा अस्पतालमा संक्रमित फोहोरलाई निर्मलीकरण बिना नै साधारण फोहोरसरह व्यवस्थापन गरिएको पाइएको अनुसन्धानमा संलग्न विभागका वातावरण निरीक्षक पौडेलले लोकपथलाई जानकारी दिए ।

फोहोरमैला व्यवस्थापनमा धेरैजसो अस्पतालले वार्डमा सामान्य फोहोर र हानिकारक फोहोरलाई बेग्लाबेग्लै राखेपनि संकलन गर्ने ठाउँमा भने मिसाउने गरेको पाइएको उनले बताए । ‘वार्डमा वर्गीकरण गरेपनि संकलन गर्ने स्थानमा हानिकारक फोहोर र सामान्य फोहोर एकैठाउँमा मिसाएको पाएका थियौँ,’ उनले भने, ‘जसले गर्दा अस्पतालको सामान्य फोहोर पनि हानिकारक फोहारमा नै रुपान्तरण हुने भयो ।’

त्यस्तै, धेरै अस्पतालमा हानिकारक फोहोरलाई निर्मलीकरण गर्ने प्रविधि राखेपनि प्रायःजसो बिग्रिएको अवस्थामा भेटिएको थियो । ‘यसरी निर्मलीकरण गर्ने मेसिन नै बिग्रिएको अवस्थामा भेटिनु भनेको त्यहाँबाट निस्कने हानिकारक फोहोर सामान्य फोहोरमा मिसिनु हो,’ उनी भन्छन्, ‘यसरी हानिकारक फोहोर पनि सिधै सामान्य फोहोरमा मिसिँदा यसले वातावरण र मानव स्वास्थ्यमा प्रतिकूल असर गर्छ ।’

यस्तै, फोहोर व्यवस्थापन विज्ञ महेश नकर्मी पनि अस्पतालहरुले फोहोरमैला निर्मलीकरणका लागि मेसिन राखेको तर, त्यसलाई राम्रो ढंगबाट सञ्चालन नगरेको अनुसन्धानका क्रममा भेटिएको बताउँछन् । ‘अस्पतालहरुले हानिकारक फोहोर निर्मलीकरणका लागि अत्याधुनिक मेसिन राखेपनि त्यसको प्रभावकारी प्रयोग गरेको भने पाईँदैन,’ लोकपथसँगको कुराकानीमा उनले भने, ‘अस्पतालले हानिकारक फोहोरलाई राम्रोसँग निर्मलीकरण नगर्दा त्यसले वातावरणमा पार्ने नकारात्मक असर धेरै हुन्छ ।’

ललितपुर महानगरपालिकाका वातावरण इन्जिनियर प्रदीप अमात्य पनि अस्पतालहरुले फोहोर व्यवस्थापनमा निकै लापरवाही गरिरहेको बताउँछन् । ‘अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँखा छल्नका लागि अटोक्लेभ, इन्सिनिरेटर मेसिन त राखेका छन्,’ उनले भने, ‘तर, ती प्रविधि सञ्चालन गर्न दक्ष जनशक्ति छैनन् जसकारण मापदण्डअनुसार मेसिन सञ्चालन भएका छैनन् त्यसले हानिकारक फोहोरको निर्मलीलकरणमै शंका छ ।’

फितलो अनुगमन

अस्पतालबाट निस्कने फोहोरका बारेमा अनुगमन गर्ने निकाय वातावरण विभाग, स्वास्थ्य सेवा विभागको वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन शाखा र काठमाडौं महानगरको वातावरण विभाग हुन । यद्यपि, यी निकायहरुले नै प्रभावकारी रुपमा अनुगमन गरेको देखिँदैन ।

वातावरण विभागका वातावरण निरीक्षक पौडेल कोभिड यता अस्पतालहरुको अनुगमन नभएको स्वीकार्छन्् । काठमाडौं महानगरपालिकाका वातावरण विभागले पनि तत्काल कुनैपनि अस्पतालमा फोहोर व्यवस्थापनका बारे अनुगमन गरेको छैन । जसकारण अस्पतालबाट अहिले कति फोहोर निस्कन्छ भन्ने यकिन तथ्यांक काठमाडौैं उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मेवारी लिएको काठमाडौं महानगरसँग पनि छैन ।

जबकि, काठमाडौं उपत्यकाबाट मात्रै दैनिक १३ सय टन हाराहारी फोहोर बञ्चरेडाँडा गइरहेको महानगरका प्रवक्ता नबिन मानन्धरको भनाई छ । जसमध्ये महानगरबाट झण्डै ६५० टन फोहोर बञ्चरेडाँडा जान्छ । तर, अस्पतालबाट निस्कने फोहोर कति निर्मलीकरण भएर आउँछन् वा सिधै ल्याण्डफिल्ड साइटमा जान्छ भन्नेबारे महानगरले खासै चासो देखाएको देखिँदैन । तैपनि, फोहोर संकलन गर्ने संस्थालाई भने निर्मलीकरण नगरिएका स्वास्थ्यजन्य फोहोर संकलन नगर्न महानगरपालिकाले निर्देशन दिएको मानन्धर बताउँछन् ।

‘निर्मलीकरण नगरिएका फोहोर उठाउने नै होइन भनेर हामीले निर्देशन दिएका छौँ,’ लोकपथसँगको कुराकानीमा मानन्धर भन्छन्, ‘अस्पताल सञ्चालन गर्ने तर फोहोर व्यवस्थापन नगर्ने अस्पताललाई हामी नै डिल गर्छौँ तर फोहोर संकलन गर्ने संस्थाले हामीलाई जानकारी गराउनुपर्यो ।’

काठमाडौं महानगरले १२ वटा गाडीबाट आफैंले फोहोर संकलन गर्छ । यसबाहेक ४३ वटा संस्थाले नगरपालिका र महानगरपालिकाका वडा कार्यालयसँगको समन्वयमा फोहोर संकलन गरिरहेका छन् । ल्याण्डफिल्ड साइटको व्यवस्थापन गरिरहेको काठमाडौं महानगरले अस्पतालमा अनुगमनका साटो ल्याण्डफिल्डमै पुगिसकेपछिमात्र हानिकारक र सामान्य फोहोरको निरीक्षण गर्छ । र, त्यसैको आधारमा कारवाही गर्दै आएको देखिन्छ ।

यसरी अनुगमन फितलो हुँदा फोहोर संकलनमा समस्या हुने गरेको फोहोरमैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरे बताउँछन् । ‘कतिपय अस्पतालहरुमा फोहोर संकलन गर्दा मानवजन्य अङ्ग, आलो रगत, रगत लतपतिएका गज, कटन, सिरिञ्जहरु फेला पर्ने गरेको छ,’ उनले भने, ‘यसले ल्याण्डफिल्ड साइटको वातावरणमा झनै खतरा उत्पन्न हुन्छ भने फोहोर संकलन गर्नेहरु पनि जोखिममा पर्छन् ।’

स्वास्थ्य संस्थाहरुले फोहोर थुपारेपछि, व्यवस्थापन गर्नेले जस्तोसुकै तरिकाले गरोस् भन्ने मनस्थितिले फोहोर थुपार्ने गरेको उनी बताउँछन् । ‘अहिले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर खनाइन्छ, त्यसभन्दा तल कोल्फु खोला छ,’ उनले भने, ‘सामान्य फोहोरले नै कोल्फु खोलाको पानी हानीकारक भइसकेको अवस्था छ भने अस्पतालजन्य हानीकारक फोहोर जाँदा त्यहाँको अवस्था कस्तो होला ?’

अस्पतालबाट कति निस्कन्छ फोहोर ?

वातावरण विभागले केही वर्षअघि काठमाडौं उपत्यकाका २५ बेडभन्दा माथिका ६३ वटा अस्पतालको फोहोर व्यवस्थापनका बारेमा अनुसन्धान गरेको थियो । जसमा काठमाडौंका ४५, ललितपुरका १३ र भक्तपुरका ५ वटा अस्पतालमा अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धानले ६३ वटा अस्पतालबाट वार्षिक २१११.३२ मेट्रिक टन फोहोर निस्कने गरेको पाइएको थियो । जसमध्ये १५४५.२२ मेट्रिक टन सामान्य फोहोर निस्कने तथ्य बाहिर ल्याएको थियो । त्यसमा पनि ९३६.५१ मेट्रिक टन कुहिने र ६१८.७१ मेट्रिक टन नवीकरण योग्य फोहोर निस्कने गरेको उल्लेख छ ।

यस्तै, अस्तपालबाट वार्षिक ५६६.१० मेट्रिक टन जोखिमयुक्त फोहोर निस्कने गरेको पाइएको थियो । जसमध्ये, ३९६.५५ मेट्रिक टन संक्रामक फोहोर, ४१.६२ मेट्रिक टन ल्याबबाट निस्कने फोहोर, ४३.४२ मेट्रिक टन धारिलो फोहोर, २६.८२ मेट्रिक टन रासायनिक फोहोर, ५.७१ मेट्रिक गह्रौँ धातु भएको फोहोर निस्कने गरेको जनाइएको छ । यसैगरी, १.६५ मेट्रिक टन रेडियोधर्मी फोहोर, २.०१ प्रेसराइज कन्टेनर फोहोर, १७.४५ मेट्रिक टन औषधिजन्य फोहोर र ३०.३९ मेट्रिक टन प्रतिशत साइटोटोक्सिक (क्यान्सरको उपचार गर्दा निस्कने फोहोर) थियो ।

एक बेडबाट कति निस्कन्छ फोहोर ?

विभागले गरेको अनुसन्धानले एउटा बेडबाट दैनिक ०.९९ केजी फोहोर निस्कने गरेको पाइएको थियो । जसमध्ये, ०.६६ केजी फोहोर जोखिमरहित र ०.२४ केजी जोखिमयुक्त फोहोर निस्कने जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा ७ हजारभन्दा बढी स्वास्थ्य संस्था छन् । ती अस्पतालहरुबाट दैनिक कति फोहोर निस्कन्छन् र त्यसको व्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्न स्वभावैले उठ्ने गर्छ । यतिका धेरै अस्पतालबाट निस्किएका खतरनाक रासायनिक पदार्थहरु जमिनको सतह वा पानीको स्रोतमा मिसिँदा त्यसले मानव स्वास्थ्यमा ठूलो हानी गर्ने काठमाडौं विश्वविद्यालयका पूर्व रजिष्ट्रार तथा पानी विशेषज्ञ प्रा.डा. सुबोध शर्मा बताउँछन् । साथै, माटोको उत्पादकत्व घट्ने र पिउने पानीको स्रोत दूषित हुने तथा ल्याण्डफिल साईट आसपास क्षेत्रको वातावरणमा नकारात्मक असरहरु देखिने उनी सुनाउँछन् ।

अस्पतालबाट निस्कने फोहोरले के गर्छ ? कति खतरा हुन्छ ?

अस्पतालबाट निस्कने हानिकारक फोहोरले वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर गर्ने स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास बताउँछन् । अस्पतालबाट निस्कने फोहोर निर्मलीकरण नभइ ल्याण्डफिल्ड साइटमा जाँदा त्यसमा भएका किटाणु मानिसमा सरेर मानव स्वास्थ्यमा समस्या सिर्जना हुन सक्छ ।

यदि, निर्मलीकरण नगरिएका फोहोर छन् भने श्वासप्रश्वास सम्बन्धी समस्या, एचआईभी एड्स र हेपटाईटिस ‘बी’ लगायतका रोगबाट सफाईकर्मीहरु संक्रमित हुन सक्छन् । जसले समाजमा संक्रमण फैलाउन सक्ने उनको भनाई छ ।

त्यसैले अस्पतालहरुले निर्देशिकाले तोकेअनुसार अस्पतालबाट निस्कने फोहोरलाई हरियो भाँडामा कुहिने, नीलो भाँडामा नकुहिने र रातो भाँडामा जोखिमयुक्त रगत लागेका चिज अनिवार्य छुट्याएर बिसर्जन गर्नुपर्छ ।

स्वास्थ्य संस्थाबाट निस्कने फोहोरमध्ये काँच, धारिला पदार्थ र सूईजन्य फोहोरबाट गम्भीर चोटपटक लाग्ने खतरा रहन्छ । एकजना व्यक्तिको उपचारका क्रममा निस्किएको फोहोरले अन्य हजारौं संक्रमित हुनसक्ने हुनाले अस्पतालजन्य फोहोर व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने डा. दास बताउँछन् । साथै, रगतजन्य फोहोर सुकेपछि धुलो बनेर वातावरणमा मिसिन्छ र त्यसले मानिसको श्वासप्रश्वासमा समस्या निम्त्याउने जनस्वास्थ्यविद्हरु बताउँछन् ।

अस्पतालजन्य फोहोर पानी सिधै खोलामा !

अस्पतालबाट निस्कने ठोस फोहोरको तुलनामा फोहोर पानीको अवस्था अझै दुरुह छ । नेपालका कुनैपनि अस्पतालले अस्पतालबाट निस्कने फाहोर पानीलाई प्रशोधन गरेको पाइँदैन । काठमाडौं महानगरका प्रवक्ता नविन मानन्धर अधिकांश अस्पतालले फोहोर पानी ढलमा नै पठाइरहेको बताउँछन् । ‘अस्पताल होस् या घरबाट निस्किएको दूषित पानी कि त सेप्टी ट्यांकी कि त ढलमा गएको अवस्था छ,’ उनले भने, ‘हामीले त्यसलाई प्रशोधन गर्नुपर्छ भनेर कोरियन प्राविधिकहरुसँग समन्वय गरिरहेका छौँ ।’

वातावरण विभागका निरीक्षक पौडेल पनि एकाध बाहेकका अस्पतालले फोहोर पानी प्रशोधन केन्द्र नै नबनाएको बताउँछन् । बनाएकाले पनि पूर्ण सञ्चालनमा नल्याएको उनी सुनाउँछन् । ‘काठमाडौंभित्र केही अस्पतालले फोहोरपानी प्रशोधन केन्द्र बनाएका छन् तर त्यसलाई राम्ररी सञ्चालनमा ल्याएको अवस्था छैन,’ उनले भने, ‘त्यसले गर्दा अस्पतालबाट निस्कने हानीकारक रसायनयुक्त पानी ढलमार्फत सिधै नदीमा पुगेको अवस्था छ ।’

त्यसैले अस्पतालहरुले फोहोरमैला व्यवस्थापन केही गरेपनि हानीकारक फोहोर पानी व्यवस्थापन गर्ने कुरा भने प्राथमिकतामै राखेका छैनन् । प्राथमिकतामा नपर्नु चाहिँ गतिलो अनुगमन नभएकोमा उनी सहमत छन् । ‘यदि प्रभावकारी अनुगमन गरेर कारवाहीको दायरामा ल्याउन सकिएको थियो भने राम्रो हुन सक्थ्यो होला,’ उनले भने, ‘वातावरण संरक्षण ऐनले वातावरण विभागलाई अनुगमन गर्ने अधिकार त दिएको छ तर कारवाही गर्ने अधिकार नदिँदा अनुगन गरेर निर्देशन मात्र दिएर छोड्ने अवस्था छ । त्यसैले दण्ड जरिवानाको व्यवस्था नहुँदा लापरवाही भएको हुन सक्छ ।’

यसरी अस्पतालबाट निस्कने हानिकारक पानी सिधै नदीमा बिसर्जन गर्दा यसले जलीय जैविक विविधतामा असर गर्नुका साथै मानव स्वास्थ्यमासमेत विकराल समस्या ल्याउने पानी विशेषज्ञ प्रा.डा. शर्मा बताउँछन् ।

अस्पतालको दूषित पानी सिधै नदीमा हाल्नु मानवस्वास्थ्यमा संकट निम्त्याउनु हो– प्रा.डा.शर्मा

May be an image of 1 person

अस्पतालबाट निस्कने फोहोरलाई मूलत तीन तहमा वर्गीकरण गरेको पाइन्छ । तर, नेपालका अस्पतालहरुले हानिकारक फोहोरको व्यवस्थापन उपयुक्त ढंगबाट गरेको पाइँदैन । हानिकारक फोहोरहरु पनि खोलानालामा मिसाइएको अवस्था छ ।

यसरी खोलानालामा फालिने फोहोर र दूषित पानीले वातावरण, मानव स्वास्थ्य र जलीय जैविक विविधतामा विकराल समस्या ल्याउँछ । किनभने, अस्पतालबाट निस्कने रगतजन्य फोहोर खोलामा मिसिँदा यसमा भएका हानिकारक किटाणुहरु लामो समयसम्म नदीमा जमेर बस्छन् । जसले गर्दा नदीको पानी प्रयोग गर्ने मानिसमा त्यो किटाणुले प्रवेश गर्ने मौका पाउँछ ।

त्यसैले अस्पतालबाट निस्कने फोहोरलाई इन्सिनिरेटरको माध्यमबाट जलाउन सकिन्छ, जलाएर पनि नष्ट नहुने फोहोरलाई अटोक्लेभ गर्न सकिन्छ । तर, त्यसलाई सिधै वातावरणमा छोडिदियौँ भने यसको प्रत्यक्ष प्रभाव मानव शरीरमा पर्छ । र, यसले प्रजजन स्वास्थ्यमा समेत असर गर्छ । जसले गर्दा अपाङ्गता, सुस्तमनस्थिति भएका बालबालिका जन्मिनेलगायतका समस्या देखिन्छन् ।

कोभिडका बेलामा त झनै अस्पतालजन्य फोहोर बढेको थियो । र, त्यसलाई प्रभावकारी तरिकाबाट व्यवस्थापन गर्न सकनौं । जो प्रकृतिमा नै गयो । जसले गर्दा ढलमा समेत कोरोनायुक्त पानी भेटियो । त्यसैले हामीले समयमा नै अस्पतालजन्य फोहोरलाई त्यहीँ नै व्यवस्थापन गर्न सकेनौँ र प्रकृतिमा छोड्यौँ भने कहिल्यै पनि निको नहुने रोगबाट मानवजाती ग्रस्त हुन्छ । त्यसैले शहरवासीहरुले नदी सफा राख्न ध्यान दिने बेला आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?