ठूलो आन्द्राको क्यान्सर पुरुषहरुमा हुने क्यान्सरको दोस्रो नम्बरमा पर्छ । भने, महिलाहरुमा यसको जोखिम धेरै छ । दिसामा रगत देखियो भने धेरैजसो मानिसहरुले पाइल्स हो भनेर हेलचेक्राइँ गरेका पाइन्छ । जुन ठूलो भुल हो । किनभने, ठूलो आन्द्रा क्यान्सरको सुरुवाती लक्षण भनेको नै दिसाबाट रगत आउनु हो ।
कस्ता मानिसमा हुन्छ ठूलो आन्द्राको क्यान्सर ?
ठूलो आन्द्राको क्यान्सर कसरी हुन्छ ? भन्ने जिज्ञासा धेरैजनामा भएको पाइन्छ । मेरो ओपीडीमा पनि डाक्टर साब मलाई त केही पनि थिएन । एकाएक कसरी ठूलो आन्द्राको क्यान्सर भयो ? भन्ने बिरामीहरु प्रशस्तै भेटिनुहुन्छ ।
ठूलो आन्द्राका क्यान्सर प्रायजसो ५० वर्षभन्दा बढी उमेरका मानिसमा देखिन्छ, तर यो कम उमेरसमूहमा नहुने भन्ने होइन । मेरो अहिलेसम्मको अनुभवमा ३५ वर्षभन्दा कम उमेरका ३० देखि ४० जना मानिसमा ठूलो आन्द्राको क्यान्सर भएको पाएको छु ।
अत्याधिक मद्यपान, धुम्रपान गर्ने, मोटोपना, कब्जियत, नियमित व्यायाम नगर्ने, चिल्लो पिरो खाने, फाइबरयुक्त खानेकुरा कम खाने मानिसहरुमा ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
त्यसैगरी, कसैको बुबाआमालाई ठूलो आन्द्राको क्यान्सर छ भने उसबाट जन्मिएको सन्तानलाई पनि ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना अझै बढेर जान्छ ।
यस्तै, अल्सरेटिभ कोलाइटिस (आन्द्रा सुन्निने रोग) ले पनि क्यान्सर गराउने सम्भावना बढी हुन्छ । अल्सरेटिभ कोलाइटिस र पाइल्सको लक्षण एउटै हुने हुँदा धेरैजसो मानसि झक्किने गरेको पाइन्छ । पाइल्स नभइ अल्सरेटिभ कोलाइटिस भएको खण्डमा ठूलो आन्द्राको क्यान्सर हुने जोखिम सामान्य व्यक्तिभन्दा २० गुणा बढी हुन्छ ।
ठूलो आन्द्रामा समस्या आएको कसरी थाहा पाउने ?
शरीरमा पानी सोस्ने र दिसालाई धकेलेर मलद्वारबाट बाहिर फ्याँक्ने काम ठूलो आन्द्राले गर्छ । यसक्रममा कुनै अवरोध भयो भने दिसामा रगत देखिन सक्छ । देब्रेतिरको आन्द्रा केही हदसम्म दाहिनेभन्दा सानो हुन्छ । त्यसैले देब्रे भागको ठूलो आन्द्राको क्यान्सर भएको छ भने सुरुबाट नै रगत आउँछ भने दाहिनेतिरको अलि पछिमात्र थाहा हुन्छ ।
यस्तो बिरामीहरुमा दिसा बस्दा कब्जिजत हुने, कसैलाई पखाला लाग्ने त कसैलाई दिसा बस्दा दुखाईले पीडा हुन सक्छ । कतिपय अवस्थामा दिसामा रगत मिसिएर आउँदा मानिसहरुले देख्दैनन् । त्यसैले सबैले ५–५ वर्षको अन्तरालमा नियमित जाँच गरेमा ठूलो आन्द्राको क्यान्सरबाट सम्भावित जोखिम टार्न सकिन्छ । उसो त ४५ देखि ७५ उमेरसमूह भित्रका मानिसहरुले प्रत्येक १० वर्षमा एकपटक कोलोनोस्कोपी गरेको राम्रो मानिन्छ । तर, परिवारमा कोही क्यान्सरका बिरामी हुनुहुन्छ भने उक्त बिरामीलाई क्यान्सर लागेको उमेरभन्दा १० वर्ष अघि नै ठूलो आन्द्राको स्क्रिनिङ गर्नु राम्रो मानिन्छ ।
कोलोनोस्कोपी किन गर्ने ? कस्ता व्यक्तिले गर्ने ?
ठूलो आन्द्रामा साना–साना मासु पलाएको हुन्छ । जसलाई पोलिप भनिन्छ । यही पोलिप ५ वा १० वर्षपछि क्यान्सरमा परिणत हुन्छ । त्यसैले दिसाबाट रगत आउँदा हेलचक्य्राइँ गर्न हुँदैन । दिसाबाट रगत आउँदैमा पाइल्स हुँदैन । त्यसैले सही समयमा सिग्नोडोस्कोपी अथवा कोलोनोस्कोपी गरेर त्यसको पहिचान गरी उपचार गर्न सकिन्छ ।
मानिसको शरीरमा क्यान्सरमध्ये सबैभन्दा ढिलो गतिमा फैलिने क्यान्सर ठूलो आन्द्राको क्यान्सर हो । यदि कसैलाई क्यान्सर सुरु भएको छ भने १८ महिनापछि मात्र अन्य अंगमा फैलिन्छ । त्यसैले यो क्यान्सरलाई आन्द्रा भित्र, आन्द्रा बाहिर र फैलिसकेको अवस्था गरी तीन स्टेजमा वर्गिकरण गरिन्छ । यदि आन्द्राभित्र नै यसको पहिचान भयो भने त्यसलाई सर्जरी गरेर फ्याँक्न सकिन्छ । बिरामीलाई निको पार्न सकिन्छ ।
आन्द्राबाट केही हदसम्म बाहिर गएको ठूलो आन्द्राको क्यान्सरलाई किमो रेडियोथेरापी गरेर अप्रेशन गर्दा बिरामीलाई धेरै लामो समयसम्म बचाउन सकिन्छ । तर, सुरुमै पत्ता लगाउनका लागि नियमित रुपमा कोलोनोस्कोपी स्क्रिनिङ गर्न जरुरी हुन्छ । दिसामा नियमित रगत आउने, परिवारमा कोही क्यान्सरको बिरामी, पोलिप देखिएको अवस्था छ भने अवश्य पनि कोलोनोस्कोपी गर्नुपर्छ ।
ठूलो आन्द्राको क्यान्सर हुन नदिने के गर्ने ?
– नियमित व्यायाम गर्ने
– फाइबरयुक्त खानेकुरा बढीमात्रामा खाने
– पोलेको सेकुवा र मासु खान कम गर्ने
– अत्याधिक चिल्लोको प्रयोग कम गर्ने
– दिसाबाट रगत आएमा समयमै पेट रोग विशेषज्ञलाई देखाउने
– धुम्रपान मद्यपान नगर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया