काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीलाई जनही नगद एक-एक लाख रुपैयाँ प्रदान गर्ने बताएका छन् ।
आइतवार काठमाडौंमा भएको जनता बैंकसँगको सम्झौता कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले लोकपथलाई भने, ‘जनता बैंकको यो आर्थिक सहयोगबाट नेपाली खेलाडीलाई थप प्रोत्साहन र खेलमा अझै लाग्न हौसला मिलेको छ’
साथै अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय जगतमा देशको नाम सधै उच्च राख्ने खेलाडीहरुलाई प्रोत्साहन दिन विगत लामो समयदेखि वर्ष खेलाडी सम्मान कार्यक्रम आयोजना गर्दै आइरहेको पनि बताए ।
‘यसपाली देखि थप गरिएको सर्वोत्कृष्ट विधाका खेलाडी एक-एक महिला र पुरुष खेलाडीलाई नगदसहित सम्मान गर्न पाउँदा हामी खुशी छौँ, साथै जनता बैंकको साथ सहयोगले अझ हामीहरु उत्साहित बनेका छौँ’, उनले थपे ।
उनले लोकपथलाई भने, ‘खेलकुदको विकासमा व्यावसायिक प्रतिष्ठानहरुबाट मिल्ने यस्तो साथले ठूलो भूमिका खेल्छ, आशा गरौ आगामी पाँच वर्षपछि पनि जनता बैंकसँगको सहकार्यले निरन्तरता पाउने छौँ ।’
अध्यक्ष श्रेष्ठका अनुसार अघिल्लो वर्ष उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाइ सर्वोत्कृष्ट विधामा समावेश गराइएको छ ।
यसैबीच जनता बैंकका सहायक सिईओ अजय मिश्र र खेलाडी संघका अध्यक्ष श्रेष्ठले पाँच वर्षसम्मको लागि सम्झौतापत्रमा हस्ताक्षर समेत गरेका थिए । सम्झौताअनुसार बैंकले आगामी पाँच वर्षसम्म खेलाडी संघलाई सर्वोत्कृष्ट खेलाडी पुरस्कारका लागि २ लाख रुपैयाँ उपलब्ध गराउने छ ।
त्यस्तै बैंकका सहायक सिईओ मिश्रले देशको इज्जत र प्रतिष्ठा उच्च बनाउने खेलाडीहरुलाई प्रोत्साहित गर्न पाउँदा खुशी लागेको बताए ।
‘म खेलाडी संघलाई हृदयदेखि नै धन्यवाद दिन चाहान्छु, नेपाली खेलकुदको विकासमा प्रत्यक्ष रुपमा सहयोग पुग्ने यस्ता कार्यक्रममा बैंक सधै सहयोगका लागि तत्पर रहने छ’, उनले बताए ।साथै उनले क्षमतावान खेलाडी आर्थिक अभावमा खेल्न नस्कने भए बैकले सधै सहयोग गर्ने जानकारी दिए ।
अवार्ड कार्यक्रम मंगलबजारस्थित ललितपुर महानगरपालिकाको संग्रहालयमा यहि शुक्रवार हुँदैछ । खेलाडी संघले २९ विधाका खेलाडीहरुलाई उत्कृष्ट एक खेलाडीलाई पुरस्कृत गर्दैछ । प्रत्येक विधाका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया