भारतले संशोधन ग-यो विद्युत् व्यापार निर्देशिका

काठमाडौं । भारतले विद्युत् व्यापार निर्देशिका संशोधन गरेको छ । 

भारतको केन्द्रीय ऊर्जा मन्त्रालयले पुस ३ गते (१६ डिसेम्बर)मा विद्युत् व्यापार निर्देशिका संशोधन गर्दै छिमेकी मुलुकसँग विद्युत् खरिदमा सहज बनाएको हो । 

संशोधित निर्देशिकामा भारतीय संस्था वा कम्पनीले सिँधै छिमेकी मुलुकका सरकार वा सरकारी कम्पनीबाट सिँधै वा भारतमा निर्यात गर्न स्वीकृत प्राप्त छिमेकी मुलुकका प्रर्बद्धकबाट विद्युत् खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । 

साथै दुई मुलुकबीच भएको द्विपक्षीय सम्झौतामार्फत बिजुली खरिद गर्नुपर्ने अवस्थामा विद्युत् आयातका लागि भारत सरकारले कुनै संस्था तोक्न सक्ने समेत निर्देशिकामा उल्लेख गरिएको छ ।

६ डिसेम्बर २०१६ मा जारी निर्देशिकामा भारतले आयात गर्ने बिजुलीको उत्पादन र व्यापारमा कम्तीमा पनि ५१ प्रतिशत भारतीय लगानी वा सम्बन्धित देशको सरकारको पूर्ण लगानी हुनुपर्ने सर्त राखिएको थियो । निर्देशिकामा भारत सरकार लगानी रहेको वा भारतीय सार्वजनिक संस्था वा ५१ प्रतिशतभन्दा बढी भारतीय स्वामित्व भएको निजी कम्पनीबाट उत्पादित बिजुली मात्र खरिद गर्न सक्ने व्यवस्था गरिएको थियो ।

त्यस्तै अहिले गरेको संशोधित निर्देशिकामा भारतमा विद्युत् निर्यात चाहने कम्पनी वा संस्थाले भारत सरकारले तोकेको आधिकारिक निकायबाट पूर्वस्वीकृति लिनुपर्ने भए पनि सरकारी तहमा गरिने विद्युत् आयात–निर्यात सम्झौताका लागि भने त्यस्तो स्वीकृति लिन नपर्ने व्यवस्था गरिएको छ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?