ला लिगा फुटलबमा सेभिल्लाले बराबरी खेल्यो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लेगानेससँग बराबरी खेलेपछि सेभिल्लाले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।

आइतवार राति सम्पन्न भएको खेलमा सेभिल्लाले लेगानेससँग एक-एक गोलको बराबरी खेलेको हो । लेगानेसका लागि खेलको पाँचौ मिनेटमा मिकेल भेस्गाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

खेलको पहिलो हाफको इन्जुरी समयमा फ्रान्को भाजक्युज रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि सेभिल्ला १० खेलाडीमा सिमित भएको थियो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको सकिनै लाग्दा सेभिल्लाका विसम बेन एड्डरले गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।

बराबरीपछि १७ खेलबाट ३२ अंकका साथ सेभिल्ला लिगको तेस्रो स्थानमा छ । लेगानेस भने १९ अंकका साथ १६ औँ स्थानमा छ । सेभिल्लाले लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा मात्र २ अंकले पछि रहेको छ ।

शीर्ष स्थानमा रहेको बार्सिलोनाको भने ३७ अंक छ । त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा भ्यालेन्सियाले हुयस्कालाई २-१ गोल अन्तरले तथा रायो भाल्लेकानोले लेभान्तेलाई २-१ गोल अन्तरले पराजित ग-यो ।

एथ्लेटिको म्याड्रिड र भाल्लाडोलिटबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?