दुई महीनादेखि बन्द रहेको नवलपरासीको विद्युत् उत्पादन गृह पुनः सञ्चालन

नवलपरासी । विगत दुई महीनादेखि विद्युत् उत्पादन बन्द भएको पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा पुनः विद्युत् उत्पादन शुरु भएको छ । 

गण्डक नहरमा आवश्यकताअनुसार पानी नहुँदा उत्पादन बन्द हुन पुगेको विद्युत् उत्पादन गृहको नहरमा पानी आएपछि पुनः विद्युत् उत्पादन शुरु भएको गृहले जनाएको छ । नहरको सरसफाइ र मर्मतसम्भार गर्ने गरी कात्तिक ६ गतेदेखि भारतीय गण्डक नहरमा पानी बन्द गरिएपछि विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादन बन्द हुन पुगेको थियो । 

यद्यपि अहिले नहरमा पानी आएपछि पुनः विद्युत् उत्पादन शुरु भएको छ । अहिले करीब प्रतिदिन ३ दशमलब ५ देखि चार युनिटसम्म विद्युत् उत्पादन हुने गरेको छ । 

विद्युत् उत्पादन गृहको स्थापनाकालमा तीन वटा टवाईन जडित गरी दैनिक १५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको भए पनि विगत दश वर्षदेखि दुई वटा टवाईन पूर्णरूपमा बिग्रिएर थन्किएका छन् । 

नहरमा आवश्यकताअनुसार पानी भएको अवस्थामा लामो समयदेखि एउटा मात्र टवाईन सञ्चालनमा आउने हुँदा क्षमताभन्दा निकै कम करीब ३ दशमलब ५ देखि चार मेगावाट मात्र विद्युत् उत्पादन हुने गर्दछ । 

भारतीय पक्षले प्रत्येक वर्ष एक पटक गण्डक नहरको मर्मतसम्भार र सरसफाइ गर्ने भनेर करीब दुई महीनाका लागि नहरमा पानी बन्द गर्ने गर्दछ । सो अवधिभर विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादन बन्द हुने निश्चित छ । विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादनका लागि कम्तीमा पनि चार हजार क्युसेक पानी आवश्यक पर्दछ । 

नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारको सहयोगमा तयार गरिएको विद्युत् उत्पादन गृहलाई २०३६ सालमा भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?