काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुलीको जीवनलाई पर्दामा ल्याउने तयारी भइरहेको छ । एमएस धोनी, सचिन तेन्दुलकर जस्ता दिग्गज खेलाडीहरूपछि अब बलिउडले भारतीय क्रिकेट टोलीका ‘दादा’ अर्थात् सौरभ गांगुलीको बायोपिक फिल्म बनाउने भएको छ ।
गांगुलीको बायोपिक बनाउने घोषणा धेरै अघि भएको थियो । लभ फिल्म्सको ब्यानरमा बन्न लागेको यो फिल्मको स्क्रिप्टलाई सौरभ गांगुलीले स्वीकृत गरेका छन् । स्क्रिप्ट फाइनल भएपछि सबैको मनमा एउटै प्रश्न छ कि बलिउडका कुन अभिनेताले ठूलो पर्दामा ‘दादा’ को भूमिका निभाउनेछन् ?
सौरभ गांगुली स्क्रिप्ट फाइनल गर्न मुम्बई आएका थिए । उनले फिल्मको स्क्रिप्टलाई स्वीकृत गरेसँगै चलचित्रको छायांकन कोलकातामा छिट्टै शुरु हुने खबर आएको छ । भारतीय सञ्चार माध्यमका अनुसार गांगुलीको भूमिकामा पर्दामा देखिन रणवीर कपुरको नाम चर्चामा छ । भारतीय सञ्चार माध्यमका अनुसार बायोपिकका लागि रणवीर कपूरको नाम पक्का भएको छ र उनले सौरभ गांगुलीको अनस्क्रिन भूमिका निभाउनेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया