इण्डोनेसियामा अझै सुनामीको त्रास, मृतकको संख्या २८१ नाघ्यो

एजेन्सी । सुनामी आउने त्रासका कारण इण्डोनेसियामा अनक क्राकाटोआ ज्वालामुखी क्षेत्र वरपरका तटीय स्थानमा रहेका मानिसहरूलाई तटभन्दा पर रहन आग्रह गरिएको छ । 

त्यहाँका सरकारी अधिकारीहरुले अझैपनि सुनामी आउने त्रासका कारण तटभन्दा पर रहन आग्रह गरेका हुन् । शनिवार राति अनक क्राकाटोआ ज्वालामुखी विस्फोटकै कारण उत्पन्न भएको ठानिएको सुनामीले कम्तिमा २ सय ८१ जनाको मृत्यु र १०१६ जना घाइते भएको जनाइएको छ । 

गएको शनिबार राति ज्वालामुखीका कारण समुन्द्रभित्र पहिरो जाँदा सुनामी आएको थियो । सुनामीका कारण ठूलो जनधनको क्षति भएको जनाइएको छ । उद्धारकर्मीहरूले रातभर सुनामीका कारण फसेका मानिसहरूको खोजबिन जारी राखेका थिए ।

सुनामीका कारण सुमात्रा तथा जाभा टापुका तटीय नगरहरूमा विशाल छालहरू आएका थिए । अनक क्राकाटोआ ज्वालामुखीबाट आइतवार फेरि खरानी र धुवाँको मुस्लो निस्किएको थियो ।  जसले थप सुनामी आउन सक्ने त्रास फैलिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?