जब मुस्ताङमा क्यामेरा रोलिङ भयो…

कुनै जमानामा अधिकांश नेपाली गीत तथा चलचित्र राजधानी केन्द्रित हुन्थे । कलाकार र कथा राजधानीकै । शुटिङ प्राय राजधानीकै सेरोफेरोमा गरिन्थ्यो । फाट्फुट्ट छायांकन पहाडी भेगमा पनि हुन्थे ।  

ढकमक्क प्रकृति फूलेको हाम्रो देशमा राजधानीमै सीमित रहेर गीत तथा चलचित्र छायांकन हुनुले मिनसागरलाई सोचमग्न बनायो । उनलाई लाग्यो ‘हाम्रो देशको हिमश्रङ्खला र त्यहाँको संस्कृति नाममै सीमित भयो । चलचित्रकर्मीहरु कुवाका भ्यागुता भए ।’

यही सोचले उनलाई डो-यायो मुस्ताङसम्म । चलचित्र ‘पापी’ को युनिटलाई लिएर मुस्ताङ हानिएका मिनसागरले त्यहाँको प्राकृतिक दृश्यहरुलाई सकेसम्म आफ्नो क्यामेरामा समेटे । भलै त्यसबेला अहिलेजस्तो आधुनिक उपकरण र प्रविधिको विकास भइसकेको थिएन तर, चोभारको डाँडामा हिरो, हिरोनीको नृत्य र काठमाडौंको गल्लीमा छायांकन गरिएका २ ÷४ वटा फाइट सिन हेरेर वाक्कदिक्क भएका दर्शकले नयाँ स्वाद चाख्न पाए । 

हिमाली भेगका मनोरम दृश्य, चालचलन, संस्कृति र जीवनशैली अटाएको उनको चलचित्रले नेपाली सिनेमा जगतमा नयाँ ट्रेन्ड नै सेट गरिदिएको उनी बताउँछन् ।

‘अहिले त अधिकांश चलचित्रहरु मनाङ मुस्ताङमा शुट हुन्छन्,’ मीन थप्छन्,‘तर, नेपाली सिनेमा क्षेत्रमा पहिलो पटक हिमाली क्षेत्रमा छायांकन गर्ने मै हो ।’

त्यस अघि हिमाली भेगमा छायांकनका लागि जाने चलन नभएकाले आफ्नो र टिमकै लागि नयाँ अनुभव भएको मिनसागर सनाउँछन् । 

‘खाने, बस्ने, यातायात, बिजुलीको समस्याले साह्रै गाह्रो भयो’, पुराना दिनहरु याद गर्दै उनी अगाडि थप्छन्, ‘तर, छुट्टै किसिमको रमाइलो पनि भयो, कामभन्दा पनि छुट्टी मनाउन गएजस्तै लागेको थियो ।’

‘पापी’मा मात्र नभएर मिनसागरको अधिकांश चलचित्र तथा म्यूजिक भिडियोमा समेत हिमाली परिवेश र पात्रहरुलाई नै प्रस्तुत गरिएको हुन्छ । यसलाई उनी आफ्नो भूगोल र संस्कृतिप्रतिको माया भन्न रुचाउँछन् । 

चलचित्रको कथा, पटकथा, निर्देशनदेखि अभिनयसम्म गर्ने मिनसागर गीतमा शब्दसंगीत पनि दिन्छन् । उनले नेपाली चलचित्र र संगीत क्षेत्रका प्राय सबैसँग काम गरिसकेका छन् । पुराना चर्चित गायक/गायिका यम बराल, रामकृष्ण ढकाल, आनन्द कार्की देखि नयाँ गायक/गायिका स्वरुपराज आचार्य, अञ्जु पन्त, मेलिना राई, रजिना रिमाल त्यस्तै, संगीतकार शम्भुजित बास्कोटा, बसन्त सापकोटा लगायत यस क्षेत्रका ‘भेट्रान’ कलाकारहरुसँग काम गरिसकेका मिनसागर अहिले भने आफ्नै स्टुडियोमा व्यस्त भएको बताउँछन् । 

‘मिडियामा धेरै नआएकाले काम गरेजस्तो दखिँदैन’, उनले भने, ‘तर, फुर्सद पनि छैन, रेकर्डिङहरु भइरहेका छन् ।’  

नेपाली सांगीतिक क्षेत्रमा गीत हिट भएसँगै गायकले पनि एकाएक चर्चा कमाउने तर, संगीतकार र शब्दकार भने पर्दापछाडि नै रहने प्रवृत्तिदेखि अनविज्ञ छैनन् उनी ।

तल तल तल तल बेँसीमा भञ्ज्याङ’ भन्ने गीत आज पनि गुनागुनाइन्छ, स्कुले कार्यक्रममा यो गीतमा अझै पनि नाचिन्छ । तर, गीतका रचनाकार को हो भन्ने कमैलाई थाहा छ ।

उनका थुप्रै गीत हिट भए । गीतले गायकलाई हिट बनाए तर, त्यसको श्रेय मिनसागरले पाएनन् । ‘तल तल तल तल बेँसीमा भञ्ज्याङ’ भन्ने उनको गीत यसैको ज्वलन्त उदाहरण हो । यो गीत आज पनि गुनागुनाइन्छ, स्कुले कार्यक्रममा यो गीतमा अझै पनि नाचिन्छ । तर, गीतका रचनाकार को हो भन्ने कमैलाई थाहा छ । अरु देशमा यस्तो नहुने उनी बताउँछन् ।

‘विदेशमा कुनै गीत राम्रो बनेको छ भने शब्द र संगीत कसले दिएको हो भनेर सोधिन्छ, हाम्रोमा ठ्याक्कै उल्टो छ’, मिनसागरले गुनासो पोखे । 

एउटा गीत लेख्न वा त्यसमा संगीत भर्न लाग्ने समय र मिहिनेतको कदर हुनुपर्छ भन्ने मिनसागरको धारणा हो । उनी संगीतकार र रचनाकारलाई ‘पर्दापछाडिको हिरो’ मान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?