काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मस्याङ्दी मात्र एक अपराजित क्लब हो ।
मनाङले लिगमा शानदार प्रदर्शनका गर्नुका साथै आफ्नो दबदवा पनि कायमै राखेको छ । लिगको शुरुवाती समयदेखि नै उत्कृष्ट फर्म रहँदै खेल खेल्दै आइरहेको मनाङले लिगको १० औँ चरणसम्म पनि आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।
सर्वाधिक सात पटकको लिग च्याम्पियन तथा डिफेण्डिङ च्याम्पियन समेत रहेको मनाङ मस्याङ्दी क्लबले जारी लिगमा एउटै सिजनमा सबै खेल जितेर नयाँ कीर्तिमान राख्ने लक्ष्य बनाएको छ । जारी लिगको १० औँ चरणसम्म आइपुग्दा सात पटकको लिग विजेता टोली मनाङ मस्याङ्दीले अबको बाँकी तीनवटा खेल जित्दै ६४ वर्षे लिग इतिहासमा नयाँ रेकर्ड कायम गर्ने दाबी गरेको छ ।
मनाङ मस्याङ्दीका प्रशिक्षक सुमन श्रेष्ठले भने, ‘उपाधि लगभग सुरक्षित गरिसकेका छौँ, तर हाम्रो लक्ष्य अब उपाधि मात्र होइन, लिगमा बाँकी रहेको तीन खेल जितेर नयाँ कीर्तिमान बनाउने पनि हो, अहिलेसम्म कसैले त्यसो गर्न सकेका छैनन्, हामी कुनै खेल बराबरी नखेल्ने, नहार्ने र सबै जितेर नयाँ कीर्तिमान बनाउन चाहन्छौँ’ ।
‘हामीले थ्रीस्टार, त्रिभुवन आर्मी, नेपाल पुलिस जस्ता ठूला क्लबलाई पराजित गरिसकेका छौँ, त्यसैले बाँकी खेल पनि जित्छौँ’, उनले थपे । साथै प्रशिक्षक श्रेष्ठले सधै खेलाडीलाई विश्वास गरेको र खेलाडीहरुले पनि मनबाटै लिग खेलिरहेका समेत जानकारी दिए ।
‘खेलाडीकै कारण मनाङ आज यहाँसम्म आएका छौँ, कीर्तिमान बनाउने चाहना छ, खेलाडी, अफिसियल सबै उपाधि जित्ने मात्र हैन सबै खेल जितेर कीर्तिमान बनाउन चाहन्छन्’, उनले लोकपथलाई भने ।
अब मनाङले लिगको ११ औँ चरणमा सङ्कटा, १२ औँ चरणमा हिमालयन शेर्पा र १३ औँ चरणमा फ्रेन्ड्स क्लबसँग खेल्न बाँकी छ । लिगको दोस्रो स्थानमा रहेको सङ्कटाबाहेक दुवै क्लब तुलनात्मक रुपमा कमजोर टोली हुन् ।
लिगको इतिहासमा बिना पराजित लिग जितेको इतिहास भए पनि लगातार १० वटा खेल जितेको रेकर्ड अहिलेसम्म नभएको फुटबलका पूर्व राष्ट्रिय खेलाडीहरुले बताए ।
‘नेपालमा लिग फुटबल शुरु भएको भएको करिब ६४ वर्ष पुग्न लाग्यो, तर यसबीचमा लगातार १० वटा खेल जित्ने क्लब भने अहिलेसम्म कुनै भेटिएको छैन’, लिग निर्देशक सञ्जीव मिश्रले बताए।
मिश्रले नेपाली फुटबल लिगको इतिहासमा अहिलेसम्म लागातार १० वटा जित कुनै क्लबले जितेको आफूलाई जानकारी नभएको समेत जानकारी दिए । ‘फुटबलको क्षेत्रमा लागेको ३०/३५ वर्ष भयो, तर यसरी लगातार १० वटा जित कुनै पनि क्लबले जितेको मलाई थाहा छैन’, उनले थपे ।
‘रेलिगेशन र ननरेलिगेशन लिगको तुलना हुँदैन’ : पूर्व अध्यक्ष थापा
यसैबीच राष्ट्रिय खेलाडी हुँदै २० वर्ष अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’को नेतृत्व गरेका गणेश थापाले ‘बिना रेलिगेन र रेलिगेशसनलाई एउटै दृष्टिकोणबाट हेर्न नमिल्ने बताएका छन् ।
पूर्व अध्यक्ष थापाले करिब चार वर्षपछि लिग भएको रेलिगेशन नहुने लिग भएपछि धेरै क्लबहरुले खेलाडीमाथि पर्याप्त लागनी नगरेकाले लिगको रौनकता घटेको प्रक्रिया दिए ।
मनाङले १० वटा खेल लगातार जित्नु सकारात्मक कुरा भएको बताउँदै उनले भने, ‘रेलिगेशनको लिग भएको भए सबै क्लबहरुले अलि बढी लगानी गर्थे, राम्रा खेडालीबीच प्रतिष्पर्धा हुन्थ्यो, त्यो भएको छैन’ । बिना रेलिगेनशनको लिग हुँदा दर्शकको उपस्थित समेत न्युन भएको र लिगप्रति दर्शकको चासो कम भएको थापाको भनाइ छ ।
कतिपय क्लबहरुले खेल्नैका लागि मात्र टोली बनाएकाले पनि मनाङले यो सफलता प्राप्त गरेको उनको भनाइ छ ।
पूर्व अध्यक्ष थापाले पुरस्कार राशिप्रति पनि असन्तुष्टि व्यक्त गरे । ‘मेरो पालामा सात करोडको बजेट हुँदा लिग विजेतालाई ७५ लाख दिएका थियौँ, अहिले ४० करोडको बजेट हुँदा लिग विजेताले ५० लाख मात्र पाउँदै छ’, उनले थपे ।
लिगको तीन खेल बाँकी रहँदा मनाङले १० खेलबाट अपराजित रहँदै ३० अङ्क जोडेको छ । शीर्ष स्थानमा रहेको मनाङ दोस्रो स्थानको सङ्कटा क्लबभन्दा पाँच अङ्कले अगाडि रहेको छ ।
तत्कालीन प्रधानमन्त्री पद्मशम्शेरले काठमाडौं उपत्यकामा त्यसबेला चलेको फुटबल लहरलाई प्रतिस्पर्धामा उतार्न विं.स२००४ सालमा रामजानकी कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो । विं.स २००७ सालको प्रजातन्त्रपछि पुलिस फोर्सले लगातार यो प्रतियोगिताको तीन वर्ष उपाधि जित्यो ।
एउटै व्यवस्थित कप पच भएपछि पुलिस फोर्सले यो वास्तविकतालाई बुझेर प्रतियोगितालाई निरन्तरता दिन शहीदको संस्मरणार्थ एउटा ट्रफी तत्कालीन नेपाल फुटबल सङ्घलाई दियो, जुन आजसम्म शहीद स्मारक नामले चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया