काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेटमा विकेट लिएका छन् ।
राष्ट्रिय टोलीका लेग स्पिनर लामिछानेले जारी लिगको दोस्रो खेलमा पनि विकेट लिएका हुन् । मेलबर्न स्टार्स टिममा रहेका उनले होबर्ट हरीकेन्सविरुद्ध ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिन सफल भएका हुन् ।
उनले पहिलो, तेस्रो र चौथो ओभरमा समान एक-एक विकेट लिए । उनले पहिलो ओभरमा एलेक्स डोलानलाई बोल्ड आउट, तेस्रो ओभरमा म्याथ्यु वेडलाई क्याच आउट तथा चौथो ओभरमा बेन्जामिन म्याकडेरमोटलाई एलबिडब्लुको शिकार बनाएका थिए ।
सन्दीपले यसअघि भएको डेब्यु खेलमा २ विकेट लिएका थिए । त्यो खेलमा उनले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया