काठमाडौं । सरकारले दिने आकस्मिक बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुला रहने भएका छन् ।
नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै सो प्रावधान ल्याएको जनाएको छ ।
नयाँ प्रावधान अनुसार राष्ट्र बैंकले जारी गरेको जारी गरेको बिदाको सूचना बाहेक नेपाल सरकारको आकस्मिक बिदा दिएको दिन समेत बैंक तथा वित्तीय संस्थाको काम कारबाही सञ्चालन रहनेछन् । सो दिन नगद कारोबार, चेक क्लियरेन्स, आरटीजीएस जस्ता अत्यावश्यक सेवा सञ्चालनमा रहनेछन् ।
‘नेपाल राष्ट्र बैंक खुलेको दिन यस बैंकको बैकिङ कार्यालयले बैकिङ कारोबार गर्ने समयसम्म इजाजतप्राप्त संस्थाहरुले अनिवार्य रुपमा आफ्नो कार्यालय खोली बैंकिङ कारोबार सञ्चालन गर्नुपर्नेछ ।’ राष्ट्र बैंकले भनेको छ, ‘तर इजाजतप्राप्त संस्थाहरुले नेपाल राष्ट्र बैंक खुलेको दिन र समयका अतिरिक्त समय तथा अन्य बिदाका दिन र समयमा आफ्नो कारोबार सञ्चालन गर्ने भएमा यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा लिखित रुपमा पूर्व जानकारी दिइ कारोबार सञ्चालन गर्न सक्नेछन् ।’
सरकारी आकस्मिक बिदाको दिन बिहान १० बजेबाट दिउँसो १ः३० बजेसम्म कार्यालय खुला रहनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया