एजेन्सी । इन्डोनेसियामा शनिबार भएको ज्वालामुखी विष्फोटपछि आएको सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबारसम्ममा ३ सय ७३ पुगेको छ ।
त्यहाँकाे राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रका अनुसार सुनामीका कारण दक्षिणी सुमात्रा तथा पश्चिमी जाभा क्षेत्रमा परेर हराउनेको सङ्ख्या १ सय २८ जना रेकर्ड गरिएको छ ।
शनिबार राति गएको सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा बढी प्रभाव परेको छ । ज्वालामुखी बिस्फोट भएका कारण आइल्याण्डसँग जोडिएको समुद्री क्षेत्रमा पानिमुनि पहिरो गएको हो । जसले गर्दा सुनामी आएको हो ।
सुनामीका कारण १४ सय ५९ जना घाइते भएका छन् भने १२८ जना अझै बेपत्ता रहेको एजेन्सीले जनाएको छ । एनाक क्राकातोए ज्वालामुखी आइतबार फेरि बिस्फोट भयो, त्यहाँबाट लाभा र खरानी निस्कियो ।
शक्तिशाली सुनामीका कारण ठूलो क्षति भएको अधिकारीले जनाएका छन् । समुद्री तट नजिकको बस्तीको वरपरका सयौँ घर भत्किएका छन् । ती क्षेत्रमा रहेका अन्य भौतिक संरचना पनि ढलेका छन् ।
यसबाट सबैभन्दा धेरै पाडेलाङ, दक्षिण लाम्पुङ र सेराङ नामका क्षेत्रमा अन्यत्रभन्दा बढी क्षति पुगेको सरकारी अधिकारीले बताएका छन् । भौगर्भिक अधिकारीले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसका कारण समुद्रमुनिको जमिनमा पहिरो गएकोले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया