काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ३८ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताए ।
स्थापनाको ३७ वर्षसम्म आइपुग्दा बैंकले व्यावसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चतम स्थानमा राखी सेवा प्रवाह गरिरहेको अध्यक्ष पाँडेले बताए । गत पुसमा वित्तीय बजारका सुपरिचत बैंकहरु नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडबीच मर्जर भएको थियो । मर्जरपछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान हुनुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरका लागि प्रेरित गरेको अध्यक्ष पाँडेले बताए ।
यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेले वित्तीय बजारमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित भएको बताए । संस्थापकहरुको सोच र भिजनका कारण देशकै विश्वासिलो र अग्रणी बैंकको रुपमा स्थापित भएकोमा गर्व लागेको बताउँदै उनले ग्राहकवर्गको चाहना अनुसार आगामी दिनमा थप नवीनतम सेवा प्रवाह गरिने बताए ।
‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस बैंकले बार्षिकोत्सवका अवसरमा ग्राहकहरुलाई डेबिट कार्ड तथा मोबाइल बैंकिङ सुविधा लिँदा सीमित महिनाका लागि शुल्क नलाग्ने सुविधा ल्याएको छ । यो सुविधाले राष्ट्र बैंकले डिजिटल प्रविधिको उपयोगमा प्रबर्धन गर्ने नीतिलाई प्रोत्साहन गर्ने सिइओ श्री पाण्डेको विश्वास छ ।
यसैबीच, ३७ औं बार्षिकोत्सवका दिवसका अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदानमा बैंकका कर्मचारीहरुको सहभागिता थियो । यसैगरी, वार्षिकोत्सवका अवसरमा साना बालबालिकामा बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले वित्तीय ज्ञानमा आधारित एक बाल पुस्तक पनि सार्वजनिक गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया