किन बन्दैछ विभागीय टिमको प्रदर्शन फितलो ?

काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागिय तीन वटै क्लबको प्रदर्शन खासै प्रशंसाजनक छैन ।

समर्थकहरुले पनि यसपालीको लिगमा विभागिय क्लबको प्रदर्शन निक्कै फितलो रहेको समेत गुनासो गर्दै आइरहेको छ । यसै लिगको ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबले पनि सोचेअनुरुप प्रर्दशन गर्न सकेको छैन ।

वि.सं २०१२, २०१३, २०६३, २०६६, २०६७ र २०६८ सालको लिग च्याम्पियन पुलिस क्लबले १० औँ चरणको खेल सकिँदासम्म  सन्तोषजनक प्रर्दशन गर्न सकेको छैन । पुलिस क्लबले १० खेलमध्ये चारमा जित, तीनमा बराबरी र तीन खेलमा हार बेहोरेको छ । १५ अंक जोडेको पुलिस क्लब तालिकाको छैटौँ स्थानमा छ । 

कुनै बेला लगातार तीन पटक उपाधि जितेर ट्रफी ह्याट्रिक गरेको पुलिस क्लब पछिल्लो वर्षमा कमजोर बन्दै गइरहेको छ । 

पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले पछिल्लो समय क्लबले उत्कृष्ट खेलाडी भित्र्याउन नसक्दा नेपाल पुलिस कमजोर बन्दै गएको बताए । उनले भने, ‘ठूलो क्लबले राष्ट्रिय टोलीका साथै विदेशी खेलाडी तथा प्रशिक्षक क्लबमा ल्याउन थाले, हाम्रोमा भएका केही राम्रा खेलाडीलाई पनि जोगाउन सकिएन र क्लब कमजोर बन्दै गयो ।’

त्यस्तै अहिलेसम्म उपाधि जित्न नसकेको त्रिभुवन आर्मी र शसस्त्र प्रहरीले पनि जारी लिगमा सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन् । राष्ट्रिय टोलीका खेलाडीले भरिएको त्रिभुवन आर्मी क्लबले पनि जारी लिगमा उल्लेख्य प्रदर्शन गर्न सकेको छैन । 

उद्घाटन खेलमा तालिकाको पुछारमा रहेको न्युरोड टिम ‘एनआरटी’सँग बराबरी खेलेको आर्मीले पछिल्ला खेलहरूमा जित निकाले पनि १० औँ चरणमा एपिएफसँग पराजित भएपछि आर्मी पनि उपाधि होडबाट बाहिरिसकेको छ ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले पछिल्ला वर्षहरू आर्मीको खेलमा सुधार आएको दाबी गरे । उनले भने, ‘आर्मीलाई यसअघि पावर गेम खेल्थ्यो भन्ने अरोपबाट मुक्त गराएको छु, जारी लिगको उद्घाटन खेलमा कमजोर टोलीसँग बराबरी र एपिएफसँगको नसोचेको पराजयपछि उपाधि होडबाट बाहिरियौँ ।’ 

 

११ औँ चरणका खेल बुधवाररदेखि शुरु हुँदै

जारी ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत ११ औँ चरणका खेल बुधवारदेखि शुरु हुँदैछन् ।

१० औँ चरणको खेलपछि चार दिनको विश्राम गरेर ११औँ चरणका खेलहरू बुधबारदेखि शुरु हुने लागेको हो ।  बुधवार तीन, बिहीवार र शुक्रवार दुई-दुई खेल हुनेछन् । 

बुधवार हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले हिमालयन शेर्पासँग खेल्नेछ । दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र क्बलबीच हुनेछ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । बुधबार नै हुने तेस्रो खेलमा न्युरोड टिम ‘एनआरटी’ र फ्रेन्ड्स क्लबबीच हल्चोक मैदानमा खेल हुनेछ । 

त्यस्तै बिहीवार हुने पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ र च्यासल युथ क्लब तथा सङ्कटा क्लब र मनाङ मस्याङ्दी क्लबबीच हुनेछ । उपाधि होडमा रहेको मनाङलाई पच्छ्याइरहेको सङ्कटाबीचको खेललाई उपाधि भिडन्तको रुपमा हेरिएको छ ।

सङ्कटा र मनाङबीचको खेल मनाङले जिते दुई खेलअगावै मनाङले लिगको उपाधि जित्नेछ । 

त्यसैगरी ११ औँ चरणको अन्तिम खेल शुक्रवार हुनेछ । शुक्रबार हुने पहिलो खेलमा सरस्वती युथ क्लब र त्रिभुवन आर्मी तथा दोस्रो खेल नेपाल पुलिस र थ्रीस्टार क्लबबीच हुनेछ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । 

दशौँ चरणका खेल सकिँदासम्म मनाङ शत प्रतिशत नतिजासहित ३० अङ्कसाथ शीर्ष स्थानमा छ । सङ्कटा २५ अङ्कसाथ दोस्रो, थ्रिस्टार २३ अङ्ककासाथ तेस्रो, १८ अङ्कका साथ त्रिभुवन आर्मी चौथो, १६ अङ्कसहित एपिएफ पाँचौँ स्थानमा छन् । 

यसैगरी समान १४-१४ अङ्कसहित च्यासल युथ क्लब र हिमालयन शेर्पा क्लब क्रमशः सातौँ र आठौँ तथा १० अङ्कसाथ सरस्वती नवौँ स्थानमा छ । 

लिगका सर्वाधिक गोलकर्ता धिमाल 
जारी लिगमा थ्री स्टारका रञ्जित धिमाल उच्च गोलकर्ता रहेका छन् । उनले अहिलेसम्म सात गोल गरिसकेका छन् ।

मनाङ मस्याङ्दीका अफिज ओलावालेले र अन्जन विष्टले समान ६-६  गोल गरिसकेका छन् । त्यस्तै थ्रीस्टारका रञ्जन विष्ट, शसस्त्र प्रहरी ‘एपिएफ’का रुपनारायण लामा र एलोन म्याक्सुएलले समान ४-४ गोल गरिसकेका छन् ।

जारी लिगमा ६ वटा मात्र रेड कार्ड प्रयोग भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?