काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेले विदेश जाने अनुमति पाएका छन् । उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा रिहा हुन र विदेश यात्रामा प्रतिबन्ध लगाएको थियो ।
त्यसै आदेशलाई पुनरावलोकन गर्न र आफू विदेशमा खेल्न जान पाउनु पर्ने माग राख्दै सन्दीपले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सोमबार सर्वोच्च अदालतले उक्त मुद्धामा सुनवाइ गर्दै उनीमाथिको विदेश प्रतिबन्ध फुकुवा गरिदिएको छ ।
उनले विदेश जाने अनुमति पाएपछि क्यान उनलाई यूएई पठाउने तयारीमा रहेको छ । हाल सन्दीपलाई यूएई पठाउन यूएई एम्बेसीमा प्रक्रिया थालिएकाे क्यानका प्रवक्ता दुर्गा राज पाठकले लोकपथलाई जानकारी दिए ।
नेपालले हाल यूएईमा जारी पपुवा न्युगिनी (पीएनजी) र यूएईसँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेलिरहेको छ । सोमबार भएको पहिलो खेलमा नेपालले पीएनजीलाई ४ विकेटले हराएको थियो ।
सन्दीपमाथि प्रतिबन्ध कायमै रहेकाले यसअघि क्यानले सन्दीपलाई टिममा समावेश गरेको थिएन । सन्दीपले हालै नेपालमै सम्पन्न भएक स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजमा १३ विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया