इंग्लिस प्रिमियर लिग : लिग लिडर लिभरपुलले लियो ६ अंकको अग्रता, टोट्नह्याम दोस्रो स्थानमा उक्लियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत लिग लिडर लिभरपुलले शानदार जीत दर्ता गरेको छ । 

बुधवार राति सम्पन्न भएको १९ औँ चरणको खेलमा उपाधि होडमा रहेको लिभरपुलले १५ औं स्थानमा रहेको न्युक्यासल युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गर्दै ६ अंककां अग्रता बनाएको छ ।

खेल शुरु भएको ११ मिनेट पनि बित्न नपाउँदै लिभरपुलका लागि डेजान लोभ्रेनले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । खेलको पहिलो हाफसम्म एक-शुन्य गोल अन्तरले अगाडि रहेको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल ग-यो ।

दोस्रो हाफको शुरुवातमा नै मोहम्मद सलाहले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे । एक पक्षिय रहेको खेलको ७९ औँ मिनेटमा शाकिरीले गोल गरे । ८५ औँ मिनेटमा फाबिन्होले गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल लिभरपुलले जित्यो । जितपछि लिभरपुलले ५१ अंक बनाएको छ । 

त्यस्तै बुधवार राति नै भएको अर्को खेलमा बर्नेमाउथलाई ५-० गोल अन्तरले पराजित गर्दै टोट्नह्याम लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

टोट्नह्यामको जीतमा सन ह्युङ मिनले दुई तथा एरिकसन, लुकास मौरा र ह्यारी केनले समान एक-एक गोल गरेका थिए । जितपछि टोट्नह्यामले ४५ अंक बनाएको छ ।

यता बुधवार राति नै भएका अन्य खेलहरुमा इभर्टनले बर्नलेलाई ५-१ गोलले पराजित ग-यो । फुलह्याम र उल्भसबीचको खेल भने एक-एक गोालको बराबरीमा सकिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?