यी आँखामा तिमी छौ कि गायिका जीनाले चित्त दुखाउँदै भनिन्, आवाज मेरो सुनिन्छ, बधाइ रजिनालाई

यी आँखामा तिमी छौ, यो मनमा तिमी छौ
देखाउन पो त गाह्रो जीवनमा तिमी छौ
तिमी भएर मात्रै जिन्दगीमा मजा छ
बरु श्वासले दिन्छ धोका तिमीले दिन्नौ थाहा छ …

‘अझै पनि मुड नै बनेन, होस् भोलि रेकर्ड गरौं ।’ गाउँदागाउँदै रोकिएर जीनाले भनिन् । दिनभरि यी अन्तरा दोहो-याउँदा पनि सोचेजस्तो राम्रो नसुनिएपछि भोलिपल्टका लागि रेकर्डिङ पोस्टपोन भयो । 

गीतले रोमान्टिक मुड मागिरहेको उनले बुझेकी थिइन् । रातभरि अभ्यास गरेर अर्को दिन स्टुडियोमा गइन् । आँखा बन्द गरेर गाउन शुरु गरिन् । त्यसदिन उनको आवाजले सूरताल सँगैसँगै गीतको ‘फिल’ पनि पक्रियो । नभन्दै गीत असाध्यै मीठो बन्यो । यो गीतले आफ्नो करियरलाई उकास्छ भन्नेमा धेरथोर पक्का जस्तै भइन् जीना । 

गीत बजारमा आयो । 

नाइ नभन्नु ल २ को यो गीत निकै लोकप्रिय पनि भयो । धेरै ठाउँमा गुञ्जियो, धेरैजनाले गुन्गुनाए । अझै पनि गुञ्जिन्छ र गुन्गुनाइन्छ । शब्द, संगीत र स्वर तीनैवटा ‘स’को मीठो तालमेलले गीतलाई ‘एभरग्रीन’ बनाएको छ । तर, यसको क्रेडिट ‘जीना’ले पाइनन् ।

जीना उनै हुन् जसले यस गीतको ‘फिमेल भर्सन’ मा आवाज दिएकी छिन् । यद्यपी, गीतले जति चर्चा उनले कमाइनन् । आवाज उनको सुनियो तर, बधाइ रजिना रिमालले पाइन् । यूट्युबमा समेत जीनाले स्वर भरेको ‘यी आँखामा तिमी छौ’ को फिमेल भर्सनमा रजिना रिमालको नाम राख्नाले उनलाई झनै ओझेलमा पा-यो । 

यूट्युबमा लेखिएका ‘वा ! रजिनाको कस्तो मीठो आवाज’, ‘अञ्जु पन्तलाई पनि फ्लप बनाउने आवाज छ रजिना किप इट अप’ जस्ता कमेन्टहरुले उनलाई झनै निरुत्साहित बनाउँदै गए ।

जुन गीत आफ्नो करियरको टर्निङ प्वाइन्ट बन्छ भन्ने आशा थियो त्यसबाट पनि दर्शकले आफूलाई चिन्न नसक्दा निकै नरमाइलो लागेको उनी बताउँछिन् । 

अहिले बुढासुब्बा डिजिटल्सले यूट्युबमा गायिकाको नाम सच्याएर ‘जीना रसाइली’ त राखेको छ तर, उनको नाम स्रोतामाझ अझैपनि गुमनाम नै छ । यी आँखामा पछि उनले गाएका केही चर्चित गीतले समेत उनलाई सोचेजस्तो चर्चा दिन सकिरहेका छैनन् । त्यसैले आजकल आफ्नो सम्पूर्ण ध्यान र समय संगीतलाई नै दिइरहेको जीना बताउँछिन् ।

‘अहिले निकै गीतहरु रेकर्डिङ भइरहेकाले अलि व्यस्त छु’, मुस्कुराउँदै थप्छिन्, ‘लेट्स होप अब आउने गीतहरुले मलाई निराश पार्ने छैनन्’।

आवाज र रियाज, फिफ्टी–फिफ्टी चाहिन्छ

स्कुलको वार्षिक उत्सवमा होस् या हरेक शुक्रवार आयोजना हुने कार्यक्रममा गीत गाउने कुरा चल्नसाथ सबैलाई एउटै नाम कण्ठस्थ थियो ‘जीना’ । त्यसैले औपचारिक रुपमा संगीत सिक्न नपाएपनि यस्तै कार्यक्रमहरुले उनलाई अप्रत्यक्ष गायन अभ्यास गराएको उनी बताउँछिन् ।

‘गाउँ सानो थियो, प्रशिक्षण दिने गुरु र विद्यालय दुवै थिएनन्’, उनी अगाडि थप्छिन्, ‘संगीत सिक्ने धेरै तरिकाहरु रहेछन्, मैले त सुनेरै सिकेँ’ ।

सारेगम को ज्ञान नभएपनि सूरताल ठ्याक्कै पक्डिने र आवाज पनि ‘गडगिफ्टेड’ भएकाले उनले गाएको सबैलाई मनपथ्र्यो । उनलाई पनि लाग्थ्यो ‘यत्तिको आवाजले म गायक बनिहाल्छु’ । तर, समयसँगै संगीत क्षेत्रमा प्रतिस्पर्धा बढ्दै जाँदा आवाज राम्रो भएर मात्रै नहुने रहेछ भन्ने निचोडमा जीना पुगेकी छिन् । त्यसैले आजकल उनी संगीत प्रशिक्षण लिइरहेको सुनाउँछिन् । 

‘मेरो पुरानै टेक्निक अर्थात् सुनेर सिक्ने त छँदै छ’, मुस्कुराउँदै भन्छिन्, ‘त्यो सँगसँगै अहिले चाहिँ म्युजिक क्लास पनि लिइरहेकी छु’।

त्यसैले गायक बन्न के चाहिदो रहेछ ? भन्ने हाम्रो प्रश्नमा जीना भन्छिन्, ‘आवाज र रियाज दुवै, फिफ्टी फिफ्टी चाहिन्छ ।’

प्रायजसो सेन्टिमेन्टल गीतहरुमा आवाज दिइसकेकी जीना अब केही नयाँ गर्ने मुडमा छिन् । एउटै प्रकारको गीतले दर्शकहरुलाई ‘मोनोटोनस’ फिल गराउने बुझेर नै अहिले उनी सधैँभन्दा फरक धारको गीत रेकर्ड गर्नमा व्यस्त छिन् । ‘अबका गीतहरुले मेरो करियरलाई राम्रै ठाउँमा पु-याउँछ भन्ने आश छ’, यसो भन्दै गर्दा उनको मुहारमा थोरै आशा, थोरै कन्फिडेन्स झल्कियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?