गत साउनमा मेरो घरमा पारिवारिक शोक पर्यो । हिन्दू परम्परा अनुसार पारिवारिक शोकमा पण्डितले गरुण पुराण लगाउने परम्परा छ । शोकसन्तप्त परिवारलाई केही शान्ति होस् र समय बितोस् भन्ने हेतुले पुराण लगाउने चलन छ । हामीले पनि पारिवारिक शोकमा त्यही गर्यौँ । पारिवारिक शोक एकातिर थियो अर्कोतिर दिन कटाउन भए पनि पुराणको कथा मज्जाले सुनेँ ।
धेरै विश्वास नलागे पनि संस्कृतमा खारिएका पण्डितबाट सुन्दा कथा कताकता हो झैँ लाग्थ्यो । पण्डितले संस्कृतमा पढेर त्यसको नेपालीमा उल्था गर्दा बढो मज्जाले सुनाउँदै गए । सबै त्यसलाई आनन्दभावले सुन्दै थिए । म पनि त्यसलाई शब्द चित्रमा उतार्दै सुन्दै गएँ । कथाको कतिपय विषयमा मेरो बिमत्ति थियो तर मनमा अनेक भाव उठे पनि शान्त रहेँ । एउटा प्रसंगले मलाई नराम्रोसँग रन्थनायो । पण्डितले त्यही पुराणको कुनै अध्यायमा पढ्दै थिए ।
सन्तान नहुनेलाई स्वर्गमा बास हुँदैन रे, अझै छोरा नहुँदा उसले मुक्ति पाउँदैन रे ! पण्डित कथा सुनाउँदै थिए, कथा सुन्दै गर्दा कतिपय सन्तान नहुने महिलाहरुको अनुहार चिहाएँ । उनीहरुको मनमा उत्पन्न पीडाले अनुहारमा नैरास्यता थियो । पण्डित उल्था गर्दै थिए सन्तान नहुने वा छोरा नहुने महिलालाई अपुत्रो भनेर स्वर्गको द्वार खुल्दैन रे, छोरीले दिएको पिण्ड चढ्दैन रे ! त्यस्तै त्यस्तै…।
मैले बिचमै रोकेर सोधे यस्तो पनि हुन्छ ? कसैले देखेको छ र ? प्रश्न गरे, बिचरा ती पण्डितलाई पनि के था खै बाबु यहाँ यही लेखेको छ शास्त्रमा लेखेको हो हामीले मान्नैपर्छ, भन्दै अघि बढिरहे । त्यस कुरामा धेरै आक्रोश थियो । बिचमै रोकेँ र आफैँलाई सम्हालेँ । तर, मनमा प्रश्न खड्किरह्यो सन्तान नजन्मिनु बायोलोजिकल कारण होला तर हामीले भन्ने गरेको जस्तो स्वर्ग जाने वा नजाने भन्ने विषय त्यसले के अर्थ राख्ला ? त्यही पनि सन्तान नहुनुमा महिला मात्रै दोषी हुँदैनन् धेरै पुरुष नै दोषी हुन्छन् नि ।
सोही धार्मिक ग्रन्थमा लेखिएको थियो, श्रीमानको नाम काट्ने नारी स्वर्ग जान्नन् रे, श्रीमानको आदर नगर्ने महिलालाई भलो हुँदैन रे । सुन्दै गएँ, बैराग्य लाग्दै गयो । के–के थियो सुने मनमनै उडाएँ ।
खैर !
आज देशले ११३ औं नारी दिवस मनाइरहेको छ । देशभर हजारौं नारी दिवसकै नाममा कार्यक्रम भइरहेका छन् । आजको दिनबाट महिला उत्थानमा काम गर्ने नेतृत्व कर्ताको उद्घोष हुन्छ, केही घण्टापछि त्यो घोषणा कहाँ पुग्छ पत्तो हुँदैन । सन् १९०८ मा अमेरिकाको न्ययोर्क शहरमा महिलाहरुले आफ्नो अधिकारको लागि शुरु भएको आन्दोलनको स्वरुप आजको दिनलाई नारी दिवसको रुपमा मनाउन थालियो ।
महिलाहरुले अधिकारको आन्दोलनले विकसित रुप लिँदै आज विश्व नै त्यही अनुसार नारी दिवस मनाइँदैछ । त्यसको विकासक्रमको भन्दा पनि समाजको मनोविज्ञान र महिलाको अवस्थाको बारेमा चित्रण गर्दा सान्दर्भिक होला ।
नारीलाई भगवानको रुप, साक्षात देवी या यस्तै नामबाट पुकारिन्छ । जहाँ नारीको सम्मान हुँदैन त्यहाँ भलो हुँदैन पनि भनिन्छ । तर, त्यति भन्दैमा मात्रै महिला अधिकार र सम्मान हुने पक्कै होइन् । मुख्य कुरा महिलाप्रतिको हाम्रो जकडिएको मनोविज्ञान परिवर्तन नै हो ।
नेपाली समाजमा पुरुष प्रधानको भाष्य स्थापित भइ लिंगको आधारमा मात्र नभइ श्रम, पारिश्रमिक, रुची, पेशाका आधारमा महिला-पुरुष छुट्टयाइएको छ ।
अझै अचम्म त के छ भने, नारी दिवसको अवसरमा आयोजित कतिपय कार्यक्रमको प्रमुख अथिति पुरुष नै हुन्छन् । यस्ता दृश्यले नारी नेतृत्व माथि प्रश्न स्वभावैले उठ्छ । के हाम्रो समाजमा प्रमुख अतिथि हुन योग्य नारी नै छैनन् ? कि, नारी नेतृत्वलाई पुरुषले स्वीकार गर्न नसकेको हो ?
सरकारले पनि नारी दिवसको दिन सार्वजनिक बिदा दिएर एकखालको सद्भाव देखाएको छ । तर, महिलामाथि हुने हिंसा, ज्यादतीलाई हेर्ने नजर राज्यसँग छैन । त्यसैले निर्जिव दिवसमा बिदा दिएर मात्र नारीमाथिको सम्मान प्रकट गर्दैन ।
महिलाका विषय आवाज बुलन्द गर्ने हुन् या महिला अधिकारमाथि लड्नेहरु नै किन नहुन् । महिला र पुरुष बराबरीको नारा बोकेर अघि बढेको देखिन्छ । सरकारले पनि महिला र पुरुषलाई एउटै तुलोमा राख्छ । र भन्छ, ‘महिला पुरुष बराबरी ।’
यद्यपि, राज्यले नै तोकेको कोटा प्रणालालाई पल्टाउने हो भने महिलालाई ३३ प्रतिशत कोटामा सिमित राखेको छ । र, कतिपय राजनीतिक दललाई त्यो कोटा प्रणाली पूर्ण गर्नसमेत पसिना छुट्छ । जसलाई हामीले गएको स्थानीय, प्रदेश र संघको निर्वाचनलाई मात्र हेरेपुग्छ ।
स्थानीय तहको प्रमुखमा अधिकांश पुरुष छन् । प्रदेश र संघको प्रत्यक्षतर्फ निर्वाचनमा प्रतिस्पर्धा गर्ने र विजयी हुने महिलाहरुको संख्या न्यून छ । अहिले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एकजनामात्र महिलाले विजयी हासिल गरिन् । कांग्रेसबाट चुनिएका अन्य महिला सांसदहरु समानुपातिक निर्वाचन प्रणालीबाट आएका हुन् । अन्य राजनीतिक दलमा पनि प्रत्यक्ष निर्वाचनमा टिकट वितरण र विजयी हुने लिष्ट छोटो छ ।
जसले राजनीतिक पहुँचमा पनि महिला सहभागिताको अवस्था दयनीय नै छ । त्यसैले आज नारी दिवसका अवसरमा विभिन्न राजनीतिक दल र तिनका नेताका शुभकामना सन्देशले उनीहरुलाई नै गिज्याइरहेको छ । अर्को उदेक लाग्दो कुरा त के छ भने विभिन्न उच्च पदमा निर्वाचन हुँदा प्रत्येक हार्ने निर्वाचनमा महिला सारिन्छ भने जित्ने निर्वाचन भएमा मात्रै पुरुष अघि बढ्ने गरेको परिदृश्य हाम्रै अघि छन् ।
माथिका यी दृष्टान्तले नेपाली समाजमा महिलालाई धर्म, कर्म, राजकाजमा कति पछि पारिएको छ भन्ने प्रष्ट हुन्छ । तर, यतिले मात्र पुग्दैन । महिलाको बारेमा हेर्ने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सूचीमा पुरुषको हाबी छ ।
२०५२ सालयता ४७ पटक यो मन्त्रालयको नेतृत्व फेरबदल भइसकेको छ । जसमा ३३ जनाले बागडोर सम्हालिसकेका छन् । जसमा १३ पटक मात्रै मन्त्रालयले महिला मन्त्री पाएको छ । बाँकी २३ पटक पुरुषले नै यस मन्त्रालयको जिम्मेवारीमा सम्हालेका छन् । राजनीतिमा महिलाको ३३ प्रतिशत सहभागिताको भनेपनि महिला मन्त्रालयमा पुरुषहरुले नै कब्जा जमाएको देखिन्छ ।
कुरा राज्यकेन्द्रीत मात्र होइन, हाम्रो नियतमा पनि खोंट छ । महिला अधिकारको कुरा गर्दैगर्दा हामी छातीमा हात राखेर भनौँ त छोरी जन्मिएकोमा मनैदेखि खुसी हुने कति जना होलान् ? हाम्रो पारिवारिक संरचना नै यस्तो ध्वंस्त बनाइएको छ की छोरो जन्मिने आशमा धेरै छोरीको संख्या धेरै छ । र, छोराकै आसमा कति छोरी भ्र्रुणमै मारिएका छन् । अझ अर्को बिडम्बना त के छ भने छोरी मात्रै भएको घरमा पुस्तान्तरण नहुने भन्दै साइनो गाँस्नै नहुने जस्तो सोचसमेत स्थापित छ ।
शिक्षाको कुरा गर्ने हो भने केही समयअघिसम्म चलेको प्राथमिक तहमा छोरीलाई तेल दिने चलन राज्यले गरेको थियो । कतिपय बाबुआमाले तेलकै लोभमा मात्रै छोरी स्कुल पठाउँथे । अब भनाैँ जन्मिदैँ कहरमा जन्मिएका छोरी, परिवारमा छोरा नजन्मिएकोमा किचलो देखेकी छोरीको बाल मनोविज्ञान कस्तो बन्ला ?
चेतना र शिक्षाको कारण पछिल्लो समय केही सुधार भने पक्कै आएको छ । अहिले छोरीहरु स्कुल जान थालेका छन्, बाबुआमाको सहारा बन्न थालेका छन्, देशको उच्च निकायमा पुगेका छन्, गाडी गुडाएका छन्, प्लेन उडाएका छन् ।
तर, यी सबै गर्दैगर्दा पनि एउटा सामाजिक परिबन्धमा हाम्रो मनोविज्ञान परिरहेको छ । साँझ परेपछि घरमा छोरी खोज्ने समाजले रातरातभर हराउने छोरो किन खोज्दैन ? माटोको भाँडो फुटेपछि जोडिन सक्दैन भनेर नारी लक्षित बनाइएको परिबन्द छोरामा किन लागू हुँदैन ?
त्यसैले नारीको सम्मान दिवस मनाएर मात्र हुँदैन । ‘गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ’ भन्ने गीत जस्तै हरेक क्षेत्रमा महिला उत्थानका उपलब्धिमूलक कदम चाल्नुपर्ने देखिन्छ ।
ज्वाइँलाई छोरीको आश्रयका रुपमा हेर्ने समाजले छोरीलाई आत्मनिर्भर बनाउने बाटो खन्न जरुर छ । १८ वर्ष कटेसी बुढीकन्या देख्ने समाजको नजर फेरिनैपर्छ । कानुनको पूर्ण कार्यान्वयन गरी घरदेखि विद्यालय, सार्वजनिक यातायातदेखि पार्कसम्म नारीलाई सुरक्षाको अनुभूति दिलाउन सकेमात्र यस्ता दिवसले सार्थक अर्थ दिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया