महेश्वर महर्जनको संघर्षशील कथा, दुई दशकमा बल्ल सफलता

काठमाडौं । ‘प्रतिक्षाको फल मिठो हुन्छ’ यो उखान ठ्याक्कै महेश्वर महर्जनले जीवनसँग मिल्दो जुल्दो छ ।

उनले दुई दशकपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्दै नयाँ इतिहास समेत कोर्न सफल भएका छन् ।

महर्जनले हालै मात्र थाइल्याण्डमा सम्पन्न भएको विश्व स्तरको शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जित्दै नेपाललाई ऐतिहासिक पदक दिलाए । तर, नेपाललाई विश्वसामु चिनाउन सफल तथा लाखौँ नेपालीको मुटुमा बसेका महर्जनलाई यति बेला आर्थिक समस्याले पिरोलेको छ । 

उनले लोकपथलाई भने, ‘मैले यसपालीको मिस्टर वल्र्डमा सकि नसकि खर्च गरेर सहभागिता जनाए, मैले मेरो तीन वटै बैंकको अकाउन्ट निल गरेर, क्लबको पैसा हालेर र साथीभाईसँग ऋण लिएर मिस्टर वल्र्डमा भाग लिएको हुँ ।’

‘बडि बिल्डिङमा लागेपछि मासिक ७० देखि ८० हजारको डाइट मात्र खानुपर्छ, त्यसमा परिवारको जिम्मेवारी पनि लिनै प-यो, सामान्य तरिकाले जिवनयापन गरिरहेको छु’, उनले थपे ।

परिवार, साथीभाई र समर्थकहरुको समर्थन कै कारणले आज सफलता हात पारेको समेत उनले बताए ।

‘मैल ७५ केजी तौल समूहमा ४९ राष्ट्रका खेलाडीलाई हराएर स्वर्ण पदक जिते, मलाई लाग्छ अव नेपाल सरकार र सम्बन्धित क्षेत्रले शारीरिक सुगठन खेललाई पनि प्राथमिकतामा राखे अझै मेडल भित्राउन सकिन्छ’, उनले भने । 

महेश्वरको जिमप्रतिको लगाव

महेश्वर महर्जन काठमाडौंका स्थायी ‘रैथाने’ बासिन्दा हुन् ।

उनी ढोकाटोलमा जन्मिएका हुन् । मध्यम वर्गीय किसान परिवारमा जन्मेका महर्जनको शारिरीक बनावट पातलो थियो । ज्यान पातलो भएकै कारण विद्यालयमा साथीहरुले पनि जिस्क्याउने गरेको कुरा उनलाई अझै याद छ ।

२० वर्ष पछि उनै साथीहरु अहिले महर्जनको शरिर हेरेर तारिफ गर्छन्, छक्क पर्छन् । 

उनले सम्झिदै भने, ‘म कक्षा आठमा पढ्दासम्म मात्र ४९ केजी थियो, स्कुलका सबै साथीहरुले मलाई ‘लुरे’ भनेर जिस्काउथे, तर मैले कक्षा नौ देखि नै फिजीकल वर्कआउट गर्न शुरु गरे, पुरानो घर नरदेवीको साउटमा एउटा कोठाबाट फिटनेश शुरु गरे।’ 

साथै उनले सन् १९९७ देखि १९९९ सम्म फिटनेस मात्र गरेको समेत बताए । ‘मैले दुई वर्ष फिजिकल फिटनेश मात्र गरे, त्यसपछिबाट नरदेवीमा नै रहेको युनिभर्सल जिममा भर्ना भएपछि मैले बडि बिल्डिङ करियरको शुरुवात गरेको हुँ’, महेशले बताए । 

उनले विगतका कुरा सम्झिदै भने, ‘मलाई सानै देखि जिमप्रति लगाव थियो, जिम गरेको एक वर्षमा नै मैले शरिर परिर्वतन भएको महसुस गरे, सधै ऐना अगाडि गएर शरिर हेर्दा आनन्द लाग्थो, २० वर्षको मेरो यात्रामा मैले कहिल्यै पनि बडि बिल्डिङलाई छाडेन्, मैल ट्रयाकहरु चाँही परिवर्तन गरे, मैले पे्रस, कम्प्युटर डिजाइनिङ, कल सेन्टर, विभिन्न होटलहरुमा काम गरे, त्यति मात्र नभएर वैदेशिक रोजगारीको लागि दुबईमा समेत गए, तर यो बीचमा म बडि बिल्डिङ र फिटनेशबाट कहिल्यै टाढा भएन् ।’

परिवारको कमजोर आर्थिक स्थिति, नकारात्मक सामाजिक बुझाई र आमाको दवावका कारण महेश्वरलाई शारिरीक सुगठनमा लाग्न धेरै गाह्रो थियो । तर, उनको यस रुची प्रतिको निरन्तरताका कारण नै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा दुई स्वर्ण पदक दिलाउन सफल भए ।

उनले भूटानमा भएको ५० औँ एशियाली शारिरीक सुगठनमा पनि स्वर्ण पदक जितेका थिए । 

अबको लक्ष्य ‘मिस्टर युनिभर्स’

स्वर्ण पदकधारी महेश्वरले अबको लक्ष्य भनेको मिस्टर युनिभर्स रहेको बताएका छन् ।

मिस्टर युनिभर्समा मिस्टर वल्र्डको ५५ केजीदेखि एक सय केजीसम्मका विभिन्न तौल समूहका विजेता खेलाडीबीच प्रतिस्पर्धा हुन्छ । यो प्रतिस्पर्धाका अब्बल ठहरिने खेलाडीलाई नै नयाँ मिस्टर युनिभर्स घोषित गरिनेछ ।

शारीरिक सुगठन तथा फिटनेशको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा लिइने मिस्टर युनिभर्स सहभागी हुन शारीरिक, मानसिक तथा आर्थिक रुपमा पनि बलियो हुनु पर्दछ । यो प्रतियोगितामा सहभागी हुन महर्जनसामु ठूलै चुनौती छ ।

त्यसका बावजुत पनि उनी तयारीमा अहिलेदेखि नै लाग्ने बताए । मिस्टर युनिभर्स आगामी सन् २०२० मा आयोजना हुँदैछ । उनले आर्थिक अभावका बावजुतपनि उनी नेपाललाई अर्को स्वर्ण पदक दिलाउने दृढ संकल्पका साथ लागि पर्ने जानकारी दिए ।

‘मलाई एक चोटी मिस्टर युनिभर्समा भाग लिन मन छ, म शारीरिक रुपमा जसरी पनि तयार गर्न सक्छु, तर, आर्थिक समस्याले पिरोलि रहेको छ, र कसरी खर्च जुटाउने’, उनले भने । 
महर्जन विश्व शारीरिक सुगठनमा विश्वविजेता बनेपनि राज्यस्तर र सम्बन्धित खेलकुद निकायबाट आवश्यक सहयोग हुनेमा विश्वस्त नरहेको उनले बताए । 

‘राज्यले मलाई सहयोग गरेको खण्डमा पक्कै पनि मिस्टर युनिभर्समा सहभागिता जनाउने छु, आशा गरौं मेरो यो सपनामा साथ दिनु हुनेछ’, महेश्वरले थपे । 

आफ्नै खर्चमा खेल्न गाह्रो भो 

मिस्टर वल्र्डमा सहभागी हुन पूर्व खर्चको जोहो गर्न निक्कै हम्मेहम्मे परेको तितो अनुभव उनको मानसपटलमा ताजै छ । 

उनले भने, ‘शुरुवातदेखि नै चाहिने पौष्टिक आहार, व्यायाममा लागि चाहिने शुल्क र अतिरिक्त खर्चको चाँजोपाँजो मिलाउन गाह्रो भएको थियो, त्यस्तै पूर्वतयारीमा समेत आर्थिक अभावले निक्कै सतायो ।’

साथै महेश्वरले प्रतियोगितामा सहभागी हुन कम्तिमा पनि ६ महिनाको पूर्वतयारीमा लाग्नु पर्ने लोकपथलाई जानकारी दिए । 

‘के गर्नु पूर्वतयारी ६ महिना अगावै गर्नुपर्छ, तर, त्यो मेरो लागि सम्भव थिएन, आफै कमाएर खर्च गर्नुपर्छ, परिवारका साथसाथै खेललाई पनि ध्यानमा दिनुपर्छ, जसोतसो दुई महिना भने म पूर्ण रुपमा सक्रिए भएपनि चार महिना भने जिममा प्रशिक्षक भएरै काम गरे’, उनले बताए । 

‘मैले मासिक रुपमा ३० देखि ४० हजारको हाराहारीमा कमाई गर्छु, मिस्टर वल्र्ड खेल्दा ८ लाख जति खर्च भयो, व्यक्तिगत रुपमा यत्रो रकम खर्च गरेर खेल्न पनि नसकिने रहेछ, एउटा प्रतियोगिता खेल्दा वर्षभरीको कमाई सकिदो रहेछ’, उनले थपे । 

बडि बिल्डिङप्रति युवाहरुको आकर्षण बढ्दो

पछिल्लो समयमा युवाहरु बडि बिल्डिङप्रति आकषर्ण बढ्दो छ ।

काठमाडौंमा हरेक वर्ष जिमहरु बढ्दै गइरहेको महर्जनले बताए । शारीरिक सुगठनमा लाग्ने युवाहरु पनि धेरै छन् तर, नबुझेर आउनेहरुको संख्यापनि उल्लेख्य रहेको छ । 

उनले भने, ‘धनीहरु ‘फिट’ हुनका लागि मात्रै जिम आउछन्, तर कम तथा मध्यम आय भएकाहरु मात्रै शारीरिक सुगठनमा लाग्नेहरु छन् ।’

साथै उनले बडि बिल्डिङमा लगानी गर्न सरकारसँग आग्रह समेत गरेका छन् । ‘फुटबल, क्रिकेटलाई जस्ते बडि बिल्डिङमा पनि सरकारले लगानी गर्नुपर्छ जस्तो म देख्छु, हामीले स्वर्ण पदक जितेर पनि प्रमाणित पनि गरिसकेका छौँ, त्यसैले सरकारले बडि बिल्डिङलाई प्राथमिकतामा राखेर लगानी गरे अझै मेडल भित्राउन सक्छौँ’, महर्जनले भने । 

महर्जनले विश्वस्तरमा प्रतिस्पर्धा गर्दै दुई स्वर्ण पदक नेपालमा भित्र्याइ सकेका छन् । खेलाडीलाई सधै खेलकुदमा लाग्न र मनोवल बढाउन उचित रकम सहित सम्मान गर्न जरुरी रहेको खेलकुदविज्ञहरुको सुझाव छ ।

बेलैमा बडि बिल्डिङ लगायतका केही खेलहरुलाई पहिलो प्राथमिकतामा राख्न सके पक्कै आउँदो दिनमा महेश्वर जस्तै अन्य खेलाडीहरुले पनि मेडल भित्राउन सक्छ भन्दा फरक नपर्ला । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?