मनाङ मस्याङ्दी एएफसी कपको समूह ‘इ’मा

काठमाडौं । जारी ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेसँगै मनाङ मस्र्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ ‘एएफसी’ कप फुटबलमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । 

लिग जित्ने टोलीले एएफसीमा सहभागिता जनाउने प्रावधानअनुसार नेपालको प्रतिनिधित्व गर्दै मनाङले उक्त प्रतियोगितामा सहभागिता जनाउने अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ले जनाएको छ । उक्त प्रतियोगितामा नेपालबाट अघिल्लो पटक थ्रीस्टारले प्रतिस्पर्धा गरेको थियो । 

मनाङले बिहीवार सङ्कटा क्लबलाई ३–१ ले हराउँदै उपाधि जितेको थियो । दुई खेल अगावै उपाधि जितेको मनाङले लिगमा कीर्तिमानी आठौँ पटक कब्जा समेत जमाएको हो । 

एएफसी कप फुटबलको समूह चरणमा मनाङ समूह ‘इ’ मा रहेको छ । एशियन फुटबल फेडेरेसन एएफसीले गत महिना नै समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको थियो । 

एएफसीले निकालेको ड्र अनुसार नेपालको ‘ए’ डिभिजन लिग विजेता मनाङ समूह ‘इ’ मा परेको हो । यस समूहमा भारत, बङ्गलादेश र प्ले अफबाट आएको एक टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

भारतबाट भने मिनर्वा पन्जाबले खेल्ने छ । त्यस्तै बङ्गलादेशबाट ढाका अबाहानीले खेल्नेछ । प्ले अफबाट आउने एक टोलीको भने तय भएको छैन । समूह चरणको खेल आगामी अप्रिलमा युएइमा शुरु हुनेछ ।

एएफसी कपमा एशियाका हरेक राष्ट्रको शीर्ष डिभिजनको लिग च्याम्पियनले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा २४ राष्ट्रले सहभागी जनाउनेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?