वीरगञ्जमा यो वर्ष धान उत्पादनमा वृद्धि

वीरगञ्ज । मौसमको अनुकूलता, समयमा बीउबिजन मलखादको उपलब्धता र समयमा पानी परेका कारण बारा जिल्लामा गत वर्षको तुलनामा यसवर्ष १० प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । 

कृषि ज्ञान केन्द्र बाराका अनुसार चालु आर्थिक वर्ष २०७५/७६ मा यस जिल्लाको ६२ हजार ७ सय हेक्टर क्षेत्रफलमा तीन लाख ३९ हजार १६७ दशमलव ८५ मेट्रिक टन धान उत्पादन भएको छ । उक्त आँकडा गतवर्ष भन्दा ९५ हजार ९८५ मेट्रिक टनले बढी हो । 

अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा बारा जिल्लाका ६२ हजार २९५ हेक्टर क्षेत्रफलमा चैतेधान, भदैया र अगहनी धानको खेती गरिएकामा दुई लाख ४३ हजार १८२ दशमलव सात मेट्रिक टन धान उत्पादन भएको थियो । 

तथ्याङ्क हेर्दा अघिल्लो वर्ष बाराका किसानले १२ हजार ११० हेक्टरमा ६५ हजार १५१ मेट्रिक टन चैते धान, १२ हजार १६० हेक्टरमा ५१ हजार ५५८ दशमलव चार मेट्रिक टन भदैया धान र ३८ हजार ३२५ हेक्टरमा १२६ हजार ४७२ दशमलव पाँच मेट्रिक टन अगहनी धान उत्पादन गरेको देखिन्छ । 

मौसमको अनुकूलता, समयमा बीउबिजन तथा मलखाद उपलब्ध भएकोले गतवर्ष भन्दा यसवर्ष बारा जिल्लामा १० प्रतिशतले धान उत्पादनमा वृद्धि भएको ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवले बताए । 

जिल्लामा रहेको ६० प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध छ भने बाँकी ४० प्रतिशत जमीनमा आकाशे पानीको भरमा खेती हुने गरेको छ । चुरे पहाडको भेगमा ९९५ हेक्टर जमीन खेतीयोग्य छ भने तराई भेगमा कृषियोग्य जमीन ६१ हजार ८२८ हेक्टर रहेको छ । 

जिल्लाको मध्य र दक्षिणी तराई क्षेत्रमा नदीले बगाइ ल्याएको नरम र दोमट माटो पाइने भएकोले सो क्षेत्रमा बालीनालीको उत्पादन बढ्ने गरेको प्राविधिक सहायक राम भगत महतोले बताए । 

बहत्तर दशमलव ९८ प्रतिशत किसान कृषिमा आश्रित रहेको बारामा आर्थिक रूपले सक्रिय जनसङ्ख्या ४६ दशमलव ७३ प्रतिशत रहेको छ । प्रदेश नं २ को ८ जिल्लामा गत वर्षको तुलनामा यसवर्ष दुई लाख नौ हजार मेट्रिक टनले धान उत्पादनमा वृद्धि भएको छ ।

प्रदेश नं २ मा चालु आर्थिक वर्ष २०७५ ७६ मा किसानले १४ लाख ९५ हजार मेट्रिक टन धान उत्पादन गरेका छन् । 

यसैबीच प्रदेश सरकारको नीतिअनुसार ज्ञान केन्द्र बाराले ४० प्रतिशत अनुदानमा आफ्ना २८ वटा डिलरमार्फत यसवर्ष २ सय मेट्रिक टन सरकारी अनुदानको गहुँको बीउ किसानलाई वितरण गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?