बिदेशी मुद्राको सञ्चितीमा १३ प्रतिशतले बृद्धि

लोकपथ
56
Shares

काठमाडौं । नेपालमा बिदेशी मुद्राको सञ्चितीमा सुधार देखिएको छ । राष्ट्र बैंकले आज आईतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक वर्षको सात महिनाको प्रतिवेदन अनुसार पनि बिदेशी मुद्राको सञ्चितीमा सुधार देखिएको हो ।

राष्ट्र बैंकका अनुसार बिदेशी मुद्राको सञ्चिती २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३ दशमलव आठ प्रतिशतले वृद्धि भई २०७९ माघ मसान्तमा १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौं अर्ब ५४ करोड रहेकोमा २०७९ माघ मसान्तमा १० दशमलव दुई प्रतिशतले वृद्धि भई १० अर्ब ५० करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ माघ मसान्तमा १६ दशमलव दुई प्रतिशतले वृद्धि भई १२ खर्ब २८ अर्ब पाँच करोड रुपैंयाँ पुगेको राष्ट्र बैकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था अर्थात नेपाल राष्ट्र बैंक बाहेकका संस्थाहरुसँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ माघ मसान्तमा दुई दशमलव छ प्रतिशतले कमी आई एक खर्ब ५५ अर्ब २८ करोड रुपैंयाँ कायम भएको छ । २०७९ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव चार प्रतिशत रहेको छ ।

प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०७९/८० को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० दशमलव आठ महिनाको वस्तु आयात र नौं महिना चार दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?