काठमाडौं । आज फागुन २९ गते । नेपाली फुटबल प्रेमीहरुका लागि बिर्सन नसकिने दिन । ७१ जना खेलप्रेमीले ज्यान गुमाएको दिन । आज भन्दा ठिक ३५ वर्ष अघि आजकै दिन अर्थात वि.सं. २०४४ साल फागुन २९ गते जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धा त्रिभुवन च्यालेन्ज शिल्ड उपाधिका लागि आमनेसामने हुँदै थिए ।
करिब ३० हजार दर्शक क्षमता भएको दशरथ रंगशाला दर्शकहरुले खचाखच भरिएको थियो । फाइनल खेल हेर्नका लागि जनकपुर, वीरगञ्ज लगाएत देशका विभिन्न स्थानबाट खेलप्रेमीहरु दशरथ रंगशालामा आएका थिए ।
दिउँसो २ः३० बाट शुरू भएको खेलमा बंगलादेशी टोलीले सुरूवाती अग्रता लियो । खेलको १९ औं मिनेट चलिरहँदा हावाहुरी यति जोडले चल्न थाल्यो कि सैनिक मुख्यालय तर्फका ठुलठुला रूखका हाँगा रंगशालामा खस्न थाले ।
दर्शक दीर्घामा हावाहुरीबाट ज्यान जोगाउन भागदौड शुरू भयो । रंगशाला प्रवेशका ढोकाहरू ताल्चा लगाइएको कारण समयमै दर्शकहरू बाहिरिन पाएनन् र किच्चिएरर च्याप्पिएर कम्तीमा ७१ जना फुटबल फ्यानले ज्यान गुमाउन पर्यो भने कैयन समर्थकहरू घाइते भएका थिए ।
करिब ५ मिनेटपछि हावाहुरीको बबण्डर रोकिएपछि बंगाली खेलाडीलाई होटलतर्फ लगियो। जनकपुर चुरोट कारखानाका खेलाडी भोटेबहालस्थित होटल पुगे। अखिल नेपाल फुटबल संघ (एन्फा) ले रोकिएको खेल पछि हुने घोषणा गरेको थियो । तर, त्यो दुर्घटनापछि खेल हुन सकेन। तीन दिनपछि बंगलादेशी टोली पनि घर फर्कियो ।
उक्त घटनापछि तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री केशरबहादुर विष्टले घटनाको चौथो दिन नैतिकताको आधारमा राजा वीरेन्द्रसामु राजीनामा बुझाएका थिए ।
उक्त भयानक घटनापछि दशरथ रंगशालामा फुटबल खेल हुँदा दोस्राे हाफबाट नै प्रवेशद्धारहरू खुल्ला राख्न थालियो ताकी २०४४ सालको अवस्था आइपरेमा दर्शकहरू सहज रूपमा नै बाहिरिन सकुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया