ललितपुर । प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मरकट्टेलले मालबाहक यातायातमा सिण्डिकेट नरहेको बताएका छन् । ट्रक यातायात व्यवसायी संघ काठमाडौंको ८ औं अधिवेशनको उद्घाटन गर्दै मन्त्री जम्मरकट्टेलले यात्रुवाहक, मालवाहक र निजी यातायातलाई हेर्ने सरकारी दृष्टिकोण छुट्टै हुनुपर्ने भन्दै प्रदेश सरकारले यसमा गृहकार्य गरिरहेको जानकारी दिए ।
उनले सरकारले हालै पारित गरेको सवारी व्यवस्थापन तथा सञ्चालन गर्न बनेको ऐन अझै पूर्ण हुन नसकेको भन्दै व्यवसायीको सुझावसहित संशोधन गरिने बताए । उनले धादिङको धुनिबेसीमा ट्रक पार्किङको व्यवस्था मिलाउन लागेको र भारतीय ट्रकले निम्त्याएको समस्या समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
ट्रक यातायात व्यवसायी संघ काठमाडौंका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले नेपालमा सञ्चालित ७० हजार ट्रकले बर्षिक टिडिएस् मात्र कम्तिमा ७ अर्ब तिर्ने गरेको भएपनि सरकारले व्यवसायीका समस्यामाथी खासै प्राथमिकता नदिएको प्रति गुनासो गरे । उनले सरकारको सहयोगी भएर अगाडि बढ्ने वातावरण बनाईदिन सरकारसँग आग्रह समेत गरे ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय महासचिव राजेन्द्र विक्रम बानियाँले नेपाली व्यवसायीले भारतीय ट्रकसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताको अन्त्य हुनुुपर्नेमा जोड दिए । उनले रोड परमिट नेपाली व्यवसायीले तिर्ने तर ओभरलोड सहित खुलेआम भारतीय ट्रक नेपाल भित्रिंदा त्यसले बाटो, पुल बिग्रिएको बताए ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अर्जुन रानाभाट, ट्रेडयुनियन, व्यवसायी लगायतले तौलपुलको पूर्ण कार्यान्वयन, व्यवसायिक सुरक्षा लगायतका विषयमा जोड दिए ।
अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया