प्रचण्डले दिए स्वर्ण पदकधारी महर्जनलाई सहयोगको वचन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले स्वर्ण पदकधारी महेश्वर महर्जनलाई बधाई दिनुका साथै सहयोग समेत गर्ने बताएका छन् । 

थाइल्याण्डमा सम्पन्न भएको अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रच्न सफल भएका महर्जनलाई अध्यक्ष प्रचण्डले शारीरिक सुगठन लगायतका खेलहरुमा सरकार र पार्टीको तर्फबाट सहयोग गर्ने वचन समेत दिएका हुन् । 

महर्जन आइतवार प्रचण्ड निवास खुमलटारमा प्रचण्डलाई भेट्न गएका थिए । सोही अवसरमा प्रचण्डले शारीरिक सुगठनमार्फत नेपालको नाम विश्वस्तरमा चिनाएको भन्दै उनलाई बधाई समेत दिएका थिए ।

प्रचण्डले भने, ‘तपाईले जितेको स्वर्ण पदकले नेपाल र नेपालीको शीर गौरवले उच्च भएको छ।’ साथै उनले अवसर पाए नेपाली खेलाडीहरु पनि अरु खेलाडीभन्दा कम नभएको बताए । 

‘मैले खेल क्षेत्रलाई सधैं पहिलो प्राथमिकता राखेको छु, नेपालको समृद्धि र विकासमा खेल क्षेत्र र खेलाडीहरुको ठूलो भूमिका छ, पार्टी र सरकारका तर्फबाट शारीरिक सुगठनलगायत नेपालको खेल क्षेत्रलाई अझ विकास गर्ने म प्रतिवद्धतासमेत दिन्छु ।’ उनले बताए । 

भेटघाट कार्यक्रममा महर्जनले व्यक्तिगत लगानी र प्रयासमा ७५ किलो तौल समूहमा स्वर्ण पदक जिते पनि यस क्षेत्रमा राज्यले नै सहयोगी वातावरण बनाइदिनु पर्ने समेत बताए । 

साथै महर्जनले आगामी मिस्टर युनिभर्समा समेत सहभागी हुने इच्छा रहेको बताउँदै सहयोगको अपेक्षा गरेको जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?