काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा दुई चरणका खेल बाँकी रहँदा दोस्रो स्थानमा रहेको सङ्कटा र तेस्रो स्थानको थ्रीस्टारबीच उपविजेता बन्न प्रतिष्पर्धा हुनेछ ।
लिगको उपाधि ११ औँ चरणको खेलसम्म अविजित रहेको मनाङ–मस्याङ्दी क्लबले जितिसकेको छ । सङ्कटाभन्दा २ अङ्कले पछि रहेको थ्रीस्टारलाई लिगको दोस्रो स्थानमा उक्लन बाँकी दुवै खेल जितेर मात्र पुग्दैन । उसले सङ्कटाको नतिजा कुनुपर्ने हुन्छ ।
सङ्कटा एक खेलमा बराबरी र एक खेलको जितले मात्र दोस्रो स्थानमा रहिरहन सक्छ ।
सङ्कटाले अब १२ औँ चरणको अन्तिम खेलमा बुधवार थ्रीस्टारसँग प्रतिपर्धा गर्दैछ । यही खेललको नतिजाले दोस्रो स्थानमा रहने टोलीको टुङ्गो लाग्नेछ । थ्रीस्टारसँग पराजित भए सङ्कटाको दोस्रो स्थानमा रहेर लिग सम्पन्न गर्ने अवस्था कमजोर बन्छ भने बराबरी वा जितको नतिजाले यो सहज बन्नेछ ।
लिगअन्तर्गत १२ औँ चरणका खेल सोमबारदेखि शुरु हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’का महासचिव इन्द्रमान तुलाधरका अनुसार १२ औँ चरणका खेल सोमवार तीन, मंगलवार र बुधवार दुई/दुई हुनेछन् ।
सोमवार हुने पहिलो खेलमा न्यूरोड टिम ‘एनआरटी’ र मछिन्द्र क्लबबीचत तथा दोस्रो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइजको सामना गर्नेछ । दुवै खेल एन्फा मैदानमा हुनेछन् । सोही दिन हल्चोकमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मीबीच खेल हुनेछ ।
त्यस्तै मंगलवार सरस्वति युथ क्लब र च्यासल युथ क्लब तथा अर्को खेल एपिएफ र नेपाल पुलिसबीच हुनेछ । १२ औँ चरणको अन्तिम खेलमा बुधवार सङ्कटा क्लब र थ्रीस्टारबीच तथा हिमालनय शेर्पा र उपाधि विजेता मनाङ भिड्नेछन् ।
लिगअन्तर्गत ११औँ चरणका खेल सकिँदासम्म मनाङ शतप्रतिशत नतिजासहित ३३ अङ्कका साथ उपाधि विजेता बनिसकेको छ भने दोस्रो स्थानमा २५ अङ्कका साथ सङ्कटा, २३ अङ्कका साथ थ्रीस्थार तेस्रो, २१ अङ्कका साथ त्रिभुवन आर्मी चौथो र १८ अङ्कका साथ नेपाल पुलिस पाँचौ स्थानमा छन् ।
त्यस्तै समान १७-१७ अङ्कका साथ हिमालयन शेर्पा छैटौँ र एपिएफल सातौँ स्थानमा छन् । पन्ध्र अङ्क रहेको च्यासल आठौँ, ११ अङ्क रहेको जावलाखेल नवौँ, १० अङ्क रहेको सरस्वति १० औँ र नौ अङ्क रहेको फ्रेन्ड्स ११ औँ स्थानमा छन् ।
यसैगरी समान ६-६ अङ्क रहेका मछिन्द्र र ब्रिगेड ब्वाइज १२औँ र १३ औँ तथा पाँच अङ्क रहेको न्यूरोड टिम ‘एनआरटी’ तालिकाको अन्तिम स्थानमा छ ।
लिगको कूल ९१ खेलमध्ये हालसम्म ७७ खेल समाप्त भइसकेका छन् । लिगमा अब दुई चरणका गरी १४ खेलमात्र बाँकी छन् । लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रो हुने टिमले २५ लाख पाउनेछन् ।
लिगको चौथो टोलीले १५ लाख, पाँचौँ टोलीले सात लाख र छैटौँले पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउनेछन् । ‘ए’ डिभिजन लिग चार वर्षपछि पुनः सञ्चालन भएको हो । पछिल्लो पटक २०७१ मा ‘ए’ डिभिजन लिग आयोजना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया