किन मनाइन्छ ‘घोडेजात्रा’ ?

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका दिन  काठमाडौ उपत्यकामा घोडेजात्रा पर्व विभिन्न कार्यक्रम गरि मनाइन्छ  । चैत्र शुक्ल प्रतिपदाबाट नयाँ बर्षको थालनी हुने मान्यता रहेको छ । त्यहि आधारमा अघिल्लो दिन चैत्र कृष्ण औंसीमा अश्वयात्रा गरेर अर्थात घोडा हिंडाएर नयाँ बर्षलाई स्वागत गर्ने प्रचलन रहेको छ ।

घोडेजात्रामा नेपाली सेनाले टुँडिखेलमा घोडादौड तथा अन्य रोचक कला प्रस्तुत गर्ने छन् । राजतन्त्र रहँदासम्म नेपालमा घोडेजात्रा तीन दिन मनाइन्थ्यो। त्यतिबेला बसन्तपुरको कुमारी घरबाट जीवित देवी कुमारीलाई वीरताको प्रतीक घोडामा बसालेर टुँडिखेलमा ल्याइ पूर्ण सम्मानका साथ आशन ग्रहण गराइन्थो। टुँडिखेलमा तत्कालिन शाही सेनाले २१ तोपको सलामी चढाउने चलन थियो।  त्यसपछि  राजा, राजपरिवारका अन्य सदस्य, संवैधानिक अंगका प्रमुख, मन्त्रीगण, प्रहरी, सेनाहरूको ठूलो उपस्थितीमा घोडेजात्रा मनाइन्थ्यो  ।

हाल भने घोडेजात्रा एक दिनमै सकिन्छ। राष्ट्रपति लगायत गन्यमान्य व्यक्तित्वहरुले घोडेजात्राको अवलोकन गर्छन्।

घोडेजात्राको दिन विहानै नेपाली सेनाले जुद्ध सडकस्थित रेवन्त पीठमा बोकाको बलि दिएर जात्रा शुरु भएको जनाउ दिने गर्दछन् । यसरी जनाउ दिएपछी क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारीका विभिन्न कलाकाैशलहरूको प्रदर्शनी शुरु हुन्छ ।

नेवार समुदायको  “पाहाँचह्रे” पर्वको दोस्रो दिन पर्ने घोडेजात्राको नेवार समुदायमा छुट्टै महत्व पनि छ , परम्परा अनुसार यस दिन काठमाडौं उपत्यकाका सर्वजातका केटाकेटीलाई एउटै लहरमा राखी मल: जा खुवाईन्छ । यसरी मल: जा खुवाउनाले केटाकेटीलाई रोग लाग्नबाट बचाउँछ भन्ने विश्वास गरिन्छ । यसदिन उपत्यकावासीले विवाहित छोरी र दिदी–बहिनीहरूलाई माईतमा बोलाएर भोज खुवाउने पनि चलन रहेको छ।

पाटन र भक्तपुरको घोडेजात्रा

पाटनको बालकुमारीमा रक्सी खुवाएर एकमात्र घोडा कुदाईन्छ  । राजा प्रताप मल्ल र पाटनका राजा श्रीनिवास मल्लबीच मनमुटाव हुँदा ने.सं.७८७ तिर पाटनमा एक्लो घोडा कुदाउन थालिएको जनश्रुति रहदै आएको छ । आफ्ना जनताले काठमाडौं जान नपरोस् भनि पाटनको बालकुमारीमा एक्लो घोडा कुदाई मनोरञ्जन गर्न थालिएको हो । भक्तपूरको पचपन्न झ्याले दरबार परिसरमा सिंगारिएको घोडा दौडाएर जात्रा मनाइन्छ ।

किम्वदन्ती

परापूर्व कालमा टुँडिखेलको पुर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्न दिइएको गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव वस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिकाहरु खाइदिने गर्दथ्यो ।यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्नका लागि अनेक उपायहरु खोज्न थाले । त्यसपछि त्यस राक्षसलाई थुप्रै घोडाले कुल्चाएर मारिएको थियो र उनलाई त्यहि गाडिएको छ भन्ने किम्बदन्ती रहेको छ। गुरुमापाको प्रतीकका रूपमा टुँडिखेलको पुर्व दक्षिण दिशामा सो रुख अझसम्म पनि सुरक्षित छ। अहिले पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिएको छ । यसो नगर्दा उक्त राक्षसको प्रेतात्मा बिउँझिएर शहरमा उधुम मच्चाउन सक्ने बुढापाकाहरुको भनाई छ । फागुपूर्णिमाको मध्यरातमा प्रत्येक वर्ष काठमाडौँको टुँडिखेलमा गुरुमापा राक्षसलाई सिङ्गै रागो लगायत चौरासी व्यञ्जनयुक्त भोजन गराइन्छ । भूतप्रेत पन्छाउँदा आफ्नो टोलवासी लगायत देशकै रक्षा हुने धार्मिक विश्वास छ ।

को हुन् गुरुमापा ?

गुरुमापाको कथा काठमाण्डौको इटुम्बाहालमा बस्ने केशचन्द्र नामक एकजना व्यक्तिबाट सुरु हुन्छ जसले आफ्नो सबै सम्पत्ति जुवामा हारेका थिए। त्यसपछि उनि बेला-बेलामा खाना खान आफ्नी दिदीकहाँ जाने गर्दथे, पहिलो पटक उनि आफ्नी दिदी कहाँ खाना खान जाँदा उनकी दिदीले केशचन्द्रलाई  सुनको थालमा राखी खान दिए।  तर जुवाको लतले मात्तिएका केशचन्द्र थाल लिएर कुल्लेलम ठोके अनि त्यो सुनको थाल पनि जुवामा हारे,  केहि दिनपछि उनि फेरि दिदीको घर पुगे, भोकाएर आएका आफ्ना भाइलाई केहि नभनी दिदीले फेरि चाँदीको थालमा भात खान दिए, तर दिदीको आँखा छलेर केशचन्द्र फेरि कुल्लेलम ठोके। फेरि पहिलेकै कुरा दोहोरियो, उनले त्यो थाल पनि जुवामा सकाए , लाज पचाएर उनि फेरो केहि दिनपछि दिदीको घरमा गए, यसपाली भने दिदीले तामाको थालमा उनलाई खान खान दिए, उनि फेरि खाना खाएर थाल लिएर भागे र फेरि जुवामा हारे। लाज पचाइसकेका केशचन्द्र  फेरि दिदीको घर पुगे , तर रिसाएकी दिदीले उनलाई यसपाली भने राम्रै पाठ पढाए, उनलाई भुइमै खान पस्कि दिए , दिदीको यस्तो व्यवहारले गहिरो चोट लागेको केशचन्द्रले रुमालमा सो खाना जम्मा गरे र धेरै टाढा सहर बाहिरको जङ्गलमागए। निकै टाढा पुगिसकेपछि भोकाएको महसुस गर्दै, उनले रुमालको पोको खोले , तर लामो समय पोको पारिएको खानामा किरा लागिसकेको थियो, त्यसैले उनले त्यसलाई सुकाएर खाने निधो गरे र त्यसै अनुसार भातलाई फैलाएर सुकाउनका लागि छोडेर उनि मस्त निदाए।

केशचन्द्र ब्यूँझँदा भात त सबै परेवाले खाइसकेका थिए । यो देखेर उनि यति दुःखी भए कि उनी रुन थाले , रोइरहेका उनलाई दया देखाएर परेवाहरूले त्यहि रुमाल माथि सुनका डल्ला बिस्त्याइदिए, अब उनीसंग यति धेरै सुन थियो कि उनले बोकेर लैजानै सकेनन् । के गर्ने भनेर सोच्दै गर्दा उनले जङ्गलमा  गुरुमापालाई देखे । शिकारको गन्धले  गुरुमापालाई आकर्षित गरेको थियो। आफुलाई नै खान आएका गुरूमापालाई केशचन्द्रनले अनेक तरहले शान्त गराए र सधै भोज खुवाउने वाचा गर्दै सुन बोकाएर घरमा लैजान मनाए।

काठमाडौँ इतुमबहाल  स्थित आफ्नो घरमा उनले गुरुमापालाई लुकाएर राख्ने थाले। गुरुमापालाई उनी सधै खुवाउथे तर मानिसको मासुको गन्ध पाएको गुरुमपाले लुकिछिपी स-साना बच्चाहरू खान थाले। वर्षौं बित्दै गयो, मानिसहरुले गुरुमापाका बारे पनि थाहा पाउन थाले, अनि संग-संगै बच्चाहरू हराउने क्रम पनि बढ्दै गयो।  गुरुमापाले नै बच्चाहरू खान थालेको यकिन भएपछि मानिसहरुले उनलाई पक्रेर अब उप्रान्त बच्चाहरू नखाने, उपत्यकाको रक्षा गर्ने सर्तमा उनलाई बर्षको एकचोटी चौरासी व्यंजन भोजन गराउने कबुल गरेर सहरदेखि बाहिर टुंडिखेलमा बस्न दिए।

तर फेरि केहि समयपछि घटना पुन: दोहोरिनल थाल्यो , घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्नका लागि अनेक उपायहरु खोज्न थाले । त्यसपछि त्यस राक्षसलाई थुप्रै घोडाले कुल्चाएर मारिएको थियो र उनलाई त्यहि गाडिएको छ भन्ने किम्बदन्ती रहेको छ। फागुपूर्णिमाको मध्यरातमा प्रत्येक वर्ष काठमाडौँको टुँडिखेलमा गुरुमापा राक्षसलाई अहिलेपनि सिङ्गै रागो लगायत चौरासी व्यञ्जनयुक्त भोजन गराइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?