अब पेट्रोलको पैसा नगदमा होइन डिजिटल माध्यमबाट तिर्न सकिने

लोकपथ
91
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग सम्झौता गरेको छ । डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रम सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको हो ।

उक्त सम्झौतामा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको तर्फबाट अध्यक्ष लिलेन्द्र प्रसाद प्रधान तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।

उक्त हस्ताक्षर कार्यक्रममा बैंकका उच्च पदस्थ अधिकारी एवं पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सम्झौता पश्चात नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन सँग आवद्ध पेट्रोल पम्पहरुले POS, QR, लगायत अन्य डिजिटल भुक्तानी उपकरणको प्रयोग गरि ग्राहकलाई बिक्री गरेको तेल खरिदको भुक्तानी डिजिटल प्लेटफर्म मार्फत सरल र विश्वासिलो तरिकाले लिने सुविधा प्रदान गर्नेछन् ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले Green Economy लाई टेवा पुर्याउने बैंकको रणनीति अनुरुप बैंकले विभिन्न संघसंस्थाहरु संग समन्वय गरि डिजिटल कारोबारहरुको सम्झौता गरिरहेको जानकारी दिए । साथै उनले वास्तविकरुपमा डिजिटल्ली स्मार्ट बैंक बन्ने दीर्घकालिन लक्ष्यका साथ बैंकले परिमार्जित र परिस्कृत डिजिटल सेवा सुविधाहरु तथा सचेतना कार्यक्रमहरु आफ्ना ग्राहकलाई प्रदान गरिरहेको अवगत गराए ।

त्यस्तैगरी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले देशको वार्षिक झण्डै २ खर्वको तेल खरिद बिक्री कारोबारलाई डिजिटल कारोबारमा आवद्ध गराउन माछापुच्छ्रे बैंकको पहलले समग्र अर्थतन्त्रको डिजिटल कारोबारमा सहयोग पुग्ने धारणा व्यक्त गरे । साथै उनले पेट्रोलियम पदार्थको बिक्रि गर्ने विक्रेता एंव खरिद क्रेता दुवै पक्षले क्यूआरकोड तथा अन्य डिजिटल माध्यमहरु खोज्ने हुँदा बैंकसँगको सम्झौता पश्चात सहज र सरल रुपमा सेवाग्राहीलाई डिजिटल भुक्तानी सेवा पुग्नेमा आफु विश्वस्त रहेको बताए ।

सम्झौता पश्चात बैंकले विभिन्न चरणमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन सँग सम्बद्ध व्यक्ति तथा पेट्रोल पम्पहरुमा डिजिटल सचेतना कार्यक्रमहरु समेत सञ्चालन गर्नेछ ।

माछापुच्छ्रे बैंकले डिजिटल सेवा प्रदान गरेसँगै दैनिकरुपमा उल्लेख्य मात्रामा नगद कारोबार हुने पेट्रोल पम्पहरुमा खुद्रा पैसाको कारोबारको झन्झट, नक्कली नोटको कारोबार नियन्त्रण तथा नगद व्यवस्थापनमा सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?