सञ्चय कोषमा आबद्धलाई एक दशकयताकै बढी मुनाफा

लोकपथ
42
Shares

काठमाडौं । कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताले विगत एक दशकयताकै बढी मुनाफा पाएका छन् ।

कोषले गत आर्थिक वर्षमा गरेको नाफाबाट सञ्चयकर्तालाई आर्थिक वर्ष २०६८/६९ यता सबैभन्दा बढी मुनाफा वितरण गरेको हो । गत आर्थिक वर्ष २०७८÷७९मा साढे पाँच अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएपनि कर्मचारीलाई दिने मुनाफा पनि कोषले बढाएको हो ।

गत आर्थिक वर्षमा पाँ अर्ब ५६ करोड १६ लाख रुपैयाँ नाफा कमाएको कोषले जानकारी दिएको छ। सो नाफा मध्ये चार अर्ब ६० करोड ४६ लाख रुपैयाँ सञ्चकर्तालाई वितरण गरिएको कोषले जानकारी दिएको छ । आर्थिक वर्ष २०६५/६६ देखि सञ्चयकर्तालाई मुनाफा वितरण गर्दै आएको कोषले सञ्चयकर्ताको बचत र कोषको नाफाको आधारमा मुनाफा वितरण गर्दै आएको छ ।

दशकयता कै बढी नाफा वितरण

कोषले कोषमा रकम जम्मा गर्ने कर्मचारीलाई विगत १० वर्षयताकै बढी मुनाफा उपलब्ध गराएको छ। कोषले गत आर्थिक वर्ष २०७८/७९को मुनाफा बाँडफाँड कोषमार्फत आर्थिक वर्ष २०६८/६९ यताकै बढी मुनाफा दिएको हो। सोबीचमा कोषले आर्थिक वर्ष २०७५/७६ मा एक दशमलव १५ प्रतिशत उच्च मुनाफा वितरण गरेको थियो। त्यस्तै आर्थिक वर्ष २०७४÷७५मा एक दशमलव एक प्रतिशत र आर्थिक वर्ष २०७६/७७ मा एक प्रतिशत उच्च मुनाफा वितरण गरेको थियो । उक्त आर्थिक वर्ष र गत आर्थिक वर्ष २०७८/७९ बाहेकका वर्षहरूमा कोषले कहिल्यै पनि एक प्रतिशतभन्दा बढी मुनाफा वितरण गर्न सकेको थिएन ।

गत आर्थिक वर्ष २०७८/७९मा कोषमा रकम जम्मा गर्ने कर्मचारीले एक दशमलव दुई प्रतिशत मुनाफा पाएका हुन् । उक्त मुनाफा विगत १० आर्थिक वर्षको तुलनामा अहिलेसम्मकै बढी हो । आर्थिक वर्ष २०६८/६९मा शुन्य दशमलव ७५ प्रतिशत मुनाफा वितरण गरेको कोषले गत आर्थिक वर्ष २०७८/७९को उच्च मुनाफा एक दशमलव दुई प्रतिशत वितरण गरेको हो । सोही आर्थिक वर्षमा कोषले कर्मचारीलाई एक दशकयताकै न्यून ब्याजदरमा सापट पनि उपलब्ध गराएको छ। विशेष सापटी योजनामा कोषले विगत १० वर्षयताकै न्यून ब्याजदरमा सापट दिएको हो । गतवर्ष विशेष सापटी योजना अन्तर्गत सात दशमलव छ प्रतिशत ब्याजदरमा सापटी उपलब्ध गराइएको छ । उक्त ब्याजदर विगत दशकयताकै न्यून हो । सोभन्दा अघि विशेष सापटीमा आर्थिक वर्ष २०७७/७८, आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७२/७३ मा न्यूनतम ब्याजदरमा सापट उपलब्ध गराएको थियो । ती तीन आर्थिक वर्षमा कोषले आठ दशमलव २५ प्रतिशत ब्याजदरमा सापट उपलब्ध गराएको कोषको विवरण छ । उक्त तीन आर्थिक वर्षबाहेकका आर्थिक वर्षमा कहिल्यै पनि नौं प्रतिशतभन्दा कम ब्याजदरमा सापट उपलब्ध गर्न सकेको थिएन ।

आर्थिक वर्ष २०६८/६९मा नौं दशमलव २५ प्रतिशत ब्याजदरमा विशेष सापटी दिएको थियो । आर्थिक वर्ष २०७०/७१ मा र आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७६/७७ सम्म विशेष सापटीको नौं दशमलव पाँच प्रतिशत ब्याजदरमा सञ्चयकर्तालाई विशेष सापटी उपलब्ध गराइएको थियो । कोषमा आबद्ध कर्मचारीहरूले पाउने मुनाफा सम्बन्धित कर्मचारीकै खातामा जम्मा गर्छ। कोषले सञ्चयकर्ताको खातामा रकम जम्मा गरेसँगै गत आर्थिक वर्ष २०७८/७९ का लागि कोषले सञ्चयकर्तासँग कर्जामा लिएको ब्याजभन्दा सञ्चयकर्तालाई कोषले दिएको ब्याज बढी भएको कोषले जानकारी दिएको छ ।

गतवर्ष कोषले सञ्चयकर्ताहरूलाई विशेष सापटी योजनामा सात दशमलव छ प्रतिशत ब्याजदरमा कर्जा दिएको छ । सञ्चयकर्तालाई कोषले छ दशमलव पाँच प्रतिशत ब्याजदर दिँदै आएको छ । त्यसमा थप एक दशमलव दुई प्रतिशत मुनाफा दिएपछि सञ्चकर्ताले पाउने ब्याज बढी देखिन्छ ।

औषधोपचारसहितका सुविधा

सञ्चय कोष ऐन २०१९ अनुसार कोष सञ्चालक समितिले प्रत्येक आर्थिक वर्षमा कमाएको नाफालाई सञ्चयकर्ता कल्याणकारी कोष, मुनाफा बाँडफाँड कोष, जगेडा कोषलगायतमा छुट्याउँदै आएको छ ।

सञ्चयकर्ता कल्याणकारी कोषको रकमबाट औषधोपचार सोधभर्ना, सुत्केरी तथा स्याहार खर्च, काजकिरिया खर्च, दुर्घटना क्षतिपुर्ति लगायत रकम दिँदै आएको छ ।

मुनाफा बाँडफाँड कोषमार्फत सञ्चयकर्ताको बचत र कोषले कमाएको नाफाको आधारमा मुनाफा वितरण गरिन्छ। वितरण गरिने मुनाफा सम्बन्धित सञ्चयकर्ताको खातामा प्रत्येक वर्ष जम्मा गरिन्छ । सोबाहेक कोषले सञ्चयकर्तालाई सुत्केरी तथा शिशु हेरचाह योजना उपलब्ध गराउँदै आएको छ । सो सुविधान प्रतिप्रसुती सात हजार पाँच सयका दरले वर्षमा दुई पटक सम्म उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै काजक्रिया अनुदान खर्च उपलब्ध गराउँदै आएको छ । सो खर्च सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई ४० हजार रुपैयाँ दिँदै आएको छ । त्यस्तै दुर्घटना क्षतिपूर्ति योजनामा सेवाकालमा सञ्चयकर्ताको दुर्घटनामा परी मृत्यु वा पूर्णअंगभंग भएमा दुई लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । त्यस्तै सञ्चयकर्तालाई औषधोपचार योजनामा सामान्य औषधोपचारमा वार्षिक एक लाख रुपैयाँ र घातक रोगको हकमा १० लाख रुपैयाँसम्म उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?