सरकारले ट्याक्सीको भाडा बढायो, अब एक किलोमिटर बराबर ५३ रुपैयाँ तिर्नुपर्ने

काठमाडौं ।  नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाएको छ । 

विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनी हालसम्म दुई हजार २ सय ट्याक्सीमा नयाँ भाडा समायोजन गरिसकिएको बताए । ‘मिटर र प्रिन्टर मेसिन ठीक छ वा छैन हेरेर मिटरमा भाडा समायोजनका काम अगाडि बढाएका छौँ’, उनले भने ।

विभागले दैनिक ८० देखि  एक सय ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ । पहिला ट्याक्सी चलाउन थालेपछि एक किलोमिटर गुड्दा ५० मिटरमा उठ्ने गरेकामा नयाँ भाडा समायोजन गरेपछि एक मिटरमा ५३ उठ्छ ।

यसअघि विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा प्रिन्टर मेसिनसमेत जडान गरिसकेको छ । 

नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतम ट्याक्सीमा भाडा समायोजन गरेसँगै ट्याक्सी व्यवसायीलाई थोरै भए पनि राहत हुने बताए । ‘समायोजन गरेको भाडा वैज्ञानिक भाडा होइन, भाडा बढाउने विषयमा सङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण गरिरहेको छ’, उनले भने ।

 यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजार ६ सय मिटर ट्याक्सी सञ्चालनमा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?