दलिनको पुरानो किलामा झुण्डिएको क्यालेन्डरले पुस १३ गतेको जनाउ दिएको थियो ।
***
मौसम चिसो थियो ।
पुसको ठिहिर्याउने जाडो ।
‘भुराभारीको जाडो बाख्राले खान्छ, यिनलाई धेरै जाडो हुँदैन’ हजुरआमाको मुखबाट सुनेकी हुँ मैले यो वाक्य ।
हरेक वर्षको जाडोमा उलनका बाक्ला म्याक्सी, भोटा, दौरा, केही थान पेटिकोट सिलाउन काँधमा गह्रौं कल (मेशिन) बोकेर आउने भुन्टे दमाइसँग आमै यसै भन्नुहुन्थ्यो । तर मलाई निकै नै जाडो हुन्थ्यो ।
एसएलसीको तयारीको लागि माघको पहिलो हप्ताबाट कक्षा १० मा पढ्ने विद्यार्थीलाई बिहान ६ बजेदेखि अनिवार्य रुपमा स्कुलमा उपस्थिति हुनुपर्ने र साँझ ४ बजेमात्रै घर जाने वातावरण बनाउन विद्यालयले तयारी गरिरहेको थियो ।
किनकी हामी आईरन गेटको मुखैमा थियौँ । यता घरको तयारी बेग्लै थियो । “यसलाई गणित, अंग्रेजी र विज्ञान तीनै विषय आउँदैन दाइ ! रामजी सरले ट्युसन पढाका छन् रे हाल्दिउँ” छुट्टिमा घर आएका बेला यहि वाक्य अंकलले २५ चोटी जति दोहोर्याउनुहुन्थ्यो । ‘खानु न खुट्नुसँग दौडिनुपर्ने यो जाबो पढाइ–सढाई’ हजुरआमा नातिनीहरुको दौडधुप देखेर टिप्पणी गर्नुहुन्थ्यो । “नपढेर नि के गर्नु ? यो विधी दुख पाइयो हाम्ले ।” पिँढीको छेउबाट आमा गुनासो गर्नुहुन्थ्यो । बा लैनो भैंसीको सेतो दुध क्यानमा भर्दै सुनिरहनुभएको थियो । हजुरबा आँगनीको छेउमा बसेर डोको बुन्न काम्रा ताछ्दै हुनुहुन्थ्यो ।
***
“तँ भन्न जा । ”
दिदीले मलाई झण्डै भर्याङबाट खसालिदिउँला झैं गरी धकेली ।
नाई तँ ठूली पनि छेस् जा न भन् । मैले दिदीकै कोर्टमा जबरजस्त बल हुत्याएँ ।
दिदी अनकनाई ।
मलाई पनि डरले जित्यो ।
***
सुन्नेवित्तिकै उमंगित हुने विषय अझ भनौँ ‘एक्स्ट्रा करिकुलम एक्टिभिटिज अन्तगर्त पर्ने खेलकुद, पिकनिक, शैक्षिक भ्रमण, अवलोकन भ्रमण, फिल्ड भिजिट, टुर जस्ता अतिरिक्त विषयमा हामी दिदीबहिनीलाई बाबाले हरेक चोटी ‘नजाओ’, ‘हुँदैन’ मा टुंगाइदिनुहुन्थ्यो ।
कल्पनाको आकाशमा उडिरहेका सपनाहरु दुर्घटित गराईदिनुहुन्थ्यो ।
हाम्रा बाल मष्तिस्क बाको ‘हुँदैन’ लाई सजिलै स्विकार्न सक्दैनथ्यौँ । बरु बलिन्द्र आँशु झारेर मनको वह पोखाईदिन्थ्यो । बाका यिनै नमीठा ‘रिजेक्सन’को सामाना गर्ने साहस मैले जुटाउन सकिन ।
‘‘एसएलसी दिने सबैजना शैक्षीक भ्रमण जाँदैछन् । हामीलाई पनि पठाउनुस् न । १५ गतेको भ्रमण सकेर आएपछि विद्यानष्ट राम्ररी पढ्छौँ । बजारसम्म पनि जाँदैनौं ।’’ यसो भन्न जा ।
दिदीले अलौटा मकै चपाउँदै ‘यो कुरो चाहिँ हो है भन्ने पाराले मलाई ‘कन्भिन्स’ गरी ।
अलिकती हिम्मत जुटाएर आँगनमा बसेका बालाई मतानबाट चिहाएर हेरे ।
अहो ! कालो वर्णको बाबा त झनै डरलाग्दो देखिनुभयो । मनमनै “हामी जान्छौं नि ! हुन्छ ?” भनेर सोधि हेरें ।
उहाँले जुरुक्क उठेर ‘हुँदैन’, ‘जान्नी हुन्छेस्’ भनेर हप्कीदप्की लगाएको सम्झेरै सात्तोपुत्लो उड्यो ।
मेरो आँट हराए ।
***
माघ महिनादेखि कडा मेहनतका साथ पढाउने भनेकाले हाम्रो स्कुलले पुसको १५ गते एक दिने शैक्षिक भ्रमण लैजाने योजना बनाएको थियो । आदेशात्मक ढंगले पालेदाईले सूचनापाटीमा टाढैबाट देखिने गरी मोटामोटा अक्षरमा ‘प्रति विद्यार्थी एक हजार रुपैयाँ लाग्नेछ, बिहान ७ बजे बजारको बस स्टेसनमा आउनुपर्नेछ ।’ भनी लेखेर टाँसेका थिए ।
साथीहरु फुरुङ्ग थिए ।
आहा ! ‘मस्ती हुने भयो ।’ सम्झने चिच्याइ ।
के लाउने ओई ? सावित्रीलाई हेर्दै मेलिनाले आँखा सन्काइ ।
के के लैजाने हो ? कट्याककुटुक खाइरहनुपर्छ आफूलाई त । मनिषाले प्रश्नसँगै आफ्नो ईच्छा तेर्साइ ।
सरिता र मूना चाख दिएर सुनिरहे ।
“तँ मुरली मकै ले’र आइजो । म सुन्तला ल्याउँछु ।’’ मौनता तोड्दै मूनाले अह्राइ ।
“ओइ ! मलाई बमिट हुन्छ । ह्यान्डिप्लास्ट नाइटोमा टाँस्दा बमिट हुन्न रे ! काकीले भनेको ।” पुस्करको बहिनीले भरोसा व्यक्त गरी ।
हामी दिदीबहिनी भीडमै हरायौं । तैं चुप मै चुप भयौं । हामीसँग पैसा थिएन । हाम्रा बाले तुरुन्त पैसा दिनेवाला थिएनन् । हामी प्रस्ताव लैजाँदै अघिल्ला धेरैपटक बाको थर्काईमा परिसकेका थियौँ ।
कुकुरको पुच्छर बांगो देख्दा पनि एक हलको मेलो हाँस्ने हामी अँध्यारा भयौं । हाँस्नै सकेनौं । हाम्रा बाले किन पैसा कमाएनन् ? गरिब भए किन हामीलाई जन्माएका त ? दिदी समयसमयमा निस्सासिन्थी र आक्रोश पोख्थी ।
आर्थिक अभावकै कारण कयौंपटक हामी हाँस्नै पाएनौं । भीडमा सामेल हुनै पाएनौं । त्यसैको प्रतिशोध आँखी भौ खुम्च्याउँदै ओकलिरहन्थी उ ।
***
त्यो दिन स्कुलबाट फर्किदा बाटोभरी अरु साथीहरु पनि शैक्षीक भ्रमणको विषयलाई लिएर गफिए । हिप हप हुर्रे भन्दै उफ्रिए । “एसएलसी पास भएपछि भेट होला /नहोला । सँगै पढिएला/ नपढीएला । यो एक दिन हाम्रो दिन हो । मस्ती गर्ने हो ।” भिड गुञ्जायस हुन्छ ।
हामी दिदीबहिनी स्रोता भयौं । निष्क्रिय किसिमको स्रोता । उनीहरु शैक्षीक भ्रमणसँग सम्बन्धित भएर रोचक किस्साहरु सुनाइरहन्थे । कुन सिटमा बस्ने ? कुन गितमा नाच्ने ? अन्ताक्षरी कसरी खेल्ने ? केटाहरुको पेन्टको पेटीघरमा कागजको पुच्छर कस्ले ? कहाँ ? कुन ठाउँमा ? कति खेर ? हालिदिने । यस्तै यस्तै …
उमगिंत हुने यि प्रसंग सुनेपछि हाम्रो मनमा प्रतिक्रियाहरु उब्जिन्थे । दोहोरी खेल्थे । आफू पनि हार्थे हामीलाई पनि पराजित गराएर जान्थे ।
***
उता स्कुलले निर्णय गरिसक्यो । पैसा बुझाउनुपर्ने मिति समेत लेखेर सूचना टाँसीसक्यो । साथीहरु कल्पनाको संसारमा पखेटा फिजाएर हावामा उड्दै कावा खान थालिसके । उनीहरु बेपर्वाह रमाएकोे देखेर हामी दिदीबहिनीको मनमा चिसो पस्थ्यो ।
टुर जाने र नजानेको बीचमा ‘अनसिन ग्याप’ सिर्जना भइसकेको थियो । यता हामी वास्तविकताको भर्याङ चढेर चिहाउथ्यौँ । अहँ कुनै विकल्प छैन । बा सुक्को छैन भन्दै टार्थे। आमासँग पैसा हुन्थेन । कसलाई भन्ने ? त्यसैले हामीलाई बा देखि औधी रिस उठ्थ्यो ।
३ सय चौसठ्ठी दिन मरिमेटेर काम गर्ने किसानको सन्तानले किन एक दिन निष्फिक्री घुम्न /रमाउन पाउदैन ? अलिसान ठड्याउनेहरु काम गरेको पनि देखिदैन । कस्तो व्यवस्था हो यो ? किन हाम्रा बाले एउटा सुर्कोमा लसुन रोपेर समय गुजारे, ब्यापार गरेको भए ? यस्तो गरीब बासँग आमा कसरी खुसी भईन् ? आमा साँच्चीकै खुसी छिन् कि खुसी भएको नाटक गर्छिन् ? जसले रातदिन दुख गर्छ उसैले एक दिन रमाउन सयौँ चोटी सोच्नुपर्ने ? कस्तो परिपाटी हो यो ? यस्तो परिवारमा किन जन्मियौँ हामी ? हाम्रो व्यग्र गुनासो थियो । यी प्रश्न मनमा आगो सल्काउथे र बाल मष्तिस्कले देखेका केही थान सपनाहरु ध्वस्त हुनेगरी आगलागी गराउथे ।
उमेरसँगै हुर्केका चाहनाहरुले निरन्तर घचघचाइरहन्थ्यो । तर परिस्थितीहरु चिमोटिरहन्थे अनि लखेटिरहन्थ्यो ।
मध्यम स्तरको पारिवारिक पृष्ठभूमि भएका हामी दुई दिदीबहिनी एउटै कक्षामा पढ्थ्यौँ । दिदी म भन्दा होंची । काली थिइ । बलिइ थिइ । एकफेर ६२ केजी भण्टाको भारी बोकेर करिब ३ किलोमिटरको दूरीमा रहेको बजारमा पुर्याएर मात्रै बिसाएकी थिइ उसले ।
‘आफूभन्दा २० किलो बढी ।’
बाफ्रे ! मैले हौस्याइदिएकी थिएँ ।
किनकी म लुरी पनि थिएँ ।
उसलाई हौसाएरै काम लिने बानी जो परेको थियो ।
रुघाखोकीले पनि ७ दिन गलाइदिने ज्यान थियो मेरो ।
त्यसैले म सजिलो काम रोजिहाल्थेँ । स्कुलमा केटाहरुसँग पनि मेरो पाट्टपिट्ट भइरहन्थ्यो । दिदी र म मा जम्माजम्मी १४ महिनाको फरक थियो । तर उ जवान देखिन्थी । हृष्टपुष्ट र कसीली थिई । म चाहिँ ‘टम ब्वाइ फिगरको’ । दिदीको भन्दा मेरो पढाइ राम्रो थियो । चिन्नेहरुले ‘दिदीभन्दा बहिनीचाहिँ बाठी छे’ भन्थे ।
म दिदीलाई कस्को प्रेम प्रस्ताव स्विकार्ने ? कसलाई नकार्ने वा थर्काउने ? कसको धज्जी कसरी उडाउनेसम्मका ‘टेक्निक’ दिन्थे ।
दिदी र म नमिल्ने होइनौं । तर झगडा गर्न बढीजसो सहमति जुट्थ्यो हाम्रो । अक्सर कोपार्ने चिथोर्ने गर्दा दुवैको नाकको फूली हराइरहन्थ्यो । याद भएसम्म हाम्रो अर्को एउटै कुरामा सहमति जुट्थ्यो ।
घरमा पैसा माग्ने ।
स्कुलले यो शीर्षकमा यति रुपैयाँ आवश्यक परेको हुँदा घरमा मागेर पैसा ल्याउनु भनेपछि हामी असाध्यै मिहिन ढंगले सम्भावनाहरु केलाउँथ्यौं । योजनामुताबिक बा, आमाका अगाडि प्रस्ताव पेश गरथ्र्यौ ।
आवश्यकता हेरेर म त्यसलाई परिमार्जन गर्थे । अर्थात् यदि यो पैसा दिनुभएन भने हाम्रो पढाइ रोकिन्छ, स्कुलले रेस्टिगेट गर्छ, फेल गरिदिन्छ, सरले कुखुरा बनाउनुहुन्छ। यस्तै यस्तै । त्यसपछि बल्ल बाले हाम्रा सामान्य र अत्यावश्यक फर्माइस पुरा गर्थे ।
१३ गते त्यतिकै बित्यो ।
हामी दुवै बासामू यो प्रस्ताव लैजान असमर्थ भयौँ ।
***
पुस १४ गते ।
बाख्रा बाँध्ने गोठमा लिउन हाल्न लागिएको थियो । बाबा माटो मुछ्दै आमा गाह्रोमा लिपपोत गर्दै । हजुरआमा गाईगोठमा । हजुरबुबा आखत हेराउँदै हुनुहुन्थ्यो । हामी स्कुल जान कपाल कोर्दै थियौँ ।
“जान बाबालाई भन् ।न पठाइ पो हाल्छन् कि !” दिदीले रुन्चे अनुहारमा दोहोर्याइ ।
रातभर मनमा खेलेका अनेक तर्क वितर्कको साक्षी बनेर बसेका अनिदो आँखा हत्केलाले छोपेर ‘तँ भन् न !’ भन्ने संकेत गरें ।
जसोतसो साहस जुटाएर बाबालाई भन्न साहस जुटाएँ ।
बा !
बाले माटो मुछ्दै गरेको साबेल हिलो माटोमा टेकाएर प्रतिप्रश्न गरे ।
“किन बोलाको?”
लौ बर्बाद् ।
मैले अतालिएर भने, ‘कलम चाहिएको थियो ।’
दराजनेर पुरानो कोटको गोजीमा हाम्रा लागि रिफिलहरु र केही डटपेन राखिदिनुभएको थियो । संकेत गर्दै ‘झिक्न’ भन्नुभयो ।
गलत प्रश्न तेर्साएर गाली खानबाट बचेकोमा मलाई खुसी लाग्यो ।
फ्रक लगाउँदै गरेकी दिदीले भने दराजको ऐनाबाटै आँखा तरी ।
''तैं भन् न त ?'' मैले उसैलाई जिम्मेवारी सुम्पिन चाहेँ ।
''भो बरु नजाने । गाली गर्छन् बाले ।'' उ तर्किइ ।
यसोउसो गर्दा घडीले ९ बजेको संकेत गर्यो ।
हामी स्कुल गयौँ ।
***
घरबाट निस्कनेबित्तिकै दोबाटोमा भेटेका साथीहरुको प्रश्न तेर्सियो पैसा ल्यायौ त ?
“छैन ।” हाम्रो आवाज मलिन भयो ।
यता जाउ उही कुरा । उता जाउ उही कुरा । हामी दिक्क भयौं । निराश भयौं । बेस्सरी चित्त दुख्यो । हाम्रा बा संसारका सबै बाहरु मध्ये लोभी ‘कदर्य’ कथाको पात्र जस्तै । दुई दिदीबहिनीको आँकलन एउटै थियो ।
मैले मनमनै सोचें कसैसँग सापटी पो माग्ने कि ?
तिर्न सकिएन भने ? फेरि अर्को मनले नराम्ररी पछार्यो ।
एक.
दुई..
तीन…
चार….
पाँच…..
छ……
सात …….
पाले दाईले अब आठौं घण्टी बजाए ।
मेरो निधारदेखि टाउको पछाडिसम्मको भाग दुख्यो । उजेली, चम्पा जसको आमामात्रै छिन् । गिट्टी कुट्छिन् । त्यही पैसाले उनीहरु शैक्षीक भ्रमण जाने रे । पोहोर ९ कक्षामा हुँदा पनि पोखरा भ्रमण गएका थिए ।
अनि हामी दिदीबहिनी चाहिँ ?
हाम्रा त बा आमा नै छन् हामीलाई चाहिँ किन भ्रमण नपठाउने ?
हाम्रा बाबालाई भगवान्ले बनाउँदा किन रिसाहा, लोभी, डरलाग्दो बनाए ?
अनेक तर्कनाले मनका कुनाकाप्चा कब्जा गरे ।
रोशन सरले सामाजिक विषय पढाउँदै गर्दा बाहिर चर्को हल्ला सुनियो ।
सरले ढोकाबाट चिहाउनुभयो ।
ए ! भोली शैक्षीक भ्रमण जाने हुनाले आज सबैलाई एकै ठाउँमा भेला पारेर केही नियम सुनाउन प्रिन्सीपल सरले ग्राउण्डमा सबैलाई डाक्नुभएको रहेछ । सरले सूचना प्रेषित गर्नुभयो ।
सबैजना बोलावट भएकोतिर हान्निए ।
दिदी र म झोला भिरेर घरतर्फ लाग्यौँ ।
***
भारी मन लिएर धुलाम्मे बाटो घर आइपुग्यौं ।
घरमा बा थिएनन् ।
आमा अझै घरको गाहृोमा लिपपोत गर्दै थिइन् ।
बालाई ‘शैक्षीक भ्रमण जाने ' प्रस्ताव नै नराखी हाम्रा सबै समय बितिरहेका थिए ।
बा राति आइपुगे । दुधको कित्ली धारामा राख्दा बजेको आवाजले हाम्रो मनमा आशा पलायो ।
तर बा यति कडा थिए की उनको आवाजले हामी लुरुक्क हुन्थ्यौँ ।
त्यो दिन पनि दिदी र म चुपचाप भयौँ ।
त्यो रात त झनै लमतन्ने भएको भान भयो ।
***
पुस १५ गते
बिहान ५ बजे पिसाबले बेस्सरी च्यापेपछि म ब्युझेँ । यसो हेर्छु त दिदी बिउँझै रहिछ ।
मैले हेरेँ मात्रै ।
उ कोल्टे परी ।
साथीहरुले दोहोर्याइ तेहर्याइ भनेका कारण स्कुलको बस बजारबाट ७ बजे गुड्छ भन्ने कण्ठस्थ थियो ।
बिहानको ६ बज्यो । चिया खान मन लागेन । बोल्न पनि मन थिएन । दिदी मलाई हेर्थी म उसलाई ।
मनमा अनेक तानाबाना पौठेजोरी खेल्दै थिए ।
अघिल्लो दिनको झैँ धारामा दुधको क्यान बज्यो ।
बा आएछन् । मनले रिसाउँदै स्विकार्यो ।
ए छोरी हो ?
लौ ! बा आफैँ बोलाउँछन् ।
दुबै दिदीबहिनीले बालाई हेर्यौँ ।
बाले भने, ‘यी तिमीहरुको अंग्रेजी पढाउने मास्टर प्रदिप पाण्डे सरले तिमीहरुमध्ये एकजनालाई शैक्षिक भ्रमणको लागि एक हजार रुपैयाँ दिने भएछन् । ल मैले हजार हालिदिएँ । प्रिन्सीपल सरले भनेको तिमोरु दगुरेर बजार जाओ रे ! बाले टोपी खोलेर टाउको कन्याउँदै एकै श्वासमा भने ।
ओ हो !
जय पशुपतिनाथ !
झण्डै मेरो पिसाब फुस्किएन ।
दिदी र म एकअर्कालाई हेरेको हेर्यै भयौँ ।
हामी त हाँस्न पनि सकेनौँ ।
हतारिएर कोठामा गायौं र लुगा लायौं ।
“त्यो पाण्डे सरलाई भगवान्ले रक्षा गरुन् ।” मैले सर्टको टाँक लगाउँदै भने ।
दिदी बोल्नै सकिन । हाँसी मात्रै ।
कि पाण्डेसरले तँलाई मन पराउँछन् ? मैले बाठी हुनुको विशेषता आशंकामार्फत चरितार्थ गरें ।
दिदी रुँदै हाँसी । म पनि उसैगरी ।
***
दगुरेर बजारको बस स्टेसन पुग्यौँ । सबैजना बजारमा आइसकेका । सबै खुसी । दिदी र म पनि खुसीले चिच्चायौँ । तर मलाई खुसीले हो या अरु केही कारणले त्यो पुरै समय पिसाब आउला आउला जस्तो मात्रै भइरह्यो ।
हामी फुर्केको, उफ्रेको , हाँसेको नाचेको दृश्य नजिकैबाट उनै पाण्डे सरले नियालिरहेका रहेछन् ।
मैले हतपत्त सतर्क भएर सरलाई सम्मान भावले हेरें र शिर निहुराएर भने ।'' धन्यवाद् सर ।''
सरले नमिलेका दाँत देखाउँदै दिदी र मलाई धाप मारेर भन्नुभयो ।
इट्स ओके “हेप्पी न्यू इयर”
‘सर आज त पुस १५ गते हो ।’ मैले रुन्चे स्वरमा सरलाई सच्याउन चाहेँ ।
सरले भन्नुभयो, ‘आज अंग्रेजी नयाँ वर्ष हो, जनवरी फस्र्ट ।’
दिदीले पनि हात जोडेर कृतज्ञता व्यक्त गरी ।
सरले शालीन ढंगले हल्का मुस्कुराउँदै प्रष्ट्याउनुभयो , ''नयाँ वर्षमा केही राम्रो काम गरेर शुरुवात गरौँ भनेर 'प्लान' गर्दै थिएँ । तिमीहरुका बाबाले पैसाको अभावमा तिमीलाई शैक्षिक भ्रमण नपठाउने भन्ने सुनें । अनि 'सर्पोट' गरेको । त्यस्तो केही नसोच ।
ल इन्जोय योर ट्रिप ।
‘वान्स अगेन, ह्याप्पी न्यू इयर ।’
हामी निशब्द भयौँ ।
***
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया