काठमाडौं। वाइडबडी विमान खरिद प्रक्रियामा अनियमितता भएको भन्दै बहालवालासहित चार मन्त्रीलाई कारबाहीको सिफारिस गर्ने भएको छ ।
विमान खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले बहालवाला पर्यटनमन्त्री र तीन पूर्वमन्त्रीलाई कारबाही गर्ने भएको हो । विमान खरिदको छानबिन गरिरहेको उपसमितिले तयार पारेको प्रतिवेदनमा बहालवाला मन्त्री रवीन्द्र अधिकारीसहित चार जनालाई कारबाहीको सिफारिस गरिएको हो ।
त्यस्तै बहालवाला मन्त्री अधिकारीसहित पूर्वमन्त्रीहरू जीवनबहादुर शाही, दिलनाथ गिरी र जितेन्द्र नारायण देवलाई कारबाहीको सिफारिस गरिएको हो । यता विमान खरिद प्रक्रियामा अन्य पूर्वमन्त्रीहरू मुछिए पनि चार जनाको कार्यकालमा शङ्कास्पद गतिविधि भएकोले कारबाही सिफारिस गरिएको बताइएको छ ।
उपसमितिले तयार पारेको प्रतिवेदनमा ५० भन्दा बढी निष्कर्ष र सिफारिस गरिएको छ। ५७ पृष्ठ लामो प्रतिवेदन बुधवार दिउँसो ११ बजे मात्र समितिलाई बुझाउने तयारी गरिएको पनि स्रोतले जानकारी दिएको हो ।
उपसमितीले सोमवारसम्म तयार पारेको प्रतिवेदनमा कमिसन लगायत हालसम्म पेस नभएको प्रमाणका आधारमा ३ अर्ब ७७ करोड रुपैँया अनियमितता भएको ठहर गरिएको छ । तर रकम अझै बढ्न सक्ने पनि बताइएको छ ।
अहिलेसम्म नेपाल वायुसेवा निगम र मन्त्रालयले विमान खरिदबिक्रीको सक्कल कागजात उपलब्ध गराइसकेका छैनन्। उक्त कागजात आउँदा अनियमितताको रकम खुल्ने जनाएको छ।
प्रतिवेदनमा महाप्रबन्धक सुगरत्न कंशाकारलाई तत्कालै निलम्बन गर्न सुझाव दिइएको छ । यता नेपाल सरकार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न सुझाव समेत दिइएको छ। त्यस्तै उक्त प्रतिवेदनमा निगम सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूलाई पनि निलम्बन र कारबाहीको सिफारिस गरिएको छ।
साथै प्रतिवेदनमा वाइडबडी विमान खरिदका लागि भन्दै फ्रान्स भ्रमण गरेका ३८ जनालाई पनि कारबाहीको सिफारिस गरिएको छ। महालेखा परीक्षकको प्रतिवेदनले वाइडबडी विमान खरिदमा प्रक्रियागत अनियमितता भएको उल्लेख गरेको थियो।
प्रतिवेदन अध्ययन पछि लेखा समितिले छानबिन शुरु गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया