एन्फाले फ्रेन्चाईज लिग ‘नेपाल सुपर लिग’ को आयोजना गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले फुटबलको फ्रेन्चाईज लिग आयोजना गर्ने भएको छ । 

मंगलवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको व्यवस्थापनमा आयोजना गर्न लागिएको फ्रेन्चाईज लिग प्रादेशिक अवधारणाका आधारमा हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो लिगमा ७ प्रदेशले भाग लिनेछन् । 

एन्फाले यो लिगको लागि १४ वटा ‘ए’ डिभिजन क्लबका १ सय ४० खेलाडी छनोट गरेर सबै प्रदेशलाई समान रुपले प्रदान गरेर टिम तयार पार्ने पनि जानकारी दिइयो । सिंगल राउण्ड रोबिनको आधारमा खेलाइने यो प्रतियोगितामा २१ लिग र प्ले अफ गरि कुल २५ खेल खेलाइनेछ ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार यो लिग आगामी बैशाख र जेष्ठ महिनामा आयोजना हुनेछ । यसैबीच मंगलवारै एन्फाले लिगको  व्यबस्थापनका लागि नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टसँग सम्झौता समेत गरेको छ ।

त्यस्तै एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टकै व्यबस्थापनमा बिद्यालय स्तरीय लिगको पनि आयोजना गर्ने जानकारी दिएको छ । बिद्यालय लिगमा ११ टिम छनोट गरेर ५५ खेल आयोजना गर्ने एन्फाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?