दीपकराज गिरीलाई फिल्म रिलिज गर्न दशैँ नै चाहिने?

काठमाडौं । आज (मंगलबार) निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेर जानकारी दिए – रोहित अधिकारीसँग मिलेर उनी एउटा फिल्म बनाउँदैछन् । उक्त फिल्ममा उनको अभिनय पनि रहनेछ । जुन फिल्म वि.सं. २०७६ सालको दशैँमा रिलिज हुँदैछ । फिल्मलाई ‘घामपानी’ र ‘गोपी’ का निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्दैछन् ।

यसको अर्थ दीपकराज गिरीको समेत अभिनय रहने उक्त फिल्म दशैँको अवसर पारेर नै रिलिज हुने पक्का भएको छ । केही महिनाअघि मात्र चलचित्र ‘छक्का पञ्जा ३’ को प्रमोसनका बेला भेटिने दीपकराज गिरीले अब आफ्ना फिल्म दशैँमा रिलिज नगरिने बताएका थिए । दीपाश्री निरौला, दीपकराज गिरीले आफ्नो फिल्म दशैँमै रिलिज गर्नु नपर्ने, राम्रो फिल्म भए जहिले रिलिज गर्दा पनि चल्ने भन्दै अन्तर्वार्ता दिइरहेका थिए ।

तर, उक्त भनाइको केही महिना बित्न नपाउँदै दीपकराज गिरीसमेत रहने शीर्षक नजुरेको एक फिल्मको घोषणासँगै आउँदो दशैँलाई रिलिज मिति घोषणा गरेका छन् ।

अहिले सिनेवृत्तमा के चल्न थालेको छ भने, आखिर दीपकराज गिरीलाई फिल्म चलाउन दशैँ नै त चाहिने रहेछ नि, बेकारमा किन हामी दशैँमा रिलिज गर्दैनौँ भन्दै हिँड्नुपर्ने?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?