बुधबार १९ मङ्सिर, २०७५ Thursday, 20 June, 2019

नेपाली सिनेमाको विदेशी बजार? कति सम्भव, कति असम्भव?

फिल्म झुर बनाउने, ठूला गफ गर्ने फिल्मकर्मी

काठमाडौं । केही दिनअघि मिडियामा एउटा समाचार छापियो – नेपाली फिल्म प्रदर्शनका लागि चीनमा पहल गरिने ।

अर्थात्, नेपाली सिनेमा चीनका दर्शकले पनि आफ्नो हलमा हेर्न पाउने । यदि चीनजस्तो ठूलो राष्ट्रमा नेपाली सिनेमा प्रदर्शन भए भने त्यसको लाभ नेपाली फिल्म क्षेत्र, फिल्मकर्मी र सम्रग र राज्यलाई नै हुने थियो । तर, यो ‘पहल’ अहिलेका लागि भने फगत ‘स्वैरकल्पना’ भएको भन्दै कतिपय फिल्मकर्मीले नै भद्दा मजाक बनाइदिए ।


ADVERTISEMENT

बलिउडका ‘सेलेक्टेड’ फिल्म चीनमा चल्न थालेपछि भारतीय मिडियामा करोडौंको व्यापार गरेको समाचार नेपाली फिल्मकर्मीले पनि पढ्न पाए । शायद यसैको प्रभाव हुनुपर्छ, चीनमा फिल्म चल्नका लागि निर्माताहरुले पहल गर्ने कुरा अहिले उठिरहेको छ ।

तर, नेपालको फिल्म बजार र फिल्म मेकिङ यति कमजोर छ कि, घरेलु दर्शकले पनि खुलेर तारिफ गर्न पाएका छैनन् । कसैलाई सिफारिस गर्न यहाँका दर्शकसँग राम्रो फिल्म छैनन् ।
एकातिर पहल गरिनेबारे कुरा भइरहेको बताइन्छ भने अर्कातिर नेपालकै सिनेमाको अव्यवस्थित बजारलाई व्यवस्थापन गरिनुपर्ने बहस पनि शुरु भएको छ ।

त्यसो त पछिल्लो समय काठमाडौं उपत्यकाका हलमा बक्स अफिस लागू भएपछि फिल्मको व्यापार केही व्यवस्थित र पारदर्शी भएको पनि भन्ने गरिएको छ । तर, धेरै फिल्मले राम्रो व्यापार नगर्दा धेरै निर्माताले आफ्नो फिल्मको व्यापार लुकाउने गर्छन् ।

मोफसलका हलमा भने अझै पनि हलवालाले दिएको सूचनाका आधारमा फिल्मको व्यापारको आँकडा लिनुपर्ने अवस्था छ । फिल्म निर्माताहरु मोफसलमा पनि छिटो बक्स अफिस लागू गर्नुपर्ने बताउँदै आएका छन् । नेपालकै फिल्म बजार अव्यवस्थित र निराश भइरहेका बेला के चीनमा नेपाली फिल्मको बजार खोज्न सहज छ?

चलचित्र निर्माता संघका अध्यक्ष एवम् निर्देशक आकाश अधिकारीले चीनमा फिल्म लगाउन पहल गरिने कुराको विरोध गर्नुलाई ‘हात्ती हिँड्दै गर्छ, कुकुर भुक्दै गर्छ’सँग तुलना गर्छन् । नेपाली सिनेमाको बजार विदेशमा खोज्नलाई पहल गरिनुपर्ने उनको दाबी छ ।

‘नेपाली फिल्मलाई विदेशी बजार खोज्नुपर्छ, सम्भावना पनि छ, बजार ठूलो भयो भने हामी पाँच करोड लगानी गरेर पनि फिल्म बनाउन डराउँदैनौँ,’ अधिकारी स्पष्ट पार्छन्, ‘चीनमा त फिल्म कोटाका आधारमा लागू हुन्छ, बलिउडका  पनि कोटाकै आधारमा फिल्म प्रदर्शन हुने हुन्, हामीले पनि बजार खोज्न सक्यौँ भने भोलि पाँच करोडमा फिल्म बनाउन निर्माताहरु तयार हुनुहुन्छ ।’

त्यसो त नेपालको बजार सुधार्न अझै बाँकी नै छ । नेपालमै पनि फिल्मले कति कमाउँछन् भन्ने यकिन हिसाब आइरहेको हुँदैन । निर्देशक अधिकारी नेपालमा मार्केट खोजेपछि मात्र विदेशमा मार्केट खोज्नुपर्छ भन्ने सोच बनाउन नहुने दाबी गर्छन् ।

‘हामी बर्मा जाँदैछौँ, त्यहाँ ७ लाख नेपाली छन्, त्यहाँका नेपालीबीच पनि नेपाली फिल्म प्रदर्शन गर्न सक्यौँ भने फिल्म सहज हुन्छ, अहिलेलाई सबैभन्दा अप्ठेरो काम सेन्सर हो, सेन्सर सहजीकरण गर्न सकियो भने बजार आफै बन्छ’, अधिकारीको धारणा छ, ‘नेपाली फिल्मको स्तर झल्काउने विषयवस्तु पनि छन्, त्यस्ता विषयवस्तुमा हामीले फिल्म बनाउन सक्छौँ, अन्य देशमा पनि कम लगानीका राम्रा फिल्म बनिरहेका छन् ।’

बजारको मार्केट खोजी गर्ने त एकातिर भयो तर अर्कातिर नेपालमा कम लगानीका फिल्म र विषयवस्तु केन्द्रित फिल्मले पनि केही पार लाउन सकेका छैनन् ।

चीन लगायत विदेशमा मार्केटको खोजी एकातिर भइरहेको छ भने अर्कातिर नेपाली फिल्मको क्वालिटीको पनि कुरा उठिरहेको छ । नेपाली दर्शक नै घरेलु फिल्मबाट सन्तुष्ट हुन नसकिरहेका बेला विदेशी बजारमा नेपाली फिल्मको बजार खोल्नु ‘स्वैरकल्पना’ भएको बताउँछन् निर्माताहरु ।

फिल्म ‘प्रसाद’ का निर्देशक दिनेश राउत पहिले हामीले अन्तर्राष्ट्रिय स्तरका फिल्म बनाउन सक्यौँ कि सकेनौँ भनेर समीक्षा गर्नुपर्ने धारणा राख्छन् । उनका अनुसार कुनै पनि फिल्म अन्य देशमा लग्दैमा नेपाली फिल्मको बजार बढ्ने होइन ।

‘हामीले विदेशी फिल्मको लेभलमा हाम्रा फिल्म बनाउन सक्यौँ कि सकेनौँ भन्ने कुरा मुख्य हो, हामी त्यो लेभलमा पुग्न सकेका छैनौँ, हाम्रै दर्शकको मन त जित्न सकेका छैनौँ भने विदेशका दर्शकलाई तान्न सकिन्छ भन्ने अहिले कल्पना मात्र हो’, निर्देशक राउत जिकिर गर्छन्, ‘हाम्रोमा जुन फिल्म बनिरहेका छन्, ती फिल्मका आधारमा अझै विदेशी बजार खोज्न सम्भव छैन, पहिले  हाम्रै दर्शकलाई पनि चित्त बुझ्ने फिल्म बनाउन सक्नुपर्छ, जुन हामीले सकिरहेका छैनौँ ।’

फिल्म झुर बनाउने, ठूला गफ गर्ने फिल्मकर्मी

समीक्षकहरुले नेपाली फिल्मकर्मी आफूले गरेको कामलाई राम्रो भन्ने भ्रममा बाँचेको बताउँछन् । फिल्मकर्मीहरु आफूले बनाएको फिल्म राम्रो भएकाले कसैले नेगेटिभ कमेन्ट ग–यो भने त्यसको विरोध गर्ने गर्न समेत पछि नपर्ने गर्छन् । केही फिल्मकर्मी आफूले गरेका गल्ती सच्याउने र फिल्मलाई अझै परिष्कृत बनाउनेतर्फ उन्मुख छन् भने केही फिल्मकर्मी उही शील्पलाई तारन्तार रिपिट गरिरहेका छन्, जसका कारण दर्शक मोनोटोनस भएका छन् ।

एक निर्माता भन्छन्, ‘मै हुँ भन्ने निर्देशकले पनि ठूला गफ दिन्छन्, फिल्म बनिसक्दा सम्बन्ध नै बिग्रिने डर हुन्छ, फिल्म राम्रो बन्दैन, यहाँ फिल्मकर्मी र समीक्षक दुवै हुँ भन्नेहरुले बनाएका फिल्म पनि दर्शकलाई पचेनन् ।’
 

Leave a comment