इथियोपियाः आर्थिक विकासको चेपुवामा इतिहास मेटियो

आदिस अबाबा । इथियोपियाको राजधानी आदिस अबाबा निवासी बर्हानु मेगिट्सुको सयौं वर्ष पुरानो, त्रिकोणीय पर्खालले घेरिएको पारिवारिक भवनले इथियोपियाकै राजा महाराजा र सरकारहरुको उदय र अस्त देखेको छ । 

यसले आर्थिक गतिहीनता र तीव्र जनसंख्या वृद्धि देखे–भोगेको छ । कुनै समय धनाढ्य यहाँका मानिसहरुको जीवन एकाएक झुपडीको भीडमा परिणत भएको उनलाई हिजोजस्तै लाग्छ । 

तर अहिले यो एक्लो भवन झारपातले घेरिएको छ । घरको जस्तापाताले छाएको छानामा खिया लागेको छ र रातो प्लास्टर फिका भइसकेको छ । यही भवनको सामुन्ने टावर क्रेनले काम गरिरहेका र चम्किला अग्ला भवनहरु ठडिन थालेका छन् । 

सरकारले विकासका नाममा सडक, ढल र भवन बनाउन यस्ता पुराना भवनहरु रातारात ढालेको छ । 

बर्हानुकै जस्ता कुनै समयका आलीशान महलहरु आदिस अबाबमा अद्यापी जताततै भेट्न सकिन्छ । यी भवनहरु बादशाही दरबारी र विदेशी धनाढ्य व्यापारीका लागि बनाइएका थिए । तर, आजभोलि अधिकांश यी भवनहरुलाई सरकारले बिल्कुलै महत्व दिन छाडेको छ । सरकारको ध्यान केबल अग्ला भवन निर्माणमा छ । 

“आजभोलि तपाइँले देख्ने अधिकांश भवन युरोपेली कलाकौशल अनुसार बन्न थालेका छन्,” सामान आपूर्ति गर्ने एक कम्पनीमा कार्यरत व्यवस्थापक बर्हानुले बताए । उनको परिवार सात पुस्तादेखि त्यही पुरानो घरमा बसिरहेको छ । 

राजधानीका पुराना, गरिब घरपरिवारका घरहरु ठूला, अग्ला भवन ठड्याउन भत्काइएका छन् । अफ्रिकाकै सबैभन्दा गरिबीको चपेटामा परेको इथियोपिया सरकारले भवन निर्माणलाई उच्च प्राथमिकता दिएको छ, र यसैलाई तिब्र आर्थिक विकासको मानक बनाएको छ । 

तर संरक्षणकर्मीहरुको चिन्ता के छ भने राजधानीको कलाकौशलले भरिपूर्ण सम्पदालाई मासेर अन्धाधुन्ध विकासको नाटक मञ्चन गरिएको छ । “ऐतिहासिक भवनहरुको संरक्षण गर्न र बचाउन ज्यादै कम प्रयत्न गरिएको छ, र यस बारेमा असाध्यै सीमित मात्रामा मात्र छलफल भइरहेको छ,” सुपरिचित वास्तुविद् फासिल जिओरघिसले बताए । “मानिसलाई ऐतिहासिक भवनहरु संरक्षण गर्नुपर्छ भन्ने शिक्षा समेत दिइएको छैन ।” 

आदिस अबाबा नगर सम्राट मेनेलिक द्वितीयले १९औं शताब्दीमा स्थापना गरेका थिए । उनले इथियोपियाली राज्यलाई विस्तार गरी ठूलो क्षेत्रमा रुपान्तरित गरेका थिए । यो सहर विस्तारै मेनेलिक सरकारका सदस्यहरुका सुन्दर घरहरुले भरिभराउ भएको थियो । तीमध्ये एक बर्हानुका पुर्खा येम्तु बेजनास पनि थिए । 

मेनेलिकको सन् १९१३ मा निधन भयो । उनले आर्मेनियाली इन्जिनियरलाई आदिस अबाबाको निर्माणमा प्रयोग गरेका थिए । यहाँ व्यापारका लागि भारतीय र यमेनीहरु आइरहन्थे । 

आदिस अबाबाको महानगरीय सभ्यता सन् १९७४ मा एकाएक समाप्त भयो । डर्ग सैनिक शासकको उदय भएसँगै उनले इथियोपियाली राज्य भताभुङ्ग बनाए । 

डर्गको शासन शुरु भएसँगै कसरी आदिस अबाबा ध्वस्त भयो भन्ने तस्वीर फासिलको आँखै अघि अद्यापी छ । विदेशी व्यापारीहरु यहाँबाट रातारात भागेका थिए । बामपन्थी विचारधाराका डर्गले व्यापारीका घरजग्गा गरिब भूमिहीनलाई बाँडिदिए । उनीहरुले माटोले बनेका पर्खाल र काठका भुँइ भएका घरको मर्मत सम्भार गर्न सकेनन्, जानेनन् । 

इथियोपियाली पिपुल्स रिभोलुसनरी डेमोक्रेटिक फ्रन्ट (इपीआरडीएफ) ले डर्गलाई सन् १९९१ मा सत्ताच्यूत ग¥यो । त्यसयता यही दलले इथियोपियामा शासन चलाइरहेको छ । खुला आर्थिक नीति अपनाएका कारण तीव्र आर्थिक विकास भइरहेको छ । 

आर्थिक विकासको सम्भावना बढेसँगै चिनीया र अन्यत्रका ठेकेदारहरु इथियोपियामा भेला भएका छन् । उनीहरुले यहाँ भिमकाय भवनहरु निर्माण गरिहेका छन् । 

वास्तुकलामा रुची राख्ने माहेडेर गेब्रेमेधिन भन्नुहुन्छ, पुराना भवनमा ध्यान नदिनुको मुख्य कारण नै लागत र पुनर्निर्माणको जटिलता हो । साथै, पुरानो सत्तामाथिको वितृष्णा अर्को कारक हो । 

“वैचारिक परिवर्तनका कारण यी भवनहरुलाई जोगाउनेतर्फ कसैमा खासै चासो छैन,” माहेडेरले बताए । 

सरकारी र निजी दाताहरुले औंलामा गन्न सकिने केही भवनको सफलतापूर्वक पुनर्निर्माण गरेका छन् । त्यसमा, मेलेलिकको राजदरबार र पूर्व रक्षामन्त्रीको भवन समेत पुनर्निर्माण गरिएका छन् । यी दुबै भवनलाई सङ्ग्रहालयमा रुपान्तरण गरिएको छ । 

तर, नगर अधिकारीहरुले सम्पदा सूचीमा सूचीकृत ४४० वटामध्येका अधिकांश भवनको अवस्था नाजूक छ । “विकासशील मुलुक भएका कारण यी सबै संरचनालाई पुनर्जीवन दिने क्षमता र स्रोतसाधन हामीसँग छैन,” आदिस अबाबाको पर्यटन कार्यालयका प्रवक्ता ओर्कु मेन्गेसाले बताए । 

एक दशकअघि विदेशी राजदूतावासहरु र इथियोपियाली संरक्षणकर्मीहरुले मोहम्मोदाली भवन पुनर्निर्माण गर्ने प्रयत्न गरेका थिए । यो भवन कुनैबेला धनाढ्य भारतीय व्यापारीको स्वामित्वमा थियो । यो भवन भारतीय र अरेबियाली वास्तुकलाको सम्मिश्रण गरी बनाइएको थियो । 

तर, फासिलको भनाइमा इथियोपियाको कर्मचारीतन्त्र र तुच्छ निर्माण व्यवसायीका कारण यो प्रयत्न असफल भयो । 

बर्हानुको आशा छ, आफ्नो पारिवारिक इतिहास राष्ट्रिय इतिहास नै बनोस् । उनले आफ्नो घरलाई सङ्ग्रहालयमा रुपान्तरण गर्न चाहन्छन् । उनको घर पारिवारिक तस्वीर र विरासतका अन्य सामानले भरिभराउ छ । 

“यो हाम्रो मात्र सम्पत्ति होइन । यो सबै इथियोपियाली र आदिस अबाबाका जनताको हो,” उनले भने । उनले नगर पदाधिकारी र सरकारले यसमा सहमति जनाउने विश्वास गरे । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?