सोमालियाको राष्ट्रसंघीय कार्यालयमा मोर्टार आक्रमण, तीन घाइते

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुस्थित राष्ट्रसंघीय कार्यालयमा बन्दुकधारीले गरेको मोर्टार आक्रमणबाट तीन जना घाइते भएको राष्ट्रसंघले जनाएको छ । 

राष्ट्रसंघ कार्यालयका अनुसार सातवटा मोर्टार कार्यालयको परिसरमा खसेका थिए । आक्रमणबाट दुईजना राष्ट्रसंघका कर्मचारी र एकजना ठेकेदार घाइते भएका छन् । वक्तव्यमा घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरु खतरामुक्त रहेको जनाइएको छ । 

इस्लामिक समूह अल–सबाबले आक्रमणको जिम्मेवारी लिएको छ । 

अल–कायदासँग आबद्ध अल–सबाबले अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सोमाली सरकार अपदस्त गर्न लामो समयदेखि सशस्त्र संघर्ष गरिरहेका छन् । 

यस्ता आक्रमणहरु प्रायः दिनहुँजसो हुने गरेका छन् । तर, सन् २०११ देखि राजधानी मोगादिसुबाट अल–सबाब पलायन भएका कारण आक्रमणका घटनामा कमी आएको छ । 

उनीहरुले अझै पनि देशको ठूलो ग्रामीण इलाकालाई आफ्नो नियन्त्रणमा राखेका छन् । उनीहरुले मोगादिसु समेतका विभिन्न स्थानमा सरकारी, सैनिक र नागरिकमाथि दिनदहाडै आक्रमण गर्ने गरेका छन् । 

राष्ट्रसंघीय कार्यालयका प्रमुख निकोलस हेसमले हिंसाको प्रयोग मार्फत कुनै पनि राजनीतिक एजेन्डा हासिल हुन नसक्ने बताएका छन् ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?