आठौँ राष्ट्रिय खेलकुद कार्यकारी समिति बैठक सम्पन्न

काठमाडौं । प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकुदका लागि गठित कार्यकारी समितीको तेस्रो बैठक सम्पन्न भएको छ । 

सो कार्यकारी समितीको तेस्रो बैठक  राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’का सदस्य–सचिव एवं कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा सम्पन्न भएको हो । 

बैठकले जिल्लालाई जिल्ला छनोट तथा खेल सामाग्रीका लागि निकासा गरेको रकम र जिल्ला कोटा अनुमोदन गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।

प्रदेशबाट राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी/प्रशिक्षक/व्यवस्थापक/संघ प्रतिनिधिको कोटा अनुमोदन गर्ने निर्णय गर्नुका साथै प्रदेश छनोट मिति र राष्ट्रिय खेलकुदको मिति बोर्डमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय खेलकुदका लागि गठित विभिन्न उपसमितिहरुलाई एक हप्ता भित्र पूर्णता दिने तथा ओलम्पिक टर्चलाई विराटनगरबाट सबै प्रदेशमा पु-याउने गरी लुम्बिनी हुँदै नेपालगन्जसम्म लाने निर्णय बैठकले गरेको छ ।

प्रदेश छनोट र राष्ट्रिय खेलकुदका साथै दक्षिण एशियाली खेलकुद ‘साग’सम्म खेलाडी दुर्घटना विमा गर्ने निर्णय भएको छ ।

मुख्य मिडिया सेन्टर नेपालगन्जमा स्थापना गर्ने, पदक र पोशाक छनोट उप समितिबाट छनोट भएका नमुनालाई छलफल गरी अनुमोदन गर्ने तथा एनआरएन खेलाडी सहभागिताका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रलयसंग समन्वय गरेर टुंगो लगाउनेलगायतका निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?