काठमाडौं । नेपाल क्रिकेट संघ ‘क्यान’ निलम्बनमा परिरहेका बेला नेपाली क्रिकेट खेलाडीहरुले भने मासिन तलब पाउने भएको छ ।
विगत दुई वर्षदेखि रोकिएको मासिक तलब आइसीसीले राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा नेपाली खेलाडीहरुलाई प्रदान गर्न लागेको हो । आइसीसीले खेलकुद परिषद्लाई इमेलमार्फत खेलाडीहरुको तलब दिन स्विकार गरेको बताइएको छ । क्रिकेट खेलाडी र खेलकुद परिषद्ले गरेको आग्रहलाई स्विकार गर्दै ‘आइसीसी’ले तलब दिन लागेको हो ।
आईसीसीले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लसँग परामर्स गर्दै खेलाडीको नयाँ बर्गिकरण गरेको थियो । बर्गिकरणअनुसार ए, बी र सी तीनै श्रेणीमा सात-सात जना खेलाडीलाई समावेश गरिएको थियो ।
‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक ३५ हजार, ‘बी’ श्रेणीमा रहेका खेलाडीले २५ हजार तथा ‘सी’ श्रेणीका खेलाडीले १५ हजार रुपैयाँ पाउने भएका छन् ।
‘ए’ श्रेणीको खेलाडीमा कप्तान पारससहित, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, र दीपेन्द्रसिंह ऐरी रहेका छन्। त्यस्तै ‘बी’ श्रेणीमा रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह, र शक्ति गौचन रहेका छन् ।
‘सी’ श्रेणीको खेलाडीमा सुशन भारी, किशोर महतो, सुवास खकुरेल, सागर पुन, दिलिपनाथ, सुनील धमला र विनोद भण्डारी रहेका छन्। यी तीनै श्रेणीका खेलाडीले सन् २०१८ सम्मको तलब प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया