काठमाडौं । भारतीय क्रिकेट जगतका लागि आइतबार एउटा दुखद खबर बाहिरिएको छ । पूर्व भारतीय क्रिकेटर सलिम दुर्रानीको ८८ वर्षको उमेरमा गुजरातको जामनगरमा निधन भएको छ । उनी क्यान्सरसँग लडिरहेका थिए ।
उनलाई अर्जुन पुरस्कार प्रदान गरिएको थियो । उनले सन् १९६० मा यो सम्मान पाएका थिए । सलिम दुर्रानीले भारतका लागि २९ टेस्ट खेलेका थिए जसमा उनले एक शतक र सात अर्धशतकको सहयोगमा १२०२ रन बनाएका थिए। साथै ७५ विकेट लिएका थिए ।
को हुन् सलिम दुर्रानी ?
सलिम दुर्रानीको जन्म ११ डिसेम्बर १९३४ मा अफगानिस्तानको काबुलमा भएको थियो । तर, उनी आठ वर्षको हुँदा उनको परिवार पाकिस्तानको कराँचीमा सरेका थिए । भारत-पाकिस्तान विभाजनका बेला दुर्रानीको परिवार भारत बसाइ सरेको थियो। विस्तारै क्रिकेटमा सलिमको रुचि बढ्दै गयो । सलिम १९६०-७० को दशकमा आफ्नो अलराउन्ड प्रदर्शनका लागि चिनिएका थिए। उनी भारतका दिग्गज अलराउन्डरमध्येका एक हुन्। भनिन्छ, जब फ्यानले सलिमलाई म्याचमा छक्काको माग गर्थे, उनी छक्का प्रहार गर्थे । यसरी सलिम फ्यानका लागि स्पेशल बनेका हुन् ।
इंग्ल्याण्डमाथिको ऐतिहासिक जितमा महत्वपूर्ण भूमिका
सलिम दुर्रानीले सन् १९६१–६२ मा इङ्ल्यान्डविरुद्धको ऐतिहासिक २–० शृंखला जित्नमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले यो पाँच खेलको टेस्ट सिरिजमा धेरै विकेट लिएका थिए । भारतले कोलकाता र मद्रासमा दुई टेस्ट जितेको थियो। सलिमले कोलकाता टेस्टमा आठ विकेट र मद्रास टेस्टमा १० विकेट लिएका थिए। यसबाहेक वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक पोर्ट अफ स्पेन म्याचमा भारतको जितमा पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए । यो खेलमा सलिमले तत्कालीन महान ब्याट्सम्यान क्लाइभ लोयड र सर गारफिल्ड सोबर्सको विकेट लिएका थिए ।
फिल्ममा पनि काम
क्रिकेटबाट सन्यास लिएपछि सलिमले चलचित्र क्षेत्रमा पनि काम गरे । उनले बलिउड फिल्म ‘चरित्र’मा पनि काम गरेका छन् ।
प्रधानमन्त्री मोदीद्वारा शोक व्यक्त
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिग्गज भारतीय क्रिकेटर सलिम दुरानीको निधनमा शोक व्यक्त गर्दै विश्व क्रिकेटमा भारतको उदयमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्। ट्वीटमा प्रधानमन्त्री मोदीले भने- ‘सलीम दुर्रानी जी क्रिकेटका लिजेन्ड थिए, आफैंमा एउटा संस्था थिए । क्रिकेटको विश्वमा भारतको उदयमा उनको महत्वपूर्ण योगदान थियो। मैदानभित्र र बाहिर उनी आफ्नो शैलीका कारण चर्चित थिए । उहाँको निधनले म दुखी छु । उहाँको परिवार र साथीहरूलाई समवेदना। उहाँको आत्माले शान्ति पाओस् ।’
Salim Durani Ji had a very old and strong association with Gujarat. He played for Saurashtra and Gujarat for a few years. He also made Gujarat his home. I have had the opportunity to interact with him and was deeply impressed by his multifaceted persona. He will surely be missed.
— Narendra Modi (@narendramodi) April 2, 2023
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया