प्रदेश २ सरकारले लोकसेवा विधेयक अगाडि बढायो

जनकपुर । प्रदेश २ सरकारले लोकसेवा विधेयक अगाडि बढाएको छ । 

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा विधेयक प्रदेशसभामा दर्ता गराउन स्वीकृत दिएको हो । 

संघीय सरकारले आवश्यक कर्मचारी नदिँदा सरकारले गति लिन नसकेको भन्दै लोकसेवा विधेयक ल्याएर स्थायी कर्मचारी नियुक्तिको तयारी थालेको हो । 

अब प्रदेश सरकारले आफ्नै कर्मचारी र प्रहरी–प्रशासन हुने मुख्यमन्त्री राउतले बताए ।  

संघीय सरकारको आश्वासनपछि प्रदेश सरकारले प्रशासन, निजामती कर्मचारी र लोकसेवा आयोग गठनसँग सम्बन्धित विधेयक थाती राखेको थियो । तर, संघीय सरकारले ल्याउन लागेको आन्तरिक सुरक्षा विधेयकले बिच्किएको प्रदेश सरकारले स्थायी कर्मचारी नियुक्त गर्न लोकसेवा विधेयक अगाडि बढाएको हो । 

त्यस्तै प्रदेश २ सरकारले करारमा कर्मचारी नियुक्त गर्ने विधेयक पास गरिसकेको छ । 

मुख्यमन्त्री राउतले करारमा कर्मचारी नियुक्त गर्दा आवश्यक पर्ने बजेट र सेवासुविधाबारे आन्तरिक गृहकार्य भइरहेको बताए ।

प्रदेश २ मा ५ हजार ६७ कर्मचारी आवश्यक छ । अहिले ४ सय ५० जना मात्रै कर्मचारी रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?