बुधबार १९ मङ्सिर, २०७५ Monday, 27 May, 2019

जनयुद्धको प्रतिबिम्बः जे छ, ‘नाम’मा छ

रामजीप्रसाद आचार्य
काठमाडौं । त्यो एकसिङ्गे जन्तुलाई के थाहा? जसको नाम हामीले गैँडा राखिदिएका छौँ । मान्छेहरुले जंगलको ‘राजा’ भन्छन् भन्ने कुरा के त्यो बाघलाई थाहा होला, जसलाई हिन्दूहरुले देउता मान्दछन् । कुनै देशमा उसको नाममा बकाइदा कानून समेत बनेको छ भन्ने कुरा के त्यो गाई जान्दछ? कुनै देशका मान्छेहरुले प्रत्येक वर्ष घरको दैलोमा उसको तस्वीर टाँसेर पूजा गर्छन् भन्ने कुरा त्यो घर्सने जन्तुलाई थाहा होला ?

मान्छेको दुनियाँमा मात्र नामको काम छ । हरेक सजीब र निर्जीव वस्तुको नाम मान्छेले जुराएको छ । किनभने मान्छेसँग भाषा छ । भाषा नै उसको शक्ति हो । त्यही शक्तिले निर्माण गरेको हो पहिचान, अर्थ र विनिमय । भाषा छैन भने धर्म र अर्थ पनि छैन । जहाँ धर्म र अर्थ छैन, त्यहाँ काम र मोक्ष पनि छैन । पूर्वीय धर्मशास्त्र यसै भन्छ ।


ADVERTISEMENT

संसारमा हजारौँ भाषा छन् । त्यस अर्थमा एउटै वस्तुको पनि कम्तिमा नाम छ । सम्बोधन छ । मान्छेको दुनियाँले भन्छ – नाम राख्नुपर्छ । नाम कमाउनुपर्छ । त्यसलाई अर्को शब्दमा भन्नुपर्दा कीर्ति राख्ने भनिन्छ । प्रतिष्ठा आर्जन गर्ने पनि भनिन्छ । 

यी सबै कुराहरु नामसँगै जोडिएका हुन्छन् । त्यसैले भनिएको हो, मान्छे मरेर गए पनि उसको नाम मर्दैन । मानिसहरुको स्मृतिमा वा इतिहासको पानामा त्यो बाँचिरहेको हुन्छ । 

नाममाथि पनि तीनथरी दृष्टि छन् । पहिलो नाम, दोस्रो बदनाम र तेस्रो गुमनाम । मान्छेहरु नै भन्छन्, नाम होस् या बदनाम तर गुमनाम नहोस् । 

यो पनि मान्छेले नै बनाएको हो । अतः नाम कुनै पनि पहिचानको प्रारम्भिक तत्त्व हो ।

यही ‘नाम’ शीर्षकमा साहित्यकार नवराज बरालले उपन्यास तयार पारेका छन् । उपन्यासको समय छ – जनयुद्धकालदेखि गणतान्त्रिक कालसम्म । राजनीति, समाज र प्रेम उपन्यासका मूल विषवस्तु हुन् । राजनीतिमा पनि माओवादी पार्टीको उतारचढावको साक्षी भएको एउटा कार्यकर्ताको भोगाइलाई यसमा समेटिएको छ । र त्यो कार्यकर्ता नै यो उपन्यासको मूलपात्र हो । जसको नाम छ – कबल । एक हिसाबले यो उपन्यास कबलको ‘आत्मकथा’ हो ।

कबल प्रेममा छ । विश्वासमा छ । आपतमा छ । अवसादमा छ । परिवर्तनको पक्षमा छ । युद्धको मैदानमा छ । सबन्धमा छ । इमानमा छ । संघर्षमा छ । र संघर्षलाई नै जीवन ठान्ने आदर्शमा छ । जीवनका अनेक रंग र आयाममा अब्बलताका साथ देखा परेको छ यो उपन्यास र यसको नायक, कबल । जसलाई पाठकहरुले कयौँ कालसम्म पनि बिर्सन सक्दैनन् । पढ्दै जाँदा कबलले पाठकको मनको शीलामा आफ्नो नाम गहिरोसँग कुँदिएको हुनेछ । सँगसँगै उसका बा, आमा, कजना, कल्पना, नेत्र, दामोदर लगायतका पात्रहरु उत्तिकै जीवन्त भूमिकामा छन् । प्रभाव र पुष्पराम त वर्तमान नेपाली राजनीतिका चर्चित पात्रहरु नै भए । उनीहरु सबैलाई पाठकले चीरकालसम्म सम्झनेछन् । उपन्यासको सशक्त पक्ष हो यो । 

माओवादी जनयुद्धलाई मूल विषय बनाएर वा त्यसको सेरोफेरोमा थुप्रै आख्यान र गैरआख्यानका पुस्तक लेखिइसकेका छन् । ती पुस्तकहरु मध्ये कुनै जनयुद्धको पक्षपोषणमा छन् । कुनै त्यसको विपक्षी धारमा उभिएर लेखिएका छन् । कुनैले त्यसलाई सन्तुलित भएर हेर्ने प्रयास पनि गरेका छन् ।

जनयुद्ध नेपाली इतिहासको महत्पूर्ण र उत्तिकै विलक्षण राजनीतिक मोड हो । मोड किन हो भने यसले परम्परागत इतिहासको सिलसिलालाई नयाँ दिशामा मोडेको थियो । आज नेपालको राजनीतिक व्यवस्था जुन स्थानमा आइपुगेको छ । जनयुद्धविना त्यो सम्भव पक्कै थिएन । अब बाघ कसले मारेको हो भन्ने कुरा प्रष्ट हुँदाहुँदै त्यसलाई नजरअन्दाज गरेर जुँगा कसले उखेल्यो भन्ने कुरालाई मान्यता दिने काम अहिले जो भइरहेको छ भन्ने लाग्छ । यसो गर्नु नामको होइन बदनामको यात्रा हो ।

यसैले पनि नेपालमा भएको दशवर्षे जनयुद्धको ठीक ढंगले राजनीतिक समीक्षा भएको छैन । युद्धलाई शान्तिमा बदल्ने, लोकतन्त्रलाई पुनस्र्थापित गर्ने र त्यसको लागि एक थान संविधान बनाउने चटारोमा यो विषय त्यसै त्यसै कतै छुटे जस्तो लाग्छ । तिनै छुटेका (वा छुटाइएका?) प्रश्नहरु आगोका फिलिङ्गा बनेर नाम उपन्यासमा चम्केका छन् । कुनै दिन जनयुद्धको इमानपूर्वक समीक्षा भएछ भने ती प्रश्नहरु काम लाग्नेछन् । जनयुद्धका सौन्दर्यशास्त्रीहरुका लागि यो उपन्यास महत्त्वपूर्ण उपन्यास हो ।

अरस्तु भन्छन् – क्रान्ति हुन्छ । क्रान्तिका कारणहरु छन् । क्रान्तिलाई रोकथाम पनि गर्न सकिन्छ ।

त्यतिका मानिसहरुको ज्यान गुम्यो । हामीले व्यवस्था परिवर्तन गर्दा पनि हाम्रो अवस्था किन परिवर्तन भएन ? यो प्रश्न त अहिले सबैको मनमा छ । र सधैँभरी जनयुद्ध स्वयं एउटा अनुत्तरित प्रश्न जस्तो भएर रहि रहने पो हो कि ? 

जब कि, तत्कालीन माओवादी सुप्रिमो जसले जनयुद्धलाई हाँकेका थिए र तत्कालीन एमालेका प्रभावशाली अगुवा जो जनयुद्धप्रति कहिल्यै सकारात्मक भएनन् र उनले अझै पनि त्यसलाई एउटा सैद्धान्तिक भूल ठान्छन्, तत्कालीन एमाले र माओवादीका बीचमा भएको सहमतिले दुई पार्टी एक भएका छन् । अब यो एक पार्टीले जनयुद्धलाई हेर्ने दृष्टिकोण के हो ? प्रश्न छ । उत्तर कहिले पाइन्छ थाहा छैन ।

अब कबलहरुलाई यो प्रश्नको उत्तर चाहिएको हो कि हैन ? कि कबलहरु मन्त्री बन्नु नै जनयुद्धको अन्तिम सफलता हो? मन्त्री भएको कबलले प्रस्तुत गरेको ३३ सूत्रीय कार्यक्रमले जनयुद्धको सबै हिसाब चुक्ता गर्ने हो वा होइन ? मन्त्री हुन नसकेका कयौँ कबलहरुले गर्ने प्रश्न पनि जीवितै छ । यो प्रश्नको जननी स्वयम् यही उपन्यास हो । 

र सबैभन्दा मूलप्रश्न त यो छ कि अबको बीस वर्षपछि जनयुद्धलाई कसरी व्याख्या गरिएला ?

जेजस्तो व्याख्या गरिएपनि जनयुद्धको समीक्षा गर्ने क्रममा काम लाग्ने दस्तावेजको रुपमा यो उपन्यासलाई लिन सकिन्छ । यो उपन्यासले त्यस्तो समीक्षाको लागि एउटा सन्दर्भ सामग्री उपलब्ध गराएको छ । यो एउटा दृष्टिकोण हो । आँखीझ्याल हो । जसबाट नचिहाइकन जनयुद्धको समीक्षा पुरा हुन सक्दैन ।

मानवजातिको इतिहास भनेको नामै नामको इतिहास हो । मानिसका कर्मले उसको नामको अर्थ निस्कन्छ । जस्तो बुद्धको एउटा अनि चाल्र्स शोभराजको अर्कै ।

समाजको परिवर्तनको मामिलामा कसले कुन कित्तामा उभिएर आफ्नो हितको लागि लड्छ भन्ने कुराले वर्गको सिर्जना गर्छ । पक्षधरताको सिर्जना गर्दछ । माक्र्सले यही सन्दर्भलाई वर्गसंघर्षको इतिहास भने । इतिहासमा हामी पढ्ने भनेको नामहरु तिनै हुन्, जसले संघर्षपूर्वक अस्तित्वको बहिखातामा आफ्नो नाम दर्ज गराएका थिए । डार्विनको जिकिर पनि त्यही आउँछ – स्ट्रगल फर एक्जिस्टेन्स ।

जनयुद्धका भयानक से भयानक जार्गनको कुहिरोभित्र बिलाएका अनि शान्तिपूर्ण अवतरणको नाममा सेतो पर्दाले ढाकिएका ती सबै ‘नाम’हरुको पक्षमा यो उपन्यासले पैरवी गरेको छ । र भनेको छ, ती नामहरु कुनै व्यक्तिको मानसपटलबाट हराए पनि साँचो इतिहासको पानामा ती गौरवका साथ अंकित छन् । ती नामहरुलाई सम्बोधन नगरिकन बजाइएको सम्बृद्धि केवल बेसुरा राग मात्र हो । ती नामहरुलाई अपमानित गरेर आउने कथित नयाँ युग एउटा धोका मात्र हो ।

ती नामहरु त्यति सहजै मेटिने र हराउने पनि छैनन् । जसले इतिहासको पानामा आफ्नो कर्म र शौर्यको अमिट धर्सा कोरेर गए । सुतेको वर्तमानलाई झक्झक्याए र भविष्यको निम्ति उज्याला आशा पनि बने ।

आफ्नो पौरखले आर्जेका नामहरु अजर र अमर हुन्छन् भन्ने कुरामा मलाई कुनै शंका छैन । त्यसैले नामकै सन्दर्भलाई जोडेर अति प्रिय कवि तीर्थ श्रेष्ठलाई आश्वस्त तुल्याउन चाहन्छु कि,
चाहे हिउँले पुरोस्
चाहे घामले पगालोस् 
हामी रहौँ या नरहौँ
हाम्रो नाम अवश्य रहनेछ
प्रलय आएर भोलि यो भूगोल नै हराए पनि 
अन्तरिक्षमा चक्कर लगाउँदै हुनेछ हाम्रो नाम

 

Leave a comment