काठमाडौं । काठमाडौं विश्वविद्यालयले विद्यार्थी कम भएका तथा विद्यार्थी नै नभएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ ।
विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम ‘फेज आउट’ गरी आगामी दिनमा नयाँ र प्रभावकारी कार्यक्रम ल्याउने योजना बनाइएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका उपकुलपति डा भोला थापाले विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी भए पनि कुन–कुन कार्यक्रम बन्द गर्ने भन्ने निर्णय हुन बाँकी रहेको जानकारी दिए । विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी अभावका कारण सञ्चालनमा समस्या भएको बताउँदै आगामी दिनमा प्रभावकारी र विद्यार्थीको आकर्षण बमोजिमका कार्यक्रम ल्याउनेबारे छलफल भइरहेको उनको भनाइ थियो ।
विश्वविद्यालयले हाल दुई सयभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसमध्येका करिब ३० प्रतिशत कार्यक्रम विद्यार्थी अभावका कारण प्रभावकारीरुपमा सञ्चालन हुन सकेका छैनन् ।
उपकुलपति थापाका अनुसार ब्याचलर अफ सोसल वर्क बिएसडब्लुको २४ कोटामध्ये २२ सिट रिक्त छन् भने ब्याचलर अफ म्यानेजमेन्ट (बिएमएस) मा ३० सिटमा २२ जना भर्ना भएका छन् । मास्टर्स अफ म्यानेजमेन्ट एमएमएस०मा २० सिटमध्ये १२ सिट रिक्त छन् भने ब्याचलर अफ बुद्धिष्ट स्टडिजमा ३० सिट भए पनि चारजना मात्र विद्यार्थी भर्ना भएका छन् ।
उनले पिजिडी इन म्यानेजमेन्टका ३० सिटमध्ये १६ सिट, एकवर्षे एमएड इन इटलीका १५ सिटमध्ये १२ सिट रिक्त रहेको जानकारी दिए । ब्याचलर अफ बिजनेस स्टडिज बिबिएमा एक सय २० सिटमध्ये ७८ जना भर्ना भएका छन् ।
गुणस्तरीय शैक्षिक कार्यक्रम समय अनुकूल सञ्चालन गरे पनि विद्यार्थी अभाव हुने गरेको उपकुलपति थापाले बताए । विश्वविद्यालयले समयानुकूल शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि सम्बन्धित निकायको न्यून चासो, प्रोत्साहनको कमी, प्रचारप्रसार नहुनु जस्ता कारणले विद्यार्थीको कमी हुने गरेको विश्वविद्यालयका सहनिर्देशक ब्रजेश मिश्रले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया