चलचित्रमा अभिनय नगरेका कलाकारको सदस्यता खारेज हुने

लोकपथ
70
Shares

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले चलचित्रमा अभिनय नगरेका कलाकारहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको छ।

बुधबार काठमाडौंमा आयोजित नयाँ वर्षको आदानप्रदान कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्र नखेलेका कलाकारहरूको सदस्यता खारेज गर्ने बताए। उनले सदस्यता खारेजीको लागि आफू निर्वाचनको प्रक्रियालाई पर्खेर नबस्ने पनि स्पष्ट पारे। उनले सदस्य बनेकाहरूले नागरिकता मात्रै पेस गरेको तर अन्य कुनै चलचित्रमा अभिनय गरेको अभिलेख नपाइएकाले अब सबै सदस्यहरूले अभिलेखका लागि आफूले अभिनय गरेका चलचित्रहरूको बारेमा जानकारी दिन आग्रह गरे।

त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सबै कलाकार एक भएर नेपाली चलचित्रको विकास र सहकार्यमा हातेमालो गर्नुपर्ने बताए।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले स्टारडमको नाममा कलाकारहरूले ७० लाखसम्म पारिश्रमिक बढाएको भन्दै कलाकार संघले न्यूनतम पारिश्रमिक तोक्नुपर्ने माग गरे। उनले आफूलाई स्टारडमबाट कमाइन्छ भन्ने विश्वास भए निर्मातासँग मिलेर आधा लगानी गर्न चुनौती दिए।

त्यस्तै नेपाली चलचित्र कलाकार संघका महासचिव सविन श्रेष्ठले कलाकार संघले नागरिकता अनुसार ७० वर्ष नाघेका चलचित्र कलाकारहरूलाई निःशुल्क आजीवन सदस्य बनाउने निर्णय संघले गरेको बताए।

महासचिव श्रेष्ठले कलाकारका हित र चलचित्र उद्योगको प्रवद्र्धनका लागि कलाकार संघ सदैव तयार रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?