श्रीलङ्काले चीनलाई एक लाख बाँदर बेच्ने

लोकपथ
119
Shares

आर्थिकरूपमा सङ्कटग्रस्त श्रीलङ्काले चीनमा एक लाखसम्म लोपोन्मुख बाँदर निर्यात गर्नेबारे विचार गरिरहेको कृषिमन्त्रीले बुधबार बताएका छन् ।

लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलङ्कामा प्रशस्तरूपमा पाइने बाँदर हो । तर यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले सङ्कटापन्न वन्य जन्तुको रूपमा वर्गीकृत गरेको छ ।

श्रीलङ्काले लगभग सबै जीवित जनावरहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ । देश स्वतन्त्र भएपछि सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको यो एशियाली मुलुकले प्रस्तावित बिक्रीबाट कमजोर अर्थतन्त्रमा योगदान हुने बताएको छ । विक्रीको प्रस्ताव सार्वजनिक गरिए पनि बाँदरलाई कति मूल्य लिएर दिनेभन्ने आर्थिक विवरण भने उपलब्ध गराइएको छैन ।

कृषिमन्त्री महिन्दा अमरवीराले एएफपीसँग भने, “उनीहरूले चीनमा रहेका एक हजारभन्दा बढी चिडियाखानाका लागि बाँदर चाहेका छन् । मैले अनुरोधको अध्ययन गर्न र हामी यो कसरी गर्न सक्छौं भनेर हेर्न एक समिति गठन गरेको छु ।”

श्रीलङ्काले यस वर्ष बाँदरका तीनवटै प्रजातिका साथै मयूर र जङ्गली बँदेललगायत थुप्रै प्रजातिलाई संरक्षित सूचीबाट हटाएको छ ।

श्रीलङ्काको पशु अधिकार समूह, ‘इन्भारोमेन्टल फाउन्डेसन’ले प्रस्तावित बिक्रीको आलोचना गर्दै ४० वर्षभन्दा बढी समयदेखि बाँदर (मकाक) को राष्ट्रव्यापी सर्वेक्षण नभएको र पहिले उचित जनसङ्ख्या अध्ययन गर्नुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?