काठमाडौं । लगानीकर्ताहरुको लागि यो साता शेयर बजार केहीहदसम्म सुखद देखिएको छ ।
गत साता लगातार घटेको सेयर बजार यो साता सुरुवाती र अन्तिम कारोबार दिन घटेपनि बाँकी दिनहरुमा लगातार उच्च अंकले बढ्यो ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको पछिल्लो आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी प्रतिवेदन सार्वजनिक गर्ने क्रममा व्याजदर घटाउन हल्ला चलेको र त्यसको भोलिपल्ट बैंकर एशोसिएसनले निक्षेपको व्याजदरलाई एकल अंकमा झारेको प्रभावले पनि यो साता सेयर बजार बढाउन बल पुग्यो ।
सोहीकारण पनि हुन सक्छ यो साता नेप्से १९ सय ३४ दशमलव ४७ कायम रहन सफल भयो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६७ दशमलव शुन्य ९८ अंकमा कायम रहन सफल भयो । यो साता दुुई सय ७० वटा कम्पनीहरुको एक लाख ९२ हजार १८ पटक सेयर किनबेच भएको छ । जसबाट दुई करोड ११ लाख ४१ हजार चार सय २३ कित्ता शेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम छ अर्ब ६४ करोड ६० लाख ४९ हजार ३८ रुपैंयाँ कायम भयो । यो कारोबार रकम गत साताको तुलनामा दुई अर्ब रुपैंयाँले बढी हो ।
गत साता यस्तो कारोबार रकम चार अर्ब ७८ करोड १६ लाख ४५ हजार ९४ रुपैयाँमा सिमित भएको थियो । उक्त साता दुुई सय ६९ वटा कम्पनीहरुको एक लाख २० हजार दुई सय २७ पटकको कारोबारमा एक करोड ५० लाख ६२ हजार एक सय ४८ कित्ता शेयर किनबेच उक्त परिमाणमा रकम कारोबार भएको थियो । दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा यो साता पहिलो र पाँचौं दिन नेप्से घटेको थियो भने दोस्रो, तेस्रो र चौंथो दिन नेप्से बढेको थियो ।
जसमध्ये पहिलो दिन २८ दशमलव ३१ अंकले घटेर १८ सय ३८ दशमलव ४८ झरेको नेप्से दोस्रो दिन पाँच दशमलव ४४ अंकले बढेर १८ सय ४४ दशमलव अंकमा चढ्न सफल भएको थियो ।
तेस्रो दिन पुन २७ दशमलव ३१ अंकले बढेर १८ सय ७१ दशमलव ३३ अंकमा चढेको नेप्से चौंथो दिन पनि ९२ दशमलव २२ अंकले बढेर १९ सय ६३ दशमलव ५५ अंकमा चढ्न सफल भएको थियो । पाँचौं दिन भने नेप्से २९ दशमलव शुन्य आठ अंकले घटेर १९ सय ३४ दशमलव ४७ अंकमा खुम्चिन पुगेको थियो ।
यसैगरी पहिलो दिन चार दशमलव २४ अंकले घटेर तीन सय ४८ दशमलव ७९ अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन शुन्य दशमलव ८८ बढेर तीन सय ४९ दशमलव ६६ अंकमा चढ्न सफल भएको थियो । तेस्रो दिन पनि पाँच दशमलव ७९ अंकले बढेर तीन सय ५५ दशमलव ४५ अंकमा पुगेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पनि १८ दशमलव २५ अंकले उकालो लागेर तीन सय ७३ दशमलव ७१ अंकमा चढेको थियो ।
पाँचौं दिन भने सेन्सिटिभ इन्डेक्स पाँच दशमलव ७२ अंकले घटेर तीन सय ६७ दशमलव ९८ अंकमा सिमित हुन पुगेको थियो ।
यो साता शिवम सिमेन्ट, एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल टेलिकम, एनआईसी एशिया बैंक, शिवम सिमेन्ट आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स लगायतका कम्पनीहरु अगाडि परेका छन् ।
(स्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया